+
+

जब बुद्धिचाल खेलमा रोबोटले बालकको औँला भाँचिदियो…

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १२:२७

काठमाडौं । कम्प्युटरमा चेस अर्थात् बुद्धिचाल धेरैजना खेल्नुभएकै छ होला । तर यदि तपाईंले बुद्धिचाल खेलिरहेको बेला कम्प्युटरलाई कुनै कुरा चित्त बुझेन र खेल भावना नै खतरामा पर्यो भने के होला ?

वास्तवमा हालै रुसको राजधानी मस्कोमा भएको मस्को चेस ओपन प्रतियोगिताका क्रममा एउटा घटना भएको छ ।

स्थानीय मिडिया रिपोर्ट अनुसार चेस खेलका क्रममा एकातर्फ ७ वर्षका एक बालक खेलिरहेका थिए भने उनको प्रतिस्पर्धीको रुपमा अर्कोतर्फ एउटा रोबोट थियो । मस्को चेस फाउन्डेसनका अध्यक्ष सर्गेइ लाजारेभका अनुसार खेलका क्रममा रोबोटले ती बाल खेलाडीको औँला नै भाँचिदिएको छ ।

सोसल मिडियामा समेत उक्त घटनाको भिडियो भाइरल बनेको छ । भिडियोमा देख्न सकिन्छ कि रोबोटले आफ्नो चाल चल्नका लागि एक गोटी उठाउँछ । त्यसपछि बाल खेलाडीले पनि आफ्नो चाल चल्नका लागि आफ्नो हात अगाडि मात्र के बढाएका थिए रोबोटले उनको औँला पक्रिन्छ ।

रोबोटको आक्रमणबाट ती बालकलाई बचाउनका लागि त्यहाँ उपस्थित चारजना मानिसहरु अघि सर्नु परेको थियो । अन्ततः उनीहरुले बालकलाई रोबोटबाट छुटाउन सफल भए, तर ती बालकको औँलामा चोट लाग्यो ।

सर्गेइ लाजारेभका अनुसार बालकले आफ्नो चाल चलिसकेपछि रोबोटलाई उसको चाल चल्न केही समय दिएर धैर्य गर्नुको साटो हतार गरेर फेरि आफ्नो चाल चल्न खोज्दा रोबोटले उनको औँला पक्रिएको हो ।

उनका अनुसार उक्त रोबोटले यसअघि पनि कैयन् स्पर्धाहरुमा सहभागिता जनाइसकेको छ, तर यस्तो घटना पहिलोपटक भएको हो ।

सो रोबोटलाई मस्को बुद्धिचाल महासंघले भाडामा लिएको र यसअघि बुद्धिचालका धेरैजना च्याम्पियनहरुसँग उसले खेलिसकेको लाभारेज बताउँछन् ।

जुलाई १३ देखि २१ सम्म मस्कोमा भएको मस्को चेस ओपन नामक अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उक्त घटना भएको हो ।

रोबोटले गरेको आक्रमणका घटनाप्रति आफूहरु जिम्मेवार नरहेको पनि उनले दाबी गरेका छन् ।

उता रोबोटको आक्रमणबाट घाइते भएका बालकले भोलिपल्ट पुनः प्रतियोगितामा भाग लिए ।

उक्त घटनाप्रति सोसल मिडियामा विभिन्न खालका प्रतिक्रिया आएका छन् । एकजनाले भनेका छन् : यो रोबोटलाई पनि पुटिनलाई जस्तै प्रोग्राम गरिएको जस्तो लाग्दछ । पहिलो विरोधीहरुको औँला भाँचिदेऊ, त्यसपछि बच्चालाई नै जिम्मेवार ठहराइदेऊ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?