+
+
कोरोना महामारीको चौथो लहर :

साउनयता कोरोनाबाट १५ जनाको मृत्यु, खोप नलाएका ११ जना

१ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १० जनाले कोरोना भाइरसविरुद्धको खोप नलगाएको पाइएको छ । खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएकाहरुको मृत्यु भएको हो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ साउन १५ गते १९:२९

१५ साउन, काठमाडौं । आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५औं व्यक्तिको मृत्यु हो । कोरोना महामारीको चौथो लहरसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् । खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नु परेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्’, उनले अनलाइनखबरसँग भने, ‘साउनयता मृत्यु भएका अधिकांश मानिसले खोप लगाएका छैनन् ।’

८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् । अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ । ‘कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । खोप नलगाएका मानिसलाई कोरोना संक्रमणले बढी जटिलता ल्याएको र मृत्युदर उच्च भएको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी ओमिक्रोन (बी.फाइभ)बाट संक्रमित व्यक्तिलाई पनि खोपले मृत्युबाट जोगाउने बताउँछन् । ‘खोप लगाएका मानिसमा अस्पताल भर्ना हुनुपर्ने, अक्सिजन, भेन्टिलेटर चाहिने वा मृत्यु हुने सम्भावना धेरै कम हुन्छ,’ डा. अधिकारी भन्छन्, ‘खोपले नै संक्रमण हुनबाट बचाउन नसक्ला, तर संक्रमण भइहाले गम्भीरताबाट धेरै हदसम्म बचाउँछ ।’

कोरोना नयाँ–नयाँ स्वरुप परिवर्तन हुँदा पहिला बनेका खोपको प्रभावकारिता कम हुदै गएको भन्दै डा. अधिकारी संक्रमणबाट जोगिन खोप लगाए पनि मास्क लगाउने, हात सफा गर्ने वा भौतिक दूरी कायम गर्न सुझाव दिन्छन् । कोरोना मानव समुदायमा रहने देखिएको भन्दै उनले भने, ‘नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनैपर्छ ।’

अस्पताल भर्ना हुने अधिकांश दीर्घरोगी

कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा दुई हप्ताअघि कोरोना बिरामी शून्यमा झरेको थियो । हाल अस्पतालमा ३३ जना बिरामी भर्ना भएका छन्, जसमध्ये जनरल बेडमा १४, एचडीयूमा ७, आईसीयूमा १० र भेन्टिलेटरमा दुई जना उपचाररत छन् । चिकित्सकहरुका अनुसार संक्रमण समुदाय स्तरमा फैलिसकेकाले भर्ना हुने दर बढिरहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार १५ साउनमा देशभरका अस्पतालमा उपचाररत १४३ संक्रमितमध्ये ३३ जना आईसीयू र पाँचजना भेन्टिलेटरमा छन् । जसमध्ये २९ जना काठमाडौंका अस्पतालहरुमा छन् । ओमिक्रोन भेरियन्टले दीर्घरोगीलाई बढी समस्या भएको युनिफाइड केन्द्रीय अस्पतालका कोभिड– कोअर्डिनेटर डा. उमेश बोगटी बताउँछन् । ‘कोरोना संक्रमितको अस्पतालमा हुने चाप बढिरहेको छ ।

समुदायमा संक्रमण फैलिसकेकाले अबको दुईहप्ता अस्पतालमा भर्ना हुने चाप बढ्ने देखिन्छ,’ डा. बोगटीले भने, ‘अहिले दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलाएकालाई बढी गम्भीर बनाएको छ ।’

दम, क्यान्सर, मिर्गौला र कलेजोसम्बन्धी रोग भएका बिरामीलाई र खोप नलाएका मानिसलाई आईसीयूमा उपचार गर्नुपरेको चिकित्सकहरुले बताएका छन् । ‘कतिपय जटिल भएपछि अस्पताल आइपुग्छन् । कतिपय युवाले पनि खोप लगाएका छैनन् । जसलाई बचाउन एकदमै कठिन भएको छ’, डा. बोगटी भन्छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि चौथो लहर सुरुवातमा रहेकाले आगामी दिनमा संक्रमण अझ बढ्ने स्वीकार गर्छन् । ‘महामारीको हिसाबले हेर्दा संक्रमण उच्च भएको दुईदेखि तीन हप्तापछि अस्पतालमा भर्ना बढ्ने र मृत्यु हुने देखिन्छ,’ सहायक प्रवक्ता डा. अधिकारीले भने, ‘अझै हामी उच्च अवस्थामा पुगिसकेका छैनौं । त्यसैले अस्पतालमा चापसँगै मृत्युदर आगामी दिनमा अझै बढ्छ ।’

चिकित्सकका अनुसार कोरोना संक्रमण बढ्न थालेको एकदेखि दुई हप्तापछि बिरामीको संख्या बढ्न सक्छ । अर्थात, आजभोलि अस्पताल भर्ना भएका बिरामी संख्या एक–दुई हप्ता अघि संक्रमित भएकाहरु हुन् ।

त्रिवि शिक्षण अस्पतालका कोरोना फोर्कल पर्सन डा. निरज बम पूर्ण खोप लिएका, सामान्य स्वास्थ्य अवस्था भएका वा दीर्घकालीन रोग भए पनि नियमित औषधि सेवन गरिरहेकामा संक्रमणले जटिलता नल्याएको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको लहर बढी संक्रामक र कम घातक जस्तो देखिएको छ । भर्ना हुने धेरैजस्तो दीर्घरोगी बिरामी छन् । तर, खोप लगाएको मानिसमा पहिलाको लहरमा जस्तो अक्सिजनको आवश्यकता परेको छैन ।’

मृत्यु हुनेमा ६० देखि ६९ उमेर समूहका बढी

नेपालमा पहिलोपटक ९ माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । १ जेठ २०७७ मा नेपालमा कोरोना भाइरसले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षकी सुत्केरीको पहिलो ज्यान लिएको थियो । हालसम्म आइपुग्दा ११ हजार ९६६ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिले कोरोनाको चौथो लहरको सुरुवात भइरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पहिलो लहर २०७६ चैतदेखि २०७७ मंसिरसम्म चलेको थियो । त्यसैगरी, दोस्रो लहर २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म चलेको थियो ।

हालसम्म ११ लाख २९ हजार २२९ संक्रमित भइसकेका छन् । हालसम्म सबैभन्दा बढी ६० देखि ६९ बर्षसम्मका मानिसको बढी मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार उक्त उमेर समूहका दुई हजार ५०७ मृत्यु भएको छ ।

त्यसैगरी, ७० देखि ७९ उमेरसमूहका दुई हजार ३८८, ५० देखि ५९ बर्षका दुई हजार ३०१, ८० बर्षभन्दा माथिका एक हजार ६३९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै, ४० देखि ४९ बर्षसम्मका एक हजार ६६५, ३० देखि ३९ उमेर समूहका ९६५, २० देखि २९ बर्षका ३८०, १० देखि १९ बर्षका ५७, ९ बर्षमुनिका ५१ बालबालिकाको मृत्यु भएको छ । १३ जनाको भने उमेर समूह खुलेको छैन ।

चौथो लहरको प्रक्षेपण गर्दै सरकार

चौथो लहरको सुरुवात भइसकेकाले मन्त्रालयले यस बिषयमा ‘र्‍यापिड एक्सन प्लान’ तयार गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । संक्रमण बढ्दै गएपछि आगामी तीन महिनाको सम्भावित संक्रमितको अनुमान गरेर त्यसलाई व्यवस्थापन गर्न कार्ययोजनाको अन्तिम तयारी भइरहेको ईडीसीडी प्रमुख डा. चुमनलाल दासले बताए ।

जनस्वास्थ्यका विज्ञहरु दोस्रो लहरमा धेरै मानिसले व्यवस्थापकीय कमजोरीका कारण ज्यान गुमाउनुपरेको भन्दै अक्सिजन तथा बेडहरु तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिन्छन् । तर, सरकारी अधिकारी गएको दुई वर्षमा सघन उपचारका लागि उल्लेख्य मात्रामा पूर्वाधार विकास गरिएको बताउँछन् । अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक, तर डेल्टा जस्तो घातक नभएकाले अहिले भएका पूर्वाधारले धान्नसक्ने ईडीसीडीका निर्देशक डा. दास बताउँछन् ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर आठ हजार २०२ आइसोलेसन बेड, तीन हजार ८४६ एचडीयू, दुई हजार ७९७ आईसीयू र एक हजार आठ भेन्टिलेटर छन् । त्यसैगरी, १८ हजार २९९ अक्सिजन सिलिन्डिर, ६१३ अक्सिजन कन्सन्ट्रेटर र १३२ अक्सिजन प्लान्ट छ ।

त्यसैगरी, मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोभिड–१९ बढेकाले तयारी अवस्थामा बस्न अस्पताल तथा ल्याबहरूलाई निर्देशन दिएको छ । ‘कोरोना बढेसँगै तयारी अवस्थामा बस्न अस्पतालहरूलाई निर्देशन दिएका छौं । सीमा नाकामा निगरानी र परीक्षण बढाउन सर्कुलर गरेका छौं,’ डा. दासले भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?