+
+

‘उच्च हिमाली क्षेत्रमा मौसमी केन्द्र स्थापना हुन नसक्नुमा सरकारी नीतिनियम बाधक छ’

डा. इन्दिरा कँडेल  डा. इन्दिरा कँडेल 
२०७९ साउन ९ गते ११:२४

मौसम सम्बन्धी जानकारी लिन मौसम मापक उपकरण राखिएको स्थानलाई मौसम मापन केन्द्र भनिन्छ । मौसम मापन केन्द्रमा विभिन्न प्रकारका मौसम मापक उपकरण जडान गरिएका हुन्छन् । जडान गरिएका उपकरणका आधारमा यसलाई विभिन्न वर्गमा वर्गीकरण गरिन्छ ।

वर्षा मात्र नाप्नका लागि उपकरण जोडिएको केन्द्रलाई वर्षा मापन केन्द्र भनिन्छ । वर्षा र तापक्रम मापनका लागि दुवै उपकरण जोडिएको केन्द्रलाई नेपालको सन्दर्भमा हावापानी मापन केन्द्र भनिन्छ ।

कृषि प्रयोजनका लागि वर्षा, हावापानी, तापक्रम, माटोको आद्रता, वायुको गति र दिशा आदि मापन गर्ने उपकरणहरू जडित मौसम मापन केन्द्रलाई कृषि मौसम केन्द्र भनिन्छ । त्यसैगरी हवाई उडानको लागि सूचना दिने उद्देश्यका लागि वर्षा, वायुमण्डलीय चाप, हावाको दिशा र गति, सापेक्षिक आद्रता, दृश्य, बादल आदि मापनका लागि उपकरण जडान गरिएका केन्द्रहरूलाई ‘एरोसिनप्टिक’ केन्द्र भनिन्छ ।

त्यसैगरी उच्च हिमाली क्षेत्रको मौसमी अवस्था थाहा पाउनका लागि हिमपात, तापक्रम, हावाको चाप, वायुको गति र दिशा बारे सूचना दिन विशेष प्रकारका उपकरण जडित मौसम केन्द्रहरू स्थापना भएका हुन्छन् ।

केन्द्रमा जडित उपकरणको सञ्चालनको आधारमा केन्द्रलाई दुई भागमा वर्गीकरण गरिएको हुन्छ । एउटा स्वचालित र अर्को मानव संचालित । स्वचालित भन्नाले उपकरण स्वयंले मौसमी अवस्था मापन गरेर त्यसको रेकर्ड राख्ने र इन्टरनेटको माध्यमबाट सम्बन्धित ठाउँमा पठाउने गर्दछ । मानव सञ्चालितमा चाहिं उपकरणको सहायताले मानिस आफैंले मापन गर्नुपर्दछ ।

मौसमको विस्तृत अवस्थाको मापनका लागि स्वचालित केन्द्र हुँदा सहज हुन्छ । नेपालमा अहिले मौसम मापनका लागि करिब २०० वटा स्वचालित केन्द्र छन् । जसमध्ये करिब १०० जति वर्षा मापन केन्द्र छन् भने १०० वटाले तापक्रम पनि मापन गर्दछन् । करिब २०० वटा जल मापन केन्द्र छन् । त्यसमध्ये १०० वटा स्वचालित रहेका छन् ।

जलवायु परिवर्तनका कारणले विषम मौसमी घटनाको वृद्धि भइरहेको सन्दर्भमा मौसमी सूचना धेरै महत्वपूर्ण छ । स्वचालित मौसम केन्द्र स्थापना भएकाले तत्कालीन अवस्थामा कहाँ के भइरहेको छ भन्ने जान्न सकिन्छ । त्यसका आधारमा हामीले सूचनाहरू पठाउन सक्छौं । चेतावनीहरू जारी गर्न सक्छौं ।

त्यसैगरी मौसमी सूचना मौसम पूर्वानुमानमा प्रयोग हुन्छ । त्यसैगरी हामीले तथ्याङ्क प्रशोधन तथा भण्डारण गरेर राखियो भने हामीले भवन, पुलपुलेसा, सडक लगायत पूर्वाधारसँग सम्बन्धित विकास निर्माणका कामको डिजाइन गर्न सहयोग हुन्छ । मौसम केन्द्रबाट आएका तथ्याङ्कको अन्य विषयगत क्षेत्रसँग के सम्बन्ध छ, र त्यसले सो क्षेत्रमा कस्तो प्रभाव पार्दछ भनेर त्यसको प्रभाव अध्ययन गर्न सकिन्छ । त्यसका आधारमा विभिन्न रणनीतिक योजनाहरू बनाउन सहयोग पुग्छ ।

त्यसैगरी मौसम तथा जलवायु पूर्वानुमानका लागि मोडलिङ निर्माण तथा मोडेल ‘भेरिफिकेशन’ उपयोगी हुन्छ । त्यसबाहेक जलवायु सम्बन्धी अध्ययन अनुसन्धानमा पनि मौसमी सूचनाहरू उपयोगी हुन्छन् । लामो समयको तथ्याङ्कले जलवायु परिवर्तनसँग सम्बन्धित जानकारी तथा सूचनालाई झन् तथ्यपरक र विश्वसनीय बनाउँछ ।

हाल नेपालमा करिब ५०० वटा मौसम मापन केन्द्र छन् । उक्त केन्द्रहरूमध्ये तराई तथा पहाड अर्थात् २ हजार मिटरसम्मको उचाइमा धेरैजसो स्टेशन छन् । तर, त्योभन्दा माथि ३ हजार मिटरसम्ममा स्टेशनको संख्या घट्दै जान्छ । ३ हजार माथि पुगेपछि त धेरै नै घट्छ । हुम्ला, जुम्ला, डोल्पा, दार्चुला, बैतडी, गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक लगायत उत्तरी जिल्लामा स्टेशनको संख्या एकदमै कम छ ।

ती जिल्लामा केन्द्रहरू कम हुनुको कारणमध्ये भौगोलिक विकटता एउटा कारण हो । केन्द्र स्थापना गरिसकेपछि सुरक्षा, सञ्चालनका लागि आवश्यक स्थानीयस्तरमा जनशक्ति नहुनु अर्को कारण हो । त्यसबाहेक अनुगमनका लागि जाँदा हुने स्वास्थ्य जोखिम, उच्च भू–भागका लागि प्रयोग हुने उपकरण र प्रविधिको सीमितता, तथ्यांक प्रवाहका लागि आवश्यक सस्तो प्रविधि नहुनु आदि चुनौती रहेका छन् ।

त्यसैगरी अनुगमन र मूल्याङ्कनका लागि जनशक्ति परिचालनमा सरकारी नियमले उपलब्ध हुनेभन्दा धेरै खर्च आउँछ । तर, सरकारी नियम अनुसारको सुविधाले सरकारी कर्मचारीले त्यहाँ पुगेर स्वास्थ्य जोखिम उठाउन सक्दैनन् । त्यहाँ खटिने कर्मचारीलाई विशेष व्यवस्था हुनुपर्यो । सामान ढुवानी, उपकरण जडानलगायत कामका लागि अहिलेको व्यवस्था सहयोगी नहुनु पनि केन्द्रहरू कम हुने कारण हो ।

(जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट डा.कँडेलसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?