+
+

भरतपुर आँखा अस्पतालले पायो आईएसओ गुणस्तर चिह्न

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २०:२६

९ साउन, चितवन । भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई युनाइटेड रजिष्ट्रर्ड (युआर) का कन्ट्री ड्राइरेक्टर प्रकाश पौडेलले गुणस्तर चिह्न प्रमाणपत्र प्रदान गरे ।

पौडेलले अस्पतालमा विधिको शासन, गुणस्तरीय सेवा, कर्मचारीको निरन्तर क्षमता अभिवृद्धि, विश्वस्तरीय प्रविधिको प्रयोग, विधिसम्मत सञ्चालन, सेवाग्राहीको सन्तुष्टि लगायतका मादपण्डका आधारमा मूल्यांकन गरेर गुणस्तर चिह्न प्रदान गरिएको बताए ।

अस्पतालले पाएको यो गुणस्तर चिह्न सन् २०२५ सम्मका लागि हो । त्यसपछि अस्पतालको सेवा प्रवाह लगायतका विषयमा हेरेर फेरि थप गर्ने वा नगर्ने भन्ने निर्णय हुन्छ ।

बेलायतमा मुख्य कार्यालय रहेको युनाइटेड रजिष्ट्रर्ड (युआर)ले नेपालका एक हजारभन्दा बढी संस्थालाई यो गुणस्तर चिह्न प्रदान गरिसकेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुशीको कुरा भएको भन्दै बताइन् । यसले भरतपुरलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सहयोग गरेको उनको भनाइ छ ।

२०४४ चैत १८ गते नेपाल नेत्रज्योति संघले स्थापना गरेको भरतपुर आँखा अस्पतालले ३५ वर्षमा २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ जनालाई बहिरंग सेवा (ओपीडी) सेवा दिएको छ भने एक लाख सात हजार ६३६ जनाको शल्यक्रिया गरेको छ ।

यस्तै गत आर्थिक वर्ष २०७८÷७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई बहिरंग सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । अस्पतालमा अहिले ६२ शय्या छन् भने ११४ जना चिकित्सक कर्मचारी कार्यरत छन् ।

अस्पतालले मध्य नेपालका १२ भन्दा बढी जिल्लामा आँखा उपचारको सेवा दिंदै आएको छ । भरतपुर आँखा अस्पताल अन्तर्गत भरतपुर उकालोमा बहिरंग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

भरतपुर आँखा अस्पतालले पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रौनगढमा सेकेण्डरी अस्पताल, चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनिघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ ।

अस्पतालमा दृष्टि पर्दा, कर्निया, आँखाको प्लास्टिक सर्जरी, बाल आँखा रोग, कन्ट्याक्ट लेन्स, न्यून दृष्टि, अर्थाेअप्टीक्स सेवाहरु उपलब्ध छन् । अस्पतालले सामुदायिक आँखा सेवाहरु पनि सञ्चालन गरेको छ ।

डाइग्नोस्टिक स्क्रिनिङ एण्ड ट्रिटमेन्ट, शल्यक्रिया शिविर, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम, चस्मा जाँच तथा न्युन दृष्टि शिविर, मधुमेह भएको बिरामीहरुको आँखा जाँच शिविर, आँखा स्वास्थ्य जनचेतना शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालमा आँखा सम्बन्धी विभिन्न शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?