+
+

उमेरै नपुगी विवाह, उमेर पुगेपछि सम्बन्ध विच्छेद

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १८:५८

७ साउन, दमौली । तनहुँको व्यास नगरपालिका वडा नं. १४ की दमौली (परिवर्तिन नाम) ले १५ वर्षको उमेरमा २०७० सालमा प्रेमविवाह गरिन् ।

सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि उनले शुक्रबार जिल्ला अदालत तनहुँमा सम्बन्ध विच्छेद मुद्दाको दर्ता गराइन् ।

पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएका कारण उनले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी हुन् । ‘सानैमा नजानेर विवाह गरियो, मैले धेरै दुःख पाएँ, अब म उसँग बस्न सक्ने अवस्था छैन’ उनले भनिन्, ‘श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’

व्यास नगरपालिका वडा नं. १ की दमौली एक (परिवर्तिन नाम)का दुई वटा छोराछोरी छन् । १५ वर्षको उमेरमै विवाह गरेकी उनले पनि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छिन् । उनले भनिन्, ‘२८ वर्षकै उमेरमा श्रीमान्सँग छुट्टएिर बस्ने दिन आउला भन्ने सोचेकै थिइन ।’

बालविवाह गरेकी उनलाई अहिले पछुतो छ नै, श्रीमानबाट छुट्टएिर बस्नको लागि अदालतको सहारा लिनुपरेको छ । ‘मेरो त भविष्य डामाडोल भयो नै तर यी दुई छोराछारीको समेत भविष्य देखेर आफैलाई सराप्छु,’ उनले भनिन् ।

भिमाद नगरपालिकाकी २४ वर्षकी महिलाले २०७९ असारमो सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरिन् । २० वर्षको उमेरमा वैवाहिक जीवन सुरूआत गरेकी उनले श्रीमानले दिनहुँ जसो शारीरिक यातना दिने, कुटपिट गरेपछि माइतीमा बस्दै आएकी छन् । ‘दिनरात झगडा हुन्छ, अब म तँलाई पाल्न सक्दिन, तँ आˆनो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ’ उनले भनिन्, ‘श्रीमान्को व्यवहार र बचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगें ।’

यी त प्रतिनिधि घटनामात्रै हुन् । तनहुँमा उमेर नपुग्दै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परेर सम्बन्ध विच्छेद गर्ने बढेका छन् । जिल्ला अदालत तनहुँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

श्रेस्तेदार मिनबहादुर कुँवरले अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेदको संख्या ७ सय ७ रहेको छ ।

गएको साउनमा ५७, भदौमा ६१,असोजमा ४८, कात्तिकमा ६८,मंसिरमा ७३,पुसमा ७४,माघमा ६४,फागुनमा ७९,चैतमा ६७, वैशाखमा ५०,जेठमा ५७ र असारमा ४९ मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ७८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा ४ सय ६३ फर्छौट भएका छन् भने २ सय १५ को फैसला हुन बाँकी छ ।

गएका आर्थिक वर्षमा जिल्ला अदालतमा कुल १ हजार ५१ मुद्दा दर्ता भए जसमा ७ सय ४७ मात्रै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । ‘जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन्’, कुँवरले भने ।

सम्बन्ध विच्छेदका मद्दामा अधिकांश २० देखि ३० वर्ष उमेरको हुने गरेका छन् । उनले भने, ‘विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौं । तर उनीहरु छुट्टिने भन्छन् ।’

उमेर नपुगेर नै भएको विवाहका कारण, पछि आफू बुझ्ने भएपछि समस्या देखिंदा सम्बन्ध विच्छेद गर्न आउने गरेको उनको भनाइ थियो । सम्बन्ध विच्छेदपछि आमा बुवाले त स्वतन्त्र जीवन बिताउलान् तर त्यसकोे प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ ।

आमा बुवाको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको अधिकारकर्मी एवम् अधिवक्ता सरिता भण्डारीले बताइन् । उनले भनिन्, ‘छोराछोरी जन्मेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन् । बच्चाहरु सानो हुँदा अभिभावकहरु कुनै कारणले सम्बन्ध विच्छेद गर्छन्, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन् ।

उनका अनुसार सम्बन्ध विच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले हुने गरेको छ । यसैगरी कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनुलगायतका कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?