+
+
कथा :

कीरा परेको गिदी

कुनै न कुनै रुपमा संसारभरका अधिकांश नेताको गिदीमा त्यो कीराले ठूलो घर बनाएको छ । त्यसैले यी युद्ध, अपराध, भ्रष्टचार र आतंक भएका छन् ।

दीपक समीर दीपक समीर
२०७९ साउन १४ गते ८:३०

‘तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ…’

लुई पाश्चरको यो अनायास भनाइले मेरो पनि गिदी चकराउँछ । अनि आश्चर्यचकित लवजमा मबाट निस्कन्छ- ह्वाट ?

‘एस मिस्टर समीर’ उनी भन्दै जान्छन्, ‘सबै हैन, छिटपुट बाहेक धेरैको गिदीमा एक यस्तो कीरा छ, जसको सकेसम्म चाँडै उपचार खोजिएन भने तिमीहरु सबैलाई तिनले बर्बाद गर्नेछन्।’

                                                                                             ***

चर्चित फ्रान्सेली वैज्ञानिक लुई पाश्चरको स्वर्गलोकमा रहेको विज्ञान प्रयोगशाला । जुन निकै भव्य छ ।

बाहिर कल्पना गर्नै नसकिने सौन्दर्य बोकेको बगैंचा छ । रङ्गीचङगी फूलहरु । ती अनगिन्ती फूलका सुगन्धले मधुर नसा दिंदैछन् । फलका पनि बोटहरु । बीचबीचमा साना साना खोला र पोखरी । चरा चुरुङ्गी, जनावर सबै छन् । कुनै अन्जान ठाउँबाट बाँसुरीको एक यस्तो सुमधुर धुन बजिरहेछ, त्यति मीठो धुन हामीले त्यसअघि कहिल्यै सुनेका थिएनौं । त्यसको र खोलाको कलकल आवाज मिसिंदा ब्रम्हाण्डकै उत्कृष्ट धुन बनेको छ । पृथ्वीमा हुँदा हिंस्रक जनावर बाघ, भालु, सिंह, सर्प पनि शान्त र मायालु छन् । मौसम न जाडो छ, न गर्मी । स्वर्ग किन सुन्दर छ भन्ने कुरा यहाँ थाहा हुन्छ । जसको एउटै कारण रहेछ, प्रेम । जीवन भएका प्राणी- प्राणीबीच तथा प्राणी, प्रकृतिबीचको अलौकिक प्रेमले नै त्यो ठाउँ पृथ्वीका मानिसको सोच भन्दा कैयौं गुणा सुन्दर छ ।

त्यही सौन्दर्यको माझमा छ, पाश्चरको अत्याधुनिक प्रयोगशाला । भवन निकै कलात्मक छ र भव्य पनि छ । विभिन्न सामग्री, कच्चा पदार्थ व्यवस्थित रुपमा राखिएको छ । स्वर्गभित्र यो अर्को एउटा छुट्टै स्वर्ग छ ।

मृत्यु भएको १२७ वर्ष भइसक्दा पनि स्वर्गलोकमै उनी अनुसन्धान र नयाँ-नयाँ प्रयोगको क्रममै व्यस्त छन् । सन् १८२२ मा जन्मेर १८९५ मा स्वर्गीय भएका पाश्चरले ज्यूँदो छँदा मुख्यगरी तीनवटा उपहार सिंगो मानव जीवनलाई दिएर ठूलो गुन लगाए ।

पहिलो, खानेकुरामा हुने स्वास्थ्यमा असर गर्ने किटाणु मार्न पकाएर खानुपर्छ भन्ने तथ्य प्रमाणित गरे र खानेकुरालाई लामो समयसम्म टिकाइराख्ने उपाय बताए । जसको पहिलो प्रयोग दूधमा गरे ।

दोस्रो, हाम्रो शरीरमा प्रवेश गरेर रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बढाउने खोप बनाए । जसमार्फत बालज्वरो,  हैजा, प्लेग जस्ता रोग विरुद्धको खोप बनाए ।

तेस्रो, रेबिज विरुद्धको खोप बनाए । जसले गर्दा त्यतिबेलाकै हिसाबले पनि प्रतिjर्ष एक करोड व्यक्ति त्यसबाट लाभान्वित भए ।

हो, तिनै महान् वैज्ञानिक लुई पाश्चर, जसको व्यक्तिगत जीवन भने निकै अश्रुपूर्ण रह्यो, उनीसँग भ्याक्सिन अर्थात् खोपकै बारेमा केही नयाँ उपलब्धिको आश गरेर हामी गएका थियौं,  समय लिएर । हामी अर्थात् क्यान्सरका डाक्टर अरुण शाही र म ।

डाक्टर अरुण क्यान्सरका बिरामीलाई केमोथेरापी उपचार गर्छन् अर्थात् त्यसका लागि औषधि र भ्याक्सिन दिन्छन् । पाश्चरले अहिलेसम्म चाहे स्वर्गमै किन नहोस् क्यान्सर विरुद्धको खोप पनि पत्ता लगाए कि भन्ने झिनो आशा लिएर हामी गएका । सुरुमा त समय लिनै गाह्रो, त्यसपछि भेट्नै गाह्रो, भेटेपछि पनि बोल्नै गाह्रो । खाली के के गरेर बस्ने । नजिकै कोही छ, भेट्न भनेर टाढाबाट आएको छ । तर वास्तै छैन !

रिसाउने अधिकार हामीसँग छैन । ‘धेरै अध्ययन गर्ने यी बुढाहरु यस्तै हुन्’ भनेर चित्त बुझाएका छौं । केहीबेरको अस्थिर प्रतीक्षापछि हामीतिर ध्यान दिंदै उनी वर आउँछन् । सेतो कपाल, सेतै दाह्री । गोलो चश्मा । सफा लुगा । अनुहारमा अझै पनि तेज । हेर्दै कुनै खास मान्छे जस्तो ।

एउटा अचम्म त्यहाँ देख्छौं, पाश्चरले अबिरको रातो ठाडो टीका लगाएका छन् । भौतिकवादी वैज्ञानिक, त्यसमा पनि क्रिश्चियन धर्म मान्ने । कुन प्रेरणाले हिन्दू धर्मको यो टीका ग्रहण गरे होलान् ?

पशुपन्छीको व्यापार गर्ने सामान्य मान्छेको छोरा जसले महान् अन्वेषण गरेर संसारलाई बचायो । उनीसँग भेट्न पाउँदा हामी गद्गद् छौं । भेटको उद्देश्य पूरा होला नहोला, तर भेट आफैंमा एक भयंकर उपलब्धि हो ।

‘खास प्रयोगशालामा यसरी कसैलाई पनि भित्र आउन अनुमति छैन’ दाह्री कन्याउँदै पाश्चर भन्छन्, ‘तर भाइहरु पृथ्वीदेखि निक्कै दु:ख गरेर आएका हुनाले मात्रै दिएको । खास के छ ? ल भनौं त । मसँग समय धेरै छैन ।

डा. अरुण र म हेराहेर गर्छौं, पहिला कसले बोल्ने भन्ने प्रश्न उब्जिन्छ । म नै अघि सर्छु । आखिर मेरो पेशा नै बोल्ने ।

‘खास म चाहिं पत्रकार हुँ । नेपाल टेलिभिजनमा काम गर्छु । मेरो भन्दा पनि भेट्ने इच्छा बढी उहाँको हो । म चाहिं माध्यम मात्रै बनेको ।’

‘ए त्यही त’ अब बुढा खुल्दैछन्, ‘तिमीहरु पत्रकारको कामै त्यही त हो नि । आफू नयाँ केही गर्ने होइन । खाली अर्काले गरेका कामको गफ दिएर चर्चा बटुल्ने । त्यही पनि सत्य र निष्ठामा बसे त हुन्थ्यो नि ।’

खरो स्वभावका रहेछन्, रातोपिरो बनाए बुढाले । भन्न त मलाई भन्न मन थियो ‘सबैलाई एउटै भाँडोमा हालेर हेर्ने काम नगर न बुढा,’ भनेर । तर चुप लागेर बनावटी हाँसो हाँस्न बाहेक सकिनँ । मेरो निरीहपन लत्याउँदै उनी अरुणतिर फर्कन्छन् ।

‘अनि तिमी चाहिं क्यान्सरको डाक्टर ?’

‘हजुर हो’।

‘कहाँ पढ्यौ नि ?’

‘पढ्न त मैले सुरुमा एमबीबीएस चाइनाबाट गरें, एमडी बंगलादेशबाट, एमपीपीएच बंगलादेशबाट नै र क्यान्सरको विशेष कोर्स भारतबाट गरें । पछि युरो सर्टिफाइड चाहिं युरोपबाटै भएँ । नेपालमै केही गरौं भनेर विदेश नगई त्यहीं बसेको छु ।’

‘ए, सानै उमेरमा धेरै गरेछौ, किप इट अप ।’

अब बुढा शान्त छन्, ‘नेपालमा त राम्रा डाक्टर थोरै छन् । ती पनि दशवटा अस्पताल भ्याउँछन् । त्यसो भएपछि बिरामीलाई समय दिन नभ्याएर उपचार पनि राम्रो हुँदैन । यता घरपरिवार पनि ध्वस्त । त्यस्तो चाहिं नगर नि । तल बस्दा मैले यो कुरा बुझिनँ । अहिले पश्चाताप हुँदैछ । मेरो पारिवारिक कहानी त थाहा छ नि ?’

‘थाहा छ हजुर ।’ अब नर्भस हुने पालो डाक्टरको ।

‘त्यसमा म सचेत छु हजुर । मेरी श्रीमती पनि स्त्रीरोगको डाक्टर हुन्, कुरा बुझ्छिन् । त्यसैले समस्या छैन ।’

यता मैले गुगलमा पढेको पाश्चरको पारिवारिक चित्र मेरो दिमागमा आउँछ ।

उनका तीन जना छोरी थिए । तीन जनामध्ये दुईजना ब्रेन ट्युमर भएर र एकजना टाइफाइट भएर बितेका थिए । श्रीमान सधैं व्यस्त, छोरीहरु तीनै जना स्वर्गीय । बिचरा उनकी श्रीमती मेरी पाश्चरले जीवनको अधवैंसे उमेरदेखि नै मानसिक सन्तुलन गुमाउन पुगिन् । यी सबै पीडाका बाबजुद पाश्चरले आफ्नो साधना छोडेनन् ।

उम्लिने गरी पकाएपछि खानेकुरामा हुने हानिकारक किटाणु मार्ने र शरीरमा रहेका जीवाणु मार्ने प्रविधि अर्थात् खोप पत्ता लगाएर संसारलाई गुन लाएर पनि चुप लागेर बसेनन् ।

रेबिज विरुद्धको खोप पत्ता लगाउने उनको सानै उमेरदेखिको सपना थियो । जसको पछाडि एक घटना प्रमुख कारण थियो । पाश्चरको गाउँ फ्रान्सको डोल, जुन जंगल नजिकै थियो । एक दिन जंगलबाट एक्कासी थुप्रै स्यालहरु आएर गाउँका आठ जनालाई टोके । तीमध्ये पाँच जनालाई रेबिज भयो । केही दिनपछि स्याल जस्तै कराएर, र्‍याल सिंगान बगाएर ती पाँच जनाको दु:खद् मृत्यु भयो । त्यो देखेपछि उनको मन साह्रै दुख्यो र त्यो बाल मस्तिष्कले एक प्रण गर्‍यो कि त्यस विरुद्धको खोप पत्ता लगाउने । उनले यो कुरा आफ्ना बुवा जिन जोसेफ पाश्चरसँग भने ।

बुवा निकै सकारात्मक र छोराले केही गरोस् भन्ने सोचका थिए । बुवाले भने, ‘त्यसका लागि तिमी राम्रोसँग पढ । म जत्ति पनि खर्च गर्न तयार छु ।’

त्यसपछि पाश्चर मेहनत गरेर पढ्न थाले । जबकि त्यसअघिसम्म सुस्त मनस्थिति भनेर स्कुलमा साथी र शिक्षकहरुबाट उनी अपहेलित थिए । पछि विश्वविद्यालयमा रसायनशास्त्र पढ्न पनि उनका बुवाले सम्झाएर, निकै धेरै ऋण खोजेर पठाएका थिए ।

हो, तिनै पीडा, साधना र सफलताका त्रिवेणी लुई पाश्चरको मृत्युपर्यन्त उनलाई भेट्न विशेष आग्रह गरेर विशेष विमान चढेर हामी उनको यो विशाल प्रयोगशालामा पुगेका छौं ।

***

मयता फ्ल्यासब्याकमा हराउँदै गर्दा उता कुराकानी छुटिसकेछ । बुढा भन्दै रहेछन्, ‘बुझ्यौ अरुण ! त्यतिबेला विश्वको जबसंख्या एक अर्ब पचास करोड थियो । तीमध्ये करिब एक करोड व्यक्तिलाई हरेक वर्ष कुनै न कुनै जंगली जनावरले टोक्थे । कल्पना गर त, तीमध्ये कतिले रेबिजकै कारण ज्यान गुमाउँथे होलान् ?

हामी दुवै मौन छौं ।

‘मैले जब दिनरात मेहनत गरेर रेबिज विरुद्धको खोप पत्ता लगाएँ ।’ बुढा अझै फ्ल्यासब्याकमा छन् । हामी पनि उत्साहित छौं, ‘तब एक कुकुरमा परीक्षण गरें र सफल भएँ । अब चुनौती थियो मान्छेमा प्रयोग गर्ने ।

त्यसै समय एक महिला मकहाँ आइन् । जसको सानो छोरालाई दुई दिनअघि एक बहुला कुकुरले टोकेको थियो । परीक्षण गर्दा पत्ता लाग्यो कि, बालकको शरीरमा रेबिजका जीवाणु प्रवेश गरेका छन् । अब म धर्मसंकटमा परें ।

प्रयोग गरौं त यदि मेरो खोपले काम गरेन र बच्चाको मृत्यु भयो भने मेरो आजसम्मको सम्पूर्ण साधना र जीवन नै बर्बाद हुन्छ । सायद म जेल जान्छु । फेरि प्रयोग नगरौं त आफ्नै अगाडि अब केही दिनमै बच्चाको दुःखद् मृत्यु देख्नुपर्छ ।

त्यसअघिसम्म त्यस्ता रेबिज लाग्न सक्ने स्याल, कुकुर, बाँदर, हुँडार आदिले टोकेमा फलाम तताएर डाम्ने चलन थियो । तर त्यो अनिश्चित थियो र पीडादायी पनि । अन्तत: मैले बच्चामा प्रयोग गर्ने निर्णय गरें । लगातार २१ दिनसम्म बच्चालाई नियमित खोप दिएँ । अनि उसको शरीरबाट रेबिजका जीवाणु नष्ट भए । म सफल भएँ । अनि संसारको हाइहाइ भएँ । पछि त नोबेल पुरस्कार नै पाएँ ।’

यो निकै चाखलाग्दो कहानी सुनेपछि म केही सोध्न खोज्दै थिएँ, फोनको घण्टी बज्छ ।

पाश्चर नम्बर हेर्दै भन्छन्, ‘ए आइन्स्टाइनको फोन रैछ, एकैछिन है ।’

उनी ह्याण्ड्स फ्री गरेर बोल्न थाल्छन् ।

‘हलो पाश्चर दाइ, के गर्दै हुनुहुन्छ ? आज तास नखेल्ने ?’

‘आज नखेल्ने भाइ’ पाश्चर थप बोल्छन्,  ‘यहाँ पृथ्वीको नेपालबाट दुईजना भाइहरु मलाई भेट्न आएका छन् । आज तास खेल्ने समय म यिनलाई दिन्छु । यिनले निकै मेहनत गरेर ठूलै आशा लिएर आएका छन् मैले निराश बनाउनुहुन्न । अनि को को जम्मा भयौ त ?’

‘उही त हो, ग्यालिलियो, एडिसन, न्यूटन र म छौं ।’

‘अनि आज लाउके आएको छैन ?’

‘छैन खै आउँदै होला ।’

‘ल ल भाइ आजलाई सरी । भोलि खेलौंला ।’

‘ल दाइ ।’

फोन राखेपछि हामी आश्चर्यमा डुब्छौं । अनि म सोधिहाल्छु, ‘स्वर्गमा पनि वैज्ञानिकहरु जम्मा भएर तास खेल्नुहुन्छ ?’

‘अँ खेल्छौं त’ पाश्चर सहज उत्तर दिन्छन् ।

‘कहिलेकाहीं हामी चित्रगुप्त र यमराजलाई पनि खेलाउछौं ।’

खुबै रमाइला लाग्छन् यी सबै कुराहरु ।

लाउके अर्थात् आफू नखेल्ने तर कुनै एक खेलाडीलाई सिकाउने व्यक्ति । मलाई खुल्दुली हुन्छ,  यहाँ लाउके चाहिं को रैछ ?

‘यहाँ पनि लाउके छन् ?’

‘छन् एक जना भाइ । स्टेफन हकिङस क्या । अस्ति भर्खरै मात्रै आएका । शारीरिक अशक्तताका कारण खेल्न उनलाई गाह्रो छ । त्यसैले कसैको छेउमा बसेर हेर्छन् र कहिलेकाहीं सिकाउँछन् । खतरा छन् ती भाइ ।’

त्यत्रो महान् वैज्ञानिकलाई हेपेर बोलेको मलाई मन परेन । तर चुप लागें । डाक्टर पनि मसँगै चकित छन् ।

‘स्वर्गमा पनि तास खेल्ने त अनौठो कुरा सुनियो हगि ?’

‘ल खेलिहालिन्छ नि ।’  पाश्चर थप्छन् ‘मनोरञ्जन भन्ने कुरा त सबैलाई चाहियो नि भाइ । अब यहाँ रक्सी पिउने हामीलाई फुर्सद छैन । सम्भोगतिर यो उमेरमा खासै रुचि लाग्दैन । मनोरञ्जन कसरी गर्ने त ? त्यसैले दिनको एक घण्टा हामी वैज्ञानिकहरु मिलेर तास खेल्छौं । कहिलेकाहीं रहर गर्छन् अनि ती पाण्डवलाई पनि सँगै खेलाउँछौं । कौरवलाई चाहिं खेलाउँदैनौं, भर लाग्दैन ।’

‘अनि पाश्चर’ डाक्टर सुरु गर्छन्, ‘तपाईंले त्यस्ता महत्वपूर्ण खोज, आविष्कार गर्नुभो । हेर्नुस न, क्यान्सर पृथ्वीमा निकै धेरै फैलिंदैछ । तर क्यान्सर विरुद्धको जम्मा दुईवटा मात्रै खोप बनेका छन् । एउटा फोक्सोमा लाग्ने क्यान्सरको, अर्को पाठेघरमा हुने क्यान्सरको । त्यो पनि संसारका सबै ठाउँमा पुगेको छैन । यस विरुद्धको पनि पूर्ण खोप बनाएर कुनै पनि क्यान्सर नलाग्ने बनाउन सकिंदैन ? आज हामी खास त्यो अपेक्षा गरेर आएका ।’

‘तिम्रो कुरा ठीक हो । बुढा केही गम्भीर बन्छन्, ‘पृथ्वीमा क्यान्सर निकै धेरै फैलिएको छ र यो संख्या थुप्रै बढ्ने निश्चित छ । यस विरुद्धको पूर्ण खोप बनाउन पाए निकै राम्रो हुन्थ्यो । तर हेर, मेरा यति धेरै काम छन् कि, त्यतातिर मैले काम गर्ने समय नै पाएको छैन । म अहिले क्यान्सर भन्दा पनि खतरा मान्छेको दिमागमा लाग्ने एक रोगको विरुद्धको खोप पत्ता लगाउने प्रयासमा छु । करिब ३० वर्षदेखि म यही एउटा अनुसन्धानमा छु । तर पनि सफल हुन सकेको छैन ।’

‘बाफ रे ! कुन रोग हो त्यस्तो ?’

डाक्टरको प्रश्नपछि पाश्चर भन्छन्, ‘एक कीरा छ, जसले संसारका मानिसको दिमागमा बिस्तारै असर गर्छ । हेर्दा पैसाको जस्तो आकार हुने यो कीरा अहिले सिंगै संसारको साझा समस्या हो । जसलाई पृथ्वीका मान्छेले देख्न सक्दैनन्, मैले मात्र देखेको छु । तिम्रो देशका धेरैजसो नेताको गिदीमा त्यही कीरा परेको छ ।’

केहीबेर हाम्रो आश्चर्यचकितप्रश्न उत्तर चलिरहन्छ । धेरै अनुसन्धान गर्दा गर्दा पाश्चर बुढाको दिमागले काम नगरेको हो कि भनेर हामी शंका पनि गर्छौं । तर उनी निर्धक्क छन् ।

‘संसारमा जति पनि गरिबी, आतंक, भ्रष्टाचार, अन्याय फैलिएको छ, त्यसको जड नै त्यही रोग हो । त्यो रोगको नाम छोटकरीमा सोम्पो हो । जसको पूरा अर्थ ‘सिक अफ मनी एण्ड पावर’ हो । जब कुनै व्यक्ति, विशेषगरी नेता शक्तिमा पुग्छ, तब उनलाई पैसा आकारको एक कीराले सिधै गिदीमा आक्रमण गर्छ । अनि घमण्ड गर्ने, लोभी हुने, भ्रष्टचार गर्ने, व्यक्तिगत स्वार्थ हेर्ने, अरुलाई दुःख दिने, झगडा र युद्ध निम्त्याउने आदि गर्छन् । यो कीराले गिदीमा आक्रमण गरेपछि प्रेम, आत्मीयता, सकारात्मक सोच सबैलाई नष्ट पारिदिन्छ । सोझै नदेखिने हुनाले पृथ्वीका ज्यूँदा वैज्ञानिकले यसबारेमा सोचेका छैनन् । तर कुनै न कुनै रुपमा संसारभरका अधिकांश नेताको गिदीमा त्यो कीराले ठूलो घर बनाएको छ । त्यसैले यी युद्ध, अपराध, भ्रष्टचार र आतंक भएका छन् ।

‘अचम्मको कुरा चाहिं त्यो कीराले राजनीति गर्ने मान्छेलाई मात्रै किन आक्रमण गर्छ ?’  मेरो प्रश्न ।

‘आक्रमण सबैलाई गर्छ ।’ पाश्चरको सहज उत्तर, ‘तर शक्तिमा नपुगुन्जेल त्यो कीरा सक्रिय हुँदैन । जब त्यस रोगद्वारा संक्रमित मान्छे शक्तिमा पुग्छ या पैसा कमाउँछ, अनि त्यो कीरा सल्बलाउन थाल्छ । त्यसले खाली विध्वंस, खराब आदि मात्रै गर्न लगाउँछ । राम्रो बाटोमा हिंड्नै दिंदैन । यदि अपवादको रुपमा कसैको दिमागमा त्यसको आक्रमण छैन र सत्यकर्म गर्न खोज्यो भने संक्रमित दिमागले त्यसलाई सिध्याइदिन्छ ।

कुराकानी निकै गम्भीर मोडमा आइपुगेको छ । बुढा पनि गम्भीर छन् । ‘यदि अझै केही दशक यस विरुद्धको भ्याक्सिन र औषधि पत्ता लगाउन सकिएन भने मान्छेहरु एकापसमा जुधेरै सकिनेछन् र त्यो सुन्दर पृथ्वी नर्क बन्नेछ ।’

‘भ्याक्सिन वा औषधि’ बोल्ने पालो मेरो, ‘निर्माण भएपछि पनि पृथ्वीभरिका मान्छेलाई कसरी लगाउने ? कसरी पठाउने ? फेरि त्यो लगाउन मान्छ त मान्छेले ?’

‘त्यो मेरो लागि सामान्य कुरा हो ।’ बुढामा आत्मविश्वास दह्रो छ, ‘सिधै सूर्यको  प्रकाशमार्फत संसारभरिका मान्छेले २४ घण्टाभित्र त्यो उपचार थाहै नपाई पाउने व्यवस्था मैले मिलाएको छु । मात्रै मुख्य चीज बन्नु पर्‍यो ।’

‘त्यो कीरा र रोगको प्रकृति हेर्दा त’ डाक्टर अलि अलग धारमा पुग्छन्, ‘अध्यात्मसँग पनि जोडिए जस्तो छ । त्यसमा सोच्नु भएन ?’

‘तिमीले भनेको ठीक हो’ पाश्चर यो कुरामा सचेत रैछन्, ‘हुन त हामी भौतिकवादीहरु अध्यात्ममा त्यति विश्वास गर्दैनौ । तर पत्ता लगाउन साह्रै गाह्रो भएपछि मैले सुप्रिमोसँग यसबारेमा छलफल गरेको छु । हामी निरन्तर बहसमै छौ । हेरौं केही भइहाल्छ कि !’

‘सुप्रिमो भनेको चाहिं के हो ?’

मेरो प्रश्न झर्न नपाउँदै उत्तर पनि आइहाल्छ, ‘सुप्रिमो भनेको यो संसार चलाउने एक अलौकिक शक्ति, जुन अदृश्य छ, तर छ । पृथ्वीमा कसैले जिसस, कसैले अल्लाह, कसैले ईश्वर जेजे भने पनि सबै वास्तवमा एउटै हुन् । जसले यो बम्हाण्ड चलाउँछन् । पृथ्वीको यो समस्यासँग उनी पनि चिन्तित छन् र मसँग निरन्तर संवादमा छन् ।’

‘अनि तपाईंले’ म प्रसंगको फाइदा उठाउँछु, ‘निधारमा रातो टीका चाहिं किन लगाउनु भाको नि ? तपाईं त पृथ्वीमा हुँदा क्रिश्चियन धर्म मान्नुहुन्थ्यो नि, हैन ?’

‘यसमा गम्भीर कुरा छ,’ पाश्चर निरन्तर बोल्दै जान्छन्, ‘हो, म पृथ्वीमा हुँदा क्रिश्चियन धर्म मान्थें र हामी यस्तो रातो टीका लगाउँदैनथ्यौं । हिन्दू धर्म मान्नेले मात्रै लगाउँथे । तर जब यहाँ आएँ, तब मैले अघि भनें नि यी सबै धर्महरु भ्रम हुन् । संसार चलाउने सुप्रिमो नै एक मात्र अदृश्य शक्ति अर्थात् भगवान् हुन् । र, यो अबिरको रातो टीकामा धेरै वैज्ञानिक शक्ति छ । यसले शरीरलाई ऊर्जावान् र मनलाई शान्त बनाउँछ । त्यसैले लगाउँछु ।’

‘त्यो सोम्पो विरुद्धको भ्याक्सिन पृथ्वीमा नै पत्ता लगाउन चाहिं सम्भव छैन ?’ डाक्टर अरुण महत्वाकांक्षी छन् । फेरि विषयमा फर्किन्छन् ।

‘तत्काल छैन’ पाश्चर सिधै उत्तर दिन्छन्, ‘एक त यो देखिने रोग हैन, अर्को यो रोग हो भन्ने कुरा पृथ्वीका वैज्ञानिकलाई थाहा नै छैन । फेरि बनाउन खोजे पनि नीति निर्माण गर्ने व्यक्तिहरु स्वयं प्रायः ती कीरा र रोगबाट ग्रसित हुनाले बनाउन दिंदैनन् । त्यो रोगको प्रकृति नै त्यही हो कि विकास, निर्माण र सद्भावमा मन लाग्नै दिंदैन र अरुलाई कसरी बिगार्ने भन्ने कुरामै उनीहरुको सारा जीवन खर्च हुन्छ । मैले अघि पनि भनें नि, यो कीराले गिदीमा आक्रमण गरेपछि प्रेम, आत्मीयता, सकारात्मक सोच सबैलाई नष्ट पारिदिन्छ ।’

कुराकानी गर्दै पाश्चर गएर एउटा ठूलो फ्रिज खोल्छन् । जहाँ हजारौं गिदीहरु संग्रह गरिएको छ । उनका अनुसार त्यहाँ संसारभरिका हिंस्रक, क्रूर र नकारात्मक मान्छेका गिदीजम्मा पारेर उनले अनुसन्धान गरिरहेका छन् । यी गिदीमा उनकै भाषाको ‘सोम्पो’का कीरा छन् ।

‘त्यसको तल्काल उपचार के त ?’

मेरो प्रश्नमा पाश्चर सोचमग्न हुन्छन् । अनि अस्पष्ट उत्तर दिन्छन्, ‘खासै केही छैन । कुनै शक्तिवानले रोगको लक्षण देखाउन थालेमा नागरिकले खबरदारी गर्ने र असर कम गराउने । अरु उपाय केही छैन ।’

अब हामी कुराकानीको बिट मार्न खोज्छौं । बिदा हुने क्रम सुरु गर्दैगर्दा पाश्चरकी श्रीमती मेरी पाश्चर बाहिर झ्यालमा देखिन्छिन् । जीवनमा हरेक क्षण दु:ख र पीडा मात्रै साक्षात्कार गरेर मानासिक सन्तुलन गुमाएकी मेरी साँच्चै मायालाग्दी देखिन्छिन् । श्रीमतीलाई भन्दा संसारका अरु मान्छेको जीवनलाई प्राथामिकतामा राखेर योगदान दिएका लुई श्रीमतीको त्यो अवस्थाबाट दुःखी भएको हामी पनि महसुस गर्छौं । हामीसँग हतारहतार बिदा मागेर उनी मेरीतर्फ जान्छन् र अंगालो मार्दै बेडरुमतिर लिएर जान्छन् ।

संसारलाई बचाउने महान् वैज्ञानिकको आफ्नी श्रीमतीप्रतिको त्यो प्रेम अनौठो प्रतीत हुन्छ । लाग्छ, प्रेम भन्ने कुरा ब्रम्हाण्डको जुनसुकै कुनामा पनि कुनै न कुनै रुपमा बाँचिरहेको हुने रहेछ । हामी बाहिर निस्कन्छौं । पृथ्वी आउँदा बाटोभरि पनि उनकै कुरा गर्छौं ।

पाश्चरको एउटा वाक्यले घनले झैं हामी दुवैको टाउकोमा निरन्तर हानिरहन्छ-  ‘तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?