+
+

स्केट बोर्डिङ र बी बोइङ प्रवर्द्धन गर्न महानगरले ‘यमबुद्ध पार्क’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १५:५२

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत र्‍यापर यमबुद्धको सम्झनामा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले पार्क बनाउन एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ ।

महानगरपालिकाले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना बनाएको महनगरकाे पूर्वाधार विकास विभागका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार ‘बी बोइङ’ ब्रेकडान्सिङ नृत्यको एउटा ऊर्जावान शैली हो । यो सामान्यतयाः हिप-हप संगीतमा प्रदर्शन गरिन्छ, कलात्मक फुटवर्क र एक्रोबेटिक वा एथलेटिक शैलीको यो नाच पछिल्लो समय लोकप्रिय छ    । स्केटबोर्डिङ भने पांग्रा जोडिएको स्केटमा हिंड्ने फरक शैलीको खेल हो ।

बजेटमा नै महानगरपालिकाले यो रकम पार्क निर्माण, बास्केटबल कोर्ट, स्केट बोर्डिङ, बी बोइङसहितको पार्क बनाउने उल्लेख गरेको छ । बजेटमा अन्य संरचना पनि बनाउने भनिए पनि के-के हुने भन्ने थप खुलाइएको छैन ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १६मा यस्तो पार्क बन्ने छ । यसअघि यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन साह विवादमा तानिएका थिए । प्रस्तावित यमबुद्ध पार्कमा अब यमबुद्धको सालिक रहने/नरहने बजेटमा उल्लेख छैन ।

सलिकबारे विवाद भएपछि गत २५ असारमा काठमाडौं महानगरपालिकाका मेयर साहले दिवंगत र्‍याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने घोषणा गरेका थिए ।

काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए । महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?