+
+

‘दर्केझरी आउँदैछ भन्ने थाहा पाएको भए लगाउने लुगा त जोगाउन सक्थें’

अरू अरू ठाउँमा त पानी पर्छ, बाढी आउँछ भनेर भनेको फेसबुकमा देखिन्छ । तर, हाम्रो मनाङको बारेमा त केही पनि लेखेको हुँदैन । हामीलाई पानी पर्ने, बाढी आउने, नआउने बारे समयमै लेखिदिए त अलि ढुक्क हुन्थ्यौं नि !

कन्यामाया गुरुङ कन्यामाया गुरुङ
२०७९ साउन ९ गते ११:२४

म धारापानीमै जन्में । यहींको हावापानी र माटोमा हुर्कें । म सानो छँदा यहाँ जुन किसिमको हावापानी थियो, अहिले त्यो धेरै बदलिएको छ । हामी सानो छँदा यो ठाउँमा हिउँदको समयमा मज्जाले हिउँ पर्दथ्यो । तर, अहिले यो ठाउँमा आक्कलझुक्कल मात्र हिउँ देख्न सकिन्छ । परिहाल्यो भने पनि फ्यास फ्यास परेर उत्तिखेरै विलाउँछ ।

बर्खायाममा दर्केझरी परेको त मलाई अहिलेसम्म थाहा नै थिएन । यहीं नजिकैबाट मर्स्याङ्दी नदी बग्छ । तर, यो नदी बढेको पनि थाहा थिएन । तर, १ असार २०७८ का दिन यहाँ ठूलो पानी पर्यो । मर्स्याङ्दी नदी बेस्सरी बढ्यो । त्यस्तो झरी र त्यति ठूलो नदी मैले पहिलो पटक देखें ।

मेरो दुई रोपनी जग्गा थियो । एउटा किराना पसल र एक पाहुना घर थियो । दुई रोपनी जग्गामा स्याउ, किवीका बिरुवा लगाएकी थिएँ । मर्स्याङ्दीको बाढीले सबै लगिदियो । मसँग बाँकी भनेको मैले लगाएको कपडा मात्र रह्यो । मैले यस्तो अवस्था भोगेको ठ्याक्कै एक वर्ष भयो ।

मैले मात्रै होइन यहाँका कसैले पनि मनाङमा यस्तो पानी परेको जानेका थिएनौं । हामीलाई कतैबाट ठूलो पानी पर्ने सम्भावना छ भन्ने मात्रै थाहा भएको भए पनि लगाउने लुगा, कपडा, खाने सामान, नगद र गरगहना त जोगाउन सक्थ्यौं ! केही थाहा भएन एक्कासी दर्केझरी आयो हामीले केही पनि जोगाउन पाएनौं ।

मैले जस्तो अवस्था मनाङका धेरैले भोग्नुभयो । धेरै समयसम्म नातेदारकहाँ बसें । अहिले भाडामा कोठा लिएर बसेकी छु । पहिला पसल चल्थ्यो । गुजाराका लागि समस्या थिएन । अब अहिले त जग्गा जमिन पनि केही छैन । फेरि भर्खर पसल सुरु गरेकी छु । तर, पहिला जस्तो छैन । उधारो सामान पनि पत्याउँदैनन् ।

अहिले पनि आकाशमा कालो बादल देख्दा डर लाग्छ । गड्याङगुडुङ गरेको दिनमा त रातभर निद्रा पनि लाग्दैन । सुत्न पनि सक्दिनँ । फेरि पहिला जस्तै पानी र बाढी आउने हो कि भन्ने लाग्छ । हामी कहिलेसम्म त्रासमा बाँचिरहने । न यो ठाउँ छोडेर अन्यत्र जान सकिन्छ, न यो ठाउँमा ढुक्कले बस्न सकिएको छ । गाह्रो छ हामीलाई ।

अरू अरू ठाउँमा त पानी पर्छ, बाढी आउँछ भनेर भनेको फेसबुकमा देखिन्छ । तर, हाम्रो मनाङको बारेमा त केही पनि लेखेको हुँदैन । कमसेकम हामीलाई पानी पर्ने, बाढी आउने, नआउने बारे समयमै जानकारी भयो भने त अलि ढुक्क हुन्थ्यौं नि ! त्यो पनि अहिलेसम्म कहीं कतैबाट भएको छैन ।

मनाङ र हामीजस्ता मनाङी जनताका समस्या कसैले सुनेजस्तो लाग्दैन । अझ अहिले त कस्तो छ भने वन–जंगलमा डढेलो लाग्छ । डढेलो लागेको हामीले अहिलेसम्म जानेका थिएनौं । हिउँले डाँडाकाँडा ढाकिएर सेतै हुन्थे । तर, अहिले जाडो महीनामा डढेलो देखिन्छ । अचम्म छ ।

(नासो–३ धारापानी, मनाङकी स्थानीय कन्यामाया गुरुङसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?