+
+

फोहोरले बढायो प्रदूषण, अझै बनेन सिसडोलको सडक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १९:४२
फाइल तस्वीर

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर बञ्चरेडाँडामा पठाउन सक्ने सम्भावनाबारे अध्ययन गर्न एक टोली सिसडोल पठाएको छ । सडक मर्मतको काम नसकिएकाले बिहीबारदेखि नै सिसडोलमा फोहोर जाने सम्भावन न्यून रहेको टोलीमा सहभागीहरुले बताएका छन् ।

बञ्चरेडाँडामा सडक निर्माणको काम हेर्ने महानगरका वातावारण तथा सरसफाइ समितिका संयोजक बालकृष्ण महर्जन, वातावरण विभाग प्रमुख सरिता राई, प्रवक्ता नवीन मानन्धरको टोली सिसडोल पुगेको छ ।

सिसडोलमा सडकको अवस्था हेर्न पुगेका महानगरका प्रवक्ता नवीन मानन्धर फोहोर उठ्ने सम्भावना कम देखिएको बताउँछन् । ‘हामी यहाँ साइटमै छौं, बाटो निर्माण धमाधम भइरहेको छ,’ उनले भने, ‘यहाँको अवस्था हेर्दा भोलिदेखि फोहोर उठ्ने सम्भावना भने कम छ ।’ तर, फोहोर सिसडोल जाने/नजाने बेलुका मात्रै निर्णय हुने उनले बताए ।

अहिले उपत्यकाको फोहोर ढुवानी हुने सडकखण्ड अन्तर्गत सिसडोलको ल्यान्डफिलसाइटको फोहोरको थुप्रोमाथिबाट बनाइएको सडक बनाउने काम चलिरहेको छ । सडक हिलोले भासिएपछि ग्याबिन जाली राखेर व्यवस्थापन गर्ने काम हुँदैछ । झण्डै सय जनाले काम गरिरहेपनि वर्षातका कारण काम सकाउन सकस भएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

सिसडोलमा पुगेको महानगरको टोलीले साँझसम्म महानगरलाई आफ्नो स्थलगत अध्ययनको रिपोर्ट पेश गर्नेछ । त्यसका आधारमा महानगरपालिकाले निर्णय गर्नेछ ।

फोहोर सिसडोल जाने/नजाने निश्चित नभएपनि काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर संकलन गर्ने भन्दै सूचना जारी गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जारी गरिएको सूचनामा भनिएको छ, ‘साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको छ । १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरवासीमा अनुरोध गरिएको छ । ’

प्रवक्ता महर्जन स्थानीयलाई सडकमा फोहोर नफाल्न पहिल्यै सूचीत गरिएको बताउँछन् । काठमाडौं महानगरपालिकाले ४ साउनमा सात दिन फोहोर नउठ्ने भन्दै सूचना जारी गरेको थियो । तर, स्थानीयले सडकमा फोहोर ल्याएर थुपारेको उनको गुनासो छ । त्यही फोहोर अहिले सडक किनार र गल्लीमा कुहिन थालेका छन् । जसले सहरमा दुर्गन्ध फैलिन थालेको छ । बल्खु, कालिमाटी, टेकु, रत्नपार्क, बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रहरुमा सडकमा थुप्रिएको फोहोर कुहिन थालेको हो ।

‘हामीले कुहिने र नकुहिने फोहोर छुट्याएर घरभित्रै राख्न अनुरोध गरेका थियौं,’ उनले भने, ‘तर सबैसम्म त्यो सूचना पुगेन वा लामो समय सम्मको फोहोर भएर जनताले सडकमा ल्याए । अब त्यस्तो अवस्था दिन धेरै रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?