+
+
फिचर :

अष्‍ट्रेलिया : आप्रवासी नेपालीको बढ्दो प्रभाव

यहाँ रोचक तथ्याङ्क के छ भने अष्‍ट्रेलिया बाहिर अन्य देशमा जन्मिएर अष्‍ट्रेलियन नागरिक भएका प्रमुख २० देशहरूमा नेपाली आप्रवासीहरू १२औं स्थानमा आइपुगेका छन्।

ऋतु राज भण्डारी ऋतु राज भण्डारी
२०७९ साउन ११ गते १३:१६
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी नेपाली समुदाय ।

नेपाल अष्‍ट्रेलिया सम्बन्ध

सन् १९१५ मा पहिलो विश्‍वयुद्धमा बेलायती सेनाको गोर्खा रेजिमेन्ट मार्फत टर्कीको गल्लीपोली प्रायद्वीपमा गोर्खाली सिपाहीले अष्‍ट्रेलिया र न्यूजिल्याण्डका पक्षमा लडेका थिए। त्यसैको सम्झनास्वरूप प्रत्येक वर्ष २५ अप्रिलमा अष्‍ट्रेलियामा हुने विशेष सैन्य परेडमा आज पनि गोर्खालीहरूलाई सम्झने गरिन्छ। यसरी हेर्दा नेपाल र अष्‍ट्रेलियाको सम्बन्ध एक शताब्दी भन्दा पनि पुरानो भैसकेको छ।

तर, नेपाल र अष्‍ट्रेलियाबीच औपचारिक सम्बन्ध १५ फेब्रुअरी १९६० मा भएको थियो भने फेब्रुअरी २६ मा दिल्लीस्थित अष्‍ट्रेलियन राजदूतलाई नेपालको गैरआवासीय राजदूत नियुक्त गरिएको थियो। नेपालबाट भने सन् १९६५ मा जापानमा दूतावास स्थापना गरेर त्यसको एक वर्षपछि जापानकै राजदूतलाई अष्‍ट्रेलियाको समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको थियो।

सन् १९८४ मा अष्‍ट्रेलियाले नेपालमा आवासीय दूतावास स्थापना गर्‍यो। त्यसको दुई वर्षपछि सन् १९८६ मा नेपालको दूतावासलाई राजदूतस्तरमा स्तरोन्‍नति गर्‍यो। तर नेपाल सरकारले भने अष्‍ट्रेलियाले नेपालमा दूतावास स्थापना गरेको २३ वर्षपछि मात्र सन् २००७ मा अष्‍ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली दूतावास स्थापना गर्‍यो।

दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन राष्‍ट्र प्रमुखको हैसियतमा राजा महेन्द्रबाट सन् १९७१ र राजा वीरेन्द्रबाट सन् १९८५ मा अष्‍ट्रेलियाको राजकीय भ्रमण भएको थियो। नेपाल टेलिभिजनको औपचारिक प्रसारणको सुरुवात नै राजा वीरेन्द्रको सोही अष्‍ट्रेलिया भ्रमणको भिडियो प्रसारणबाट भएको थियो। अष्‍ट्रेलियाको तर्फबाट भने राजा वीरेन्द्रको शुभ विवाहमा भाग लिन अष्‍ट्रेलियाका तत्कालीन गभर्नर जनरल नेपाल आएका थिए।

सन् १९७५ मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमारी कोमलले निजी रूपमा दुई हप्‍ता लामो अष्‍ट्रेलिया भ्रमण गरेका थिए। सन् १९८५ मा अष्‍ट्रेलियाका तत्कालीन परराष्‍ट्र मन्त्री बिल हेडनले नेपालको दुईदिने भ्रमण गरेका थिए। अष्‍ट्रेलियाबाट वहालवाला उच्‍च सरकारी स्तरको पहिलो नेपाल भ्रमण यही थियो। सन् २०१५ मा नेपालका तत्कालीन प्रधानन्यायाधीश र सन् २०१६ मा तत्कालीन परराष्‍ट्र मन्त्रीले समेत अष्‍ट्रेलियाको भ्रमण गरेका थिए।

दुई देशबीच कुनै औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ देखि नै अष्‍ट्रेलियाले नेपाललाई कोलम्बो प्लान अन्तर्गत नेपाली विद्यार्थीलाई उच्‍च अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो। साथै अष्‍ट्रेलियामा नेपाली विद्यार्थीलाई विभिन्‍न विधामा उच्‍च अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराएर त्यस बखतमा समेत नेपालको जनशक्ति विकासमा महत्वपूर्ण योगदान गरेको थियो। त्यसैगरी सन् १९४९ मा संयुक्त राष्‍ट्रसंघको सदस्यता लिने प्रक्रियामा सदस्य राष्‍ट्रको आवेदनलाई स्वीकार गरी नेपाललाई सदस्यता दिलाउन समेत अष्‍ट्रेलियाले सघाएको इतिहास छ।

विगत केही दशकदेखि अष्‍ट्रेलिया नेपाली विद्यार्थीको लागि उच्‍च अध्ययनको उत्कृष्‍ट गन्तव्य बन्दै गैरहेको छ। नेपालबाट उच्‍च अध्ययनको लागि अरबौं नेपाली रुपैयाँ अष्‍ट्रेलिया भित्रिरहेको छ। नेपालबाट तयारी चिया, कफी, छाला, लत्ताकपडा, कार्पेट, सुती कपडा, पेन्टिङ आदि अष्‍ट्रेलिया निर्यात हुने गरेको छ भने अष्‍ट्रेलियाबाट प्रशोधित पेट्रोलियम, दुग्ध उत्पादन, वेभरेज, स्पिरिट आदि आयात हुने गरेको छ। सन् २०१९ मा अष्‍ट्रेलियाबाट ३८ हजार ९७२ पर्यटक नेपाल भित्रिएका थिए। यो तथ्यांक कोभिड-१९ पछि भने उल्लेख्य रूपमा घटेको छ।

अष्‍ट्रेलियन सरकारले सन् २०१३ देखि असएडमार्फत नेपालको पूर्वाधार विकास, व्यापार, कृषि, मत्स्यपालन, खानेपानी, तीन तहको सरकारबीच समन्वय र सहकार्य, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षित र भूकम्प प्रतिरोधक आवास र भवन निर्माण आदि जस्ता क्षेत्रहरूमा वार्षिक २०-२५ मिलियन अमेरिकी डलर खर्च गर्दै आइरहेको छ।

अष्‍ट्रेलिया आप्रवासनको संक्षिप्‍त इतिहास

अष्‍ट्रेलियामा नेपाली आप्रवासीको आधिकारिक तथ्याङ्क अष्‍ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिकले पहिलो पटक सन् १९९६ मा प्रकाशित गरे पनि नेपालीहरू अष्‍ट्रेलिया पुगेको इतिहास भने नेपाल अष्‍ट्रेलिया बीच औपचारिक सम्बन्ध स्थापना (सन् १९६०) भन्दा पुरानो छ।

रितु राज भण्डारी

सन् १९४८ को नोभेम्वर २९ देखि डिसेम्बर ११ सम्म अष्‍ट्रेलियामा सम्पन्‍न युनाइटेड नेशन्स इकोनमी कमिसन फर एशिया एण्ड दि फार इष्ट (इक्याफे) को तेस्रो अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तत्कालीन शिक्षा विभागका डाइरेक्टरको नेतृत्वमा नेपाली प्रतिनिधिहरू अष्‍ट्रेलिया पुगेका थिए। युद्ध लड्न अष्‍ट्रेलिया पुगेका गोर्खाली सिपाही बाहेक अष्‍ट्रेलिया भ्रमण गर्ने पहिलो नेपाली त्यसै टोलीका सदस्यहरू थिए।

कोलम्बो प्लानको सदस्य राष्‍ट्रको नाताले अष्‍ट्रेलियाले विभिन्‍न विधामा नेपाली विद्यार्थीलाई उच्‍च शिक्षाको लागि अष्‍ट्रेलियामा अध्ययन गर्ने अवसर प्रदान गर्न थाल्यो। त्यसै क्रममा सन् १९५१ (राणाशासनको अन्त्यसँगै) पछि केही नेपाली विद्यार्थी उच्‍च अध्ययनको लागि अष्‍ट्रेलिया पुगेका थिए। तर पञ्चायती व्यवस्थाभरि राजा महेन्द्र र वीरेन्द्र, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र, सीमित सरकारी उच्‍च अधिकारी, कूटनीतिज्ञ, छात्रवृत्तिवाहक विद्यार्थीबाहेक अन्य सर्वसाधारण नेपालीले अष्‍ट्रेलिया भ्रमण गरेको यकिन तथ्याङ्क छैन।

सन् १९८५ (वि.सं. २०४२) मा नेपाल सरकारले वैदेशिक रोजगार ऐन तर्जुमा गर्‍यो। उक्त ऐनले नेपालीहरूलाई वैधानिक रूपमै विदेशमा गएर काम गर्न अनुमति प्रदान गर्‍यो। दोस्रो जनआन्दोलन मार्फत वि.सं. २०४७ मा देश एकदलीय राजतन्त्रात्मक व्यवस्थाबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा गएसँगै नेपालीहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विधिवत् रूपमा विदेश जाने क्रम सुरु भयो। यसै क्रममा नेपालीहरू उच्‍च अध्ययनको लागि अष्‍ट्रेलिया समेत जान थाले।

संसारभरिका २०० भन्दा बढी देशहरूबाट आएका आप्रवासीहरूको सामाजिक र सांस्कृतिक विविधता, अष्‍ट्रेलियाको लोककल्याणकारी राज्य व्यवस्था, संसारमै उत्कृष्‍ट ठहरिएका विश्‍व विद्यालयहरू, विद्यार्थीको लागि अध्ययन सँगसँगै आंशिक कामको अवसर र अध्ययन पछि अष्‍ट्रेलियामै अस्थायी/स्थायी बसोबासको सुविधा आदि भएकोले नेपाली विद्यार्थीको लागि अष्‍ट्रेलिया उत्कृष्‍ट गन्तव्यको रूपमा विकास भैरहेको छ।

जनसंख्या र राज्य अनुसार वितरण

अष्‍ट्रेलिया विभिन्‍न देशबाट आएका आप्रवासीहरूको बेजोड सामाजिक र सांस्कृतिक विविधता भएको मुलुक हो। यो नै अष्‍ट्रेलियन समाजको सुन्दर पक्ष हो। अष्‍ट्रेलियन सिटीजनसिप स्टाटिस्टिक २०२१ का अनुसार सन् २०२०-२१ मा २०० भन्दा बढी देशबाट आएका १ लाख ४० हजार ७४८ आप्रवासीले अष्‍ट्रेलियाको नागरिकता प्राप्‍त गरेका थिए। अष्‍ट्रेलियन व्युरो अफ स्टाटिस्टिकले प्रत्येक ५-५ वर्षमा राष्‍ट्रिय जनगणना गर्ने गर्दछ। सन् २०२१ को अगष्‍ट १० मा सम्पन्‍न १८औं जनगणनाले विदेशमा जन्मिएका अष्‍ट्रेलियन नागरिकहरूको जनसांख्यिकीय अवस्था सम्बन्धी पहिलो चरणको नतिजा प्रकाशित गरेको छ। जस अनुसार अष्‍ट्रेलियाको २९.१ प्रतिशत नागरिकहरू (७५ लाख) अष्‍ट्रेलिया बाहिर जन्मिएका छन्।

यहाँ रोचक तथ्याङ्क के छ भने अष्‍ट्रेलिया बाहिर अन्य देशमा जन्मिएर अष्‍ट्रेलियन नागरिक भएका प्रमुख २० देशमा नेपाली आप्रवासीहरू १२औं स्थानमा आइपुगेका छन्। आप्रवासीहरू भएका प्रमुख २० देशहरूमा बेलायत, भारत, चीन, न्यूजिल्याण्ड, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका, मलेशिया, इटाली, श्रीलंका, स्कटल्याण्ड जस्ता देशहरू मात्र नेपाल भन्दा अघि छन् भने संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण कोरिया, हंगकंग, ग्रीस, इराक, लेवनान र पाकिस्तान नेपाल भन्दा पछि छन्।

सन् २०२१ को जनगणना अनुसार अष्‍ट्रेलियन नागरिकता प्राप्‍त नेपाली आप्रवासीहरूको संख्या १ लाख २९ हजार ८७० छ जुन अष्‍ट्रेलियाको कुल जनसंख्याको ०.५ प्रतिशत हुन आउँछ। यो संख्या १० वर्षअघि सन् २०११ को राष्‍ट्रिय जनगणनामा २७ हजार ८१० थियो र उक्त संख्या अष्‍ट्रेलियाको कुल जनसंख्याको ०.१ प्रतिशत मात्र थियो। नेपाली मूलका अष्‍ट्रेलियन नागरिकहरूको विगत १० वर्षको वृद्धिलाई हेर्दा १ लाखभन्दा बढी नेपाली आप्रवासीहरूले अष्‍ट्रेलियाको नागरिकता प्राप्‍त गरेको देखिन्छ

(विस्तृत विवरण तालिका १ मा प्रस्तुत गरिएको छ)

तालिका १: अष्‍ट्रेलियाको नागरिकता प्राप्‍त आप्रवासी नेपालीको जनसंख्या वृद्धिको प्रवृत्ति
वर्ष जनसंख्या वृद्धि (%) वर्ष जनसंख्या वृद्धि (%)
१९९६ १४१०  – २००९ २४८२० ६५.९%
१९९७ १५२० ७.८% २०१० २७२०० ९.६%
१९९८ १६४० ७.९% २०११ २७८१० २.२%
१९९९ १७६० ७.३% २०१२ ३०७३० १०.५%
२००० २००० १३.६% २०१३ ३४७५० १३.१%
२००१ २४४० २२.०% २०१४ ४२९०० २३.५%
२००२ २७१० ११.१% २०१५ ५०१५० १६.९%
२००३ ३०२० ११.४% २०१६ ५८९८० १७.६%
२००४ ३३७० ११.६% २०१७ ७३८४० २५.२%
२००५ ३८३० १३.६% २०१८ ९४८१० २८.४%
२००६ ४३५० १३.६% २०१९ ११८८४० २५.३%
२००७ ७९८० ८३.४% २०२० १३२१४० ११.२%
२००८ १४९६० ८७.५% २०२१ १२९८७० -१.७%
                                       स्रोत लिंकः एबीएस डट गभ डट अस

अष्‍ट्रेलियन व्युरो अफ स्टाटिस्टिकले पहिलो पटक सन् १९९६ को राष्‍ट्रिय जनगणनामा नेपाली मूलका अष्‍ट्रेलियन नागरिकहरूको जनसंख्या प्रकाशित गरेको थियो। उक्त जनणगना अनुसार १४१० नेपाली अष्‍ट्रेलियामा नागरिकको रूपमा बसोबास गरेको देखिन्छ। विगत २५ वर्षमा यो संख्या लगातार बढेर सन् २०२१ मा १ लाख २९ हजार ८७० पुगेको छ।

जनसंख्या वृद्धिको यो प्रवृत्तिलाई हेर्दा सन् १९९९ सम्म अघिल्लो वर्षको तुलनामा करिब ७-८ प्रतिशतको दरमा नेपालीको जनसंख्या बढेको देखिन्छ भने सन् २००० देखि २००६ सम्म यो वृद्धिदर ११-२२ प्रतिशत रहेको छ। नेपालमा दोस्रो जनआन्दोलनपछि अर्थात् सन् २००७-२००९ को बीचमा भने अघिल्लो वर्षको तुलनामा जनसंख्याको वृद्धिदर ८७.५ प्रतिशतसम्म पुगेको देखिन्छ।

सन् २०१०/११ मा केही सुस्ताएको अष्‍ट्रेलिया नेपाली आप्रवासनको दर सन् १०१२ बाट भने लगातार बढ्दै गएर कोभिड-१९ को पहिलो संक्रमणसम्म आइपुग्दा २८.४ प्रतिशतसम्म पुगेको देखिन्छ भने कोभिडको संक्रमण बढेपछि अष्‍ट्रेलिया सरकारले आप्रवासीहरूको लागि अष्‍ट्रेलियाको अन्तर्राष्‍ट्रिय सीमा बन्द गरेकोले नेपाली आप्रवासनको दर सन् २०२१ मा ऋणात्मकसम्म भएको देखिन्छ।

सन् २०२२ को मार्च महिनामा नेपालको शिक्षा मन्त्रालयबाट दैनिक सरदर १२०० जति नो अब्जेक्शन लेटर जारी भएको देखिन्छ। कोभिड महामारी भन्दा अघि आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २५९ नेपाली विद्यार्थीले नेपालको शिक्षा मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखाबाट विदेश अध्ययनको लागि अनुमति लिएका थिए। उक्त शाखाको तथ्याङ्क अनुसार नेपालीहरू वैदेशिक अध्ययनको लागि जाने प्रमुख ५ गन्तव्य मुलुकहरूमा जापान, अष्‍ट्रेलिया, दक्षिण कोरिया, बेलायत र क्यानडा रहेका छन्। अष्‍ट्रेलियाको गृह मामिला विभागको तथ्याङ्क अनुसार यस वर्षको मार्च महिनामा मात्र अष्‍ट्रेलियामा उच्‍च अध्ययनका लागि ४ हजार ७८८ जना नेपाली विद्यार्थीले आवेदन गरेका थिए जुन संख्या चिनियाँ विद्यार्थीभन्दा ८५८ ले बढी थियो। अष्‍ट्रेलियामा नेपाली आप्रवासनको दरमा विभिन्‍न कालखण्डमा अष्‍ट्रेलियाको आप्रवासन नीति र अन्य विभिन्‍न कारणले उतारचढाव आएतापनि अष्‍ट्रेलिया नेपालीको लागि सदैव उत्कृष्‍ट गन्तव्य मुलुकको रूपमा रहेको तथ्य माथिका तथ्याङ्कहरूले पनि थप स्पष्‍ट पार्दछ।

तालिका २: अष्‍ट्रेलियाका राज्यहरू अनुसार आप्रवासी नेपालीको वितरण
अष्‍ट्रेलियन राज्यहरू जनगणना वर्ष प्रतिशत
१९९६ २००१ २००६ २०११ २०१६
न्यू साउथ वेल्स १६४० २९४० १७३१० ३४४७० ५८.४
भिक्टोरिया ४०० ७८० ४८६० १०१५० १७.२
क्‍विन्सल्याण्ड १४० ३०० २४१० ५५३० ९.४
साउथ अष्‍ट्रेलिया ७० ९० ११२० ३०१० ५.१
पश्‍चिम अष्‍ट्रेलिया ९० १२० १०५० २७८० ४.७
तास्मानिया २० २० ३३० ९०० १.५
नर्दन टेरिटोरी १० ३० ४२० १३४० २.३
अष्‍ट्रेलियन क्यापिटल टेरिटोरी ६० ७० ३१० ८०० १.४
कुल १४१० २४४० ४३५० २७८१० ५८९८० १००.०
                                                 स्रोत लिंकः एबीएस डट गभ डट एस

विदेशमा जन्मिएका अष्‍ट्रेलियाका नागरिकहरूको राज्यगत वितरणको तथ्याङ्क सन् २०२१ को जनगणनाले हालसम्म सार्वजनिक नगरेको भएतापनि सन् १९९६ देखि २०१६ सम्म गत २० वर्षको नेपाली आप्रवासीको राज्यगत वितरणको अवस्थालाई हेर्दा सबैभन्दा बढी ५८.४ प्रतिशत आप्रवासी नेपालीहरू न्यू साउथ वेल्स राज्यमा बसोबास गर्दछन्। अष्‍ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी लगायत न्यूक्यासल, सेन्ट्रल कोष्‍ट र ओलोङगंग जस्ता सहरहरू न्यू साउथ वेल्स राज्यमा पर्ने भएकोले पनि आधाभन्दा बढी नेपाली आप्रवासीहरू न्यू साउथ वेल्स राज्यमा बसोबास गरेको देखिन्छ।

त्यसैगरी भिक्टोरिया राज्यमा १७.२ प्रतिशत नेपाली आप्रवासी बसोबास गर्दछन्। जहाँ दोस्रो ठूलो सहर मेलवर्न रहेको छ भने ९.४ प्रतिशत नेपाली आप्रवासी क्‍विन्सल्याण्ड राज्यमा बसोबास गर्दछन् जसमा ब्रिसवेन जस्तो तेस्रो ठूलो सहर पर्दछ। यी तथ्याङ्कहरूले के देखाउँदछ भने ८५ प्रतिशत नेपाली अष्‍ट्रेलियाको सुदूर पूर्वीय समुद्री तटमा अवस्थित तीन ठूला सहरहरू सिड्नी, मेलवर्न र ब्रिसवेनमा केन्द्रित छन् भने साउथ अष्‍ट्रेलिया राज्यको एडिलेड, पश्‍चिम अष्‍ट्रेलिया राज्यको पर्थ, तस्मानिया, नर्दन टेरिटोरी राज्यको डार्विन र अष्‍ट्रेलियन क्यापिटल टेरिटोरीको क्यानवेरा जस्ता सहरहरू भने नेपाली आप्रवासीहरूको कम रोजाइमा परेको देखिन्छ।

आप्रवासी नेपालीको बढ्दो प्रभाव

सिड्नीमा नेपाली समुदायले आयोजना गरेको एक कार्यक्रम

अष्‍ट्रेलियामा प्रवासी नेपालीको बढ्दो जनसंख्यासँगै विस्तारै त्यसको प्रभाव अष्‍ट्रेलियाली समाज, कर्मचारीतन्त्र, सरकार र राजनीतिमा समेत देखिन थालेको छ। जसको फलस्वरूप अष्‍ट्रेलियाको स्थानीय, क्षेत्रीय र केन्द्रीय राजनीतिमा प्रवासी नेपालीले चुवान लड्ने हैसियत समेत बनाइसकेका छन्। अष्‍ट्रेलियाका मुख्य राजनीतिक दल लिवरल र लेवर पार्टीबाट मात्र नभई स्थानीय चुनावमा स्वतन्त्र रूपमा काउन्सिलर पदमा समेत नेपाली चुनाव लड्न थालेका छन्।

स्थानीय चुनावमा नेपालीको उम्मेदवारीले अष्‍ट्रेलियाको राजनीति र समाजमा नेपालीको प्रभाव क्रमशः बढिरहेको देखाउँछ। हालै सम्पन्‍न (२१ मे, २०२२) अष्‍ट्रेलियाको संघीय निर्वाचनमा पहिलोपटक नेपाली मूलका युवालाई लिवरल पार्टी र ग्रीन पार्टीले सांसद पदको उम्मेदवार बनाएपछि भने नेपाली आप्रवासीहरूको अष्‍ट्रेलियाको केन्द्रीय राजनीतिमा समेत गर्विलो उपस्थितिको सुरुवात भएको छ। दुवै उम्मेदवारहरूले संसदीय चुनाव हारे पनि यसले आप्रवासी नेपालीको अष्‍ट्रेलियाको केन्द्रीय राजनीतिमा बढ्दै गरेको प्रभावलाई झल्काउँछ।

यहाँका मुख्य राजनीतिक दलहरूले आयोजना गर्ने विशेष कार्यक्रम र छलफलहरूमा नेपालीले निम्‍तो पाउन थालेका छन्। लिवरल पार्टीले नेपालीको पहुँच बढाउनका लागि स्थापना गरेको “लिवरल फेन्ड्रस अफ नेपाल” लाई आफ्नो शाखाको दर्जा दिएको छ। जसले गर्दा नेपालीलाई आफ्नो समस्या र एजेण्डाहरू लिएर सम्बन्धित पदमा रहेका सरकार र पार्टीका व्यक्तिहरूलाई भेट्न सहज भएको छ। त्यसैको फलस्वरूप भारतीय नाकाबन्दीको विरोधमा र्‍याली गर्दै नेपालीले क्यानवेरास्थित संसद भवन अघि पुगेर विदेश मन्त्रीका सल्लाहकार र प्रतिनिधिमार्फत भारतीय नाकाबन्दी विरुद्धको नेपालीको ज्ञापनपत्र तत्कालीन विदेशमन्त्री जुलि बिसप र विपक्षी दलका नेताहरूलाई बुझाउन सफल भएका थिए।

प्रवासी नेपालीको बढ्दो जनसंख्यासँगै सिड्नी, मेलवर्न, ब्रिसवेन, एडिलेड, पर्थ, क्यानवेरा, होबार्ट, डार्बिन जस्ता अष्‍ट्रेलियाका ठूला सहरहरूमा नेपाली समाज र समुदाय लक्षित विभिन्‍न सामुदायिक र सामाजिक संघसंस्थाहरू समेत सक्रिय रूपमा संचालन भैरहेका छन्। यस्ता संघ संस्थाहरूले नेपालको पर्यटन प्रवर्धनको लागि अष्‍ट्रेलियाका सांसद, राजनीतिक व्यक्तित्व र व्यावसायिक टोलीहरूलाई नेपालको भ्रमण गराउने र नेपालबाट समेत मन्त्री र नेताहरूलाई अष्‍ट्रेलियाको राजनीतिक र उच्‍च सरकारी तहमा भेटघाटको प्रबन्ध मिलाउने गरेका छन्।

जसले नेपाल र अष्‍ट्रेलियाको कूटनैतिक र राजनैतिक सम्बन्धलाई अझ मजबुत बनाउन र अष्‍ट्रेलियामा रहेका नेपालीलाई त्यहाँको सरकार र राजनीतिमा पहुँच बढाउन समेत मद्दत पुगेको छ। सन् २०१९ मा अष्‍ट्रेलियामा स्थापित सम्पूर्ण नेपाली सामुदायिक तथा सामाजिक संघसंस्थाहरूलाई एउटै छातामुनि गोलबद्ध गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरूको संघीय परिषद फेडरेशन अफ नेपलिज कम्युनिटी एशोसिएसन अष्‍ट्रेलिया (फेन्का) गठन भएको थियो। गैरआवासीय नेपाली संघ अष्‍ट्रेलिया र फेन्काबीच केही विवाद भएतापनि यस्ता संघसंस्थाहरूको संयुक्त पहलबाट नेपाल र अष्‍ट्रेलियाबीचको लामो कूटनैतिक र राजनैतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन थप मद्दत पुग्‍नेछ। साथै, आप्रवासी नेपालीको अष्‍ट्रेलियाली समाज र राजनीतिमा पनि प्रभाव बढाउँदै लैजाने देखिन्छ।

र अन्त्यमा,

हालैका नेपाली पत्रपत्रिकामा आएका समाचार अनुसार भारत बाहेकका विदेशी शैक्षिक संस्थाहरूमा अध्ययन गर्न नेपाली विद्यार्थीले वार्षिक ६० अर्ब नेपाली रुपैयाँ भन्दा बढी बराबरको अमेरिकी डलर विदेश लैजाने गर्दछन्। रुस–युक्रेन युद्धसँगै तेलको मूल्यमा भएको भारी वृद्धिले जसरी देशको विदेशी मुद्राको संचितिमा तीव्र कमी आइरहेको छ त्यो परिप्रेक्ष्यमा नेपाली विद्यार्थीले अध्ययनको लागि विदेश लैजाने रकमको ठूलो महत्व छ।

जुन हिसाबले अष्‍ट्रेलियामा अध्ययन गर्न जाने नेपाली युवाको संख्यामा वृद्धि भैरहेको छ, त्यसरी नै अष्‍ट्रेलियामा नेपाली मूलका नागरिकहरूको संख्यामा पनि विगत १० वर्षमा तीव्र बढोत्तरी हुँदै गैरहेको छ। अष्‍ट्रेलियाको सन् २०१६ को जनगणना अनुसार ७८.८ प्रतिशत नेपाली आप्रवासीले उच्‍च शिक्षा पूरा गरेका छन् र कुनै न कुनै प्रकारको सीप र दक्षता हासिल गरेका छन्।

अष्‍ट्रेलियाको नागरिकता प्राप्‍त १ लाख २९ हजार ८७० आप्रवासी नेपालीलगायत उच्‍च अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या पनि ७० हजार भन्दा बढी रहेको अनुमान छ। यसरी उच्‍च शिक्षा हासिल गरेका र दक्ष लाखौं नेपाली युवाले जुन स्तर र आयतनमा अष्‍ट्रेलियाको जीडीपीमा योगदान गरिरहेका छन्, त्यस हिसाबले हेर्दा अष्‍ट्रेलिया र नेपालको आर्थिक सम्बन्धमा ठूलो खाडल देखिन्छ।

सार्वभौमसत्ता सम्पन्‍न राष्‍ट्रको सवालमा नेपाल र अष्‍ट्रेलिया दुवै मुलुकहरू परस्परमा समान हैसियत राख्‍ने भएतापनि आर्थिक, राजनैतिक, प्राविधिक जस्ता थुप्रै विषयमा नेपाल अष्‍ट्रेलिया भन्दा धेरै पछि छ। विगत १० वर्षको आप्रवासनको प्रवृत्तिलाई हेर्दा जुन ढंगले अष्‍ट्रेलियामा नेपाली समुदायको जनसांख्यिकीय ढाँचामा परिवर्तन आएको छ र जुनस्तरमा नेपाली आप्रवासीले अष्‍ट्रेलियाको सामाजिक र आर्थिक विकासमा योगदान गरिरहेका छन् त्यस अनुसारको अष्‍ट्रेलिया–नेपाल सम्बन्ध अगाडि बढेको देखिंदैन।

त्यसैले नेपाल–अष्‍ट्रेलिया सम्बन्ध २०-२५ मिलियन अष्‍ट्रेलियन डलरको असएड र विगत केही वर्षहरूमा नेपालबाट वहालवाला मन्त्रीहरूको नेपाली कार्यक्रममा भाग लिने स्तरका अनौपचारिक भ्रमणमा सीमित नभएर दुई मुलुकबीच बदलिंदो आप्रवासन र जनसांख्यिकीय ढाँचा एवम् अन्य सामाजिक–आर्थिक अन्तरसम्बन्धलाई समेत ध्यानमा राखेर परिभाषित गरिनु जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?