+
+

विद्यार्थी कहिल्यै फेल हुँदैनन्, बरु शिक्षक र सिकाइ विधि फेल हुन्छन्

डा. कटक मल्ल डा. कटक मल्ल
२०७९ साउन १६ गते १४:१८

लौ बर्बाद भयो, विद्यार्थी फेल भए ।

यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल हो । सबैभन्दा ठूलो भ्रम हो । सबैभन्दा ठूलो लाचारी हो ।

खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको सही समाधान निकाल्न सक्दैन ? यसको समीक्षा हुनुपर्छ ।

तर हाम्रो शिक्षामा यसबारे न विमर्श हुन्छ, न समीक्षा नै । बरु असफलताको सम्पूर्ण दोष विद्यार्थीको थाप्लोमा थोपर्ने प्रवृत्ति छ । अनि हामी आफ्नो कमजोरी ढाकछोप गरेर विद्यार्थीलाई भनिरहेका हुन्छौं, ‘तिमी कमजोर छौं । तिमी फेलर हौ ।’

सबै विद्यार्थी एकसमान हुँदैनन् । कुनै पनि कुरा सुन्ने, बुझ्ने र ग्रहण गर्ने क्षमता एकनास हुदैन । तर हामी कक्षाकोठामा सबैलाई एकै ढर्राले पाठ पढाउँछौं । हामीले पढाएको पाठ उनीहरुले कसरी बुझे, कति बुझे ? यही कुरा जान्न परीक्षा लिइन्छ । परीक्षाको नतिजालाई हेरेर हामीले विद्यार्थीको वर्गीकरण गरिदिन्छौं, फलानो जान्ने, फलानो औसत अनि फलानो कमजोर ।

स्वीडेनमा यस्तो भनिदैन । यहाँ एउटा बच्चा ‘फेल’ हुनु भनेको सिकाइ पद्धतिको त्रुटि मानिन्छ ।

कुनै विद्यार्थीले प्रश्नको सही हल खोज्न सकेनन् । यसलाई विद्यार्थीको कमजोरी भनेर औंल्याउने गरिंदैन । बरु सिकाइ विधिमाथि प्रश्न उठाइन्छ ।

शिक्षक र शिक्षा पद्धतिको परीक्षा

म यहीँ बसेका र मेरा बालबच्चा यहीँ पढेका कारण मैले स्वीडेनको शिक्षा पद्धतिलाई नजिकबाट नियाल्ने मौका पाएँ । यहाँको शिक्षा विश्वमै आदर्श मानिन्छ । स्वीडेनको शिक्षा कसरी उन्नत, अनुकरणीय र आदर्श भए ? यसको खास तौरतरिका छन् ।

परीक्षालाई कर्मकाण्डको रुपमा मात्र लिइँदैन । परीक्षाको लागि प्रश्नपत्र तयार गर्ने काम नै तीन वर्ष अघिदेखि सुरु हुन्छ ।

नेपालमा जस्तो यहाँ वर्षैपिच्छे परीक्षा हुँदैन । हरेक तीन वर्षमा विद्यार्थीको परीक्षा लिइन्छ । तर यो परीक्षाले विद्यार्थीको वौद्धिक क्षमता मात्र जाँच गर्दैन । यसले त शिक्षक, सिकाइ विधि र सम्पूर्ण शिक्षा प्रणालीकै जाँच लिन्छ ।

जस्तो, शिक्षकले एकदमै मिहिन तरिकाले परीक्षार्थीको उत्तरपुस्तिका जाँच गर्नुपर्ने हुन्छ । कुनै प्रश्नको उत्तर सही ढंगले हल भएको छैन भने त्यसो किन भयो ? शिक्षकले विश्लेषणात्मक टिप्पणी लेख्नुपर्ने हुन्छ । सरसर्ती एकसरो हेरेर कर्मकाण्ड पूरा गर्ने छुट हुँदैन ।

मानौं कुनै विद्यार्थीले प्रश्नको सही हल खोज्न सकेनन् । यसलाई विद्यार्थीको कमजोरी भनेर औंल्याउने गरिंदैन । बरु सिकाइ विधिमाथि प्रश्न उठाइन्छ ।

किन उनलाई बुझ्ने ढंगले सिकाउन सकेनौं ? यसबारे विमर्श हुन्छ । विश्लेषण हुन्छ । यसैबाट एउटा ठोस निष्कर्ष निकालिन्छ र सिकाइ विधिमा परिमार्जन गरिन्छ । यसरी स्वीडेनको शिक्षाले आफ्नो कमी कजोरीलाई निरन्तर सच्याउने गर्छ । फलतः यहाँको शिक्षा प्रणालीले सरल र सहज सिकाइका विधि पहिल्याउने गर्छ ।

यस किसिमको शिक्षा प्रणालीले बच्चालाई डर, तनाव, ग्लानिबाट मुक्त राख्छ र उत्साह, उत्सुकता लिएर विद्यालय जाने वातावरण बनाइदिन्छ । बच्चाहरु कक्षाकोठामा प्रवेश गरिरहँदा उनीहरुसँग उत्तर होइन, प्रश्न हुनुपर्छ ।

प्रतिस्पर्धा होइन, सहकार्य गर्न सिकाइने

नेपालको शिक्षाले विद्यार्थीलाई यस्तो प्रतिस्पर्धात्मक दौडमा सामेल गराउँछ, जहाँ विद्यार्थी तँछाडमछाड गर्दै नतिजाका लागि दौडिने गर्छन् । परीक्षामा कसरी पास हुने ? कसरी उच्च अंक ल्याउने भनेर त्यसै अनुरुप पाठ घोक्न लगाइन्छ । उनले पढेका पाठ कसरी बुझ्यो ? त्यो उनले व्यावहारिक जीवनमा कति प्रयोग गर्‍यो ? त्यसले उनको जीवनलाई के फरक पार्‍यो ? यसतर्फ ख्याल गरिंदैन ।

तर स्वीडेनमा बच्चालाई प्रतिस्पर्धा गर्न भन्दा पनि सहकार्य गर्न सिकाइन्छ । कसरी एकअर्कासँग हातेमालो गरेर अगाडि बढ्न प्रेरित गरिन्छ । यस किसिमको भावना र सहकार्यको प्रवृत्ति विकास भएमा उनीहरुले व्यावहारिक जीवनलाई सहज र सुन्दर बनाउँछ भन्ने हो ।

निःशुल्क शिक्षा, उत्तरदायी राज्य

यस किसिमको शिक्षा प्रणाली हुनुमा यहाँको उत्तरदायी राज्य व्यवस्था पनि हो । राज्यले यस देशमा जन्मिने हरेक बच्चालाई आफ्नो सम्पत्ति मान्छ । त्यसैले शिशु जन्मिनासाथ कर कार्यालयमा दर्ता गरिन्छ । यी शिशुका लागि सरकारले बजेटमै आफ्नो खर्च छुट्याउने गर्छ ।

नेपालमा जस्तो यहाँको संविधानले ‘सबैको लागि शिक्षा’ भन्दैन । तर सबैका लागि सहज र निःशुल्क शिक्षाको व्यवस्था गरिदिएको छ ।

स्वीडेनमा पठनपाठनका लागि अभिभावकले कुनै खर्च गर्नुपर्दैन, सबैकुरा राज्यले व्यहोर्छ । पूर्व प्राथमिकदेखि स्नातकोत्तर गर्दासम्म विद्यार्थीले शुल्क तिर्नुपर्दैन । त्यति मात्र होइन, खाजा–नास्ताको व्यवस्था सरकारले नै गर्छ । सन्तुलित, पोषणयुक्त र ताजा खाना–नास्ता हुने भएकाले अभिभावकले कुनै चिन्ता लिनुपर्दैन । यहाँ विद्यार्थीले युनिफर्म लगाउनु पनि लगाउनुपर्दैन ।

यहाँ ६ वर्ष पुगेपछि मात्र बच्चालाई विद्यालयमा हाजिर गरिन्छ । यदि आमाबुवा व्यस्त छन् भने बच्चालाई प्रि–स्कुलमा राख्न सकिन्छ । प्रि–स्कुलमा बच्चा राख्दा निश्चित शुल्क तिर्नुपर्छ । यदि आमाबुवा धेरै आयआर्जन गर्ने छन् भने शुल्क पनि धेरै तिर्नुपर्ने व्यवस्था गरिएको हुन्छ ।

कतिपयको आयआर्जन कम भए उनीहरुलाई शुल्क छुट पनि गरिन्छ । यहाँ नेपालमा जस्तो बच्चालाई किताब घोकाउने काम भने गरिंदैन । बरु उनीहरुलाई स्वच्छन्द ढंगले खेल्न, प्रकृतिमा रमाउन, साथीभाइसँग घुलमिल हुन अभ्यस्त गराइन्छ ।

नेपालमा जस्तो बच्चालाई किताबमा एकोहोरो बनाउने प्रवृत्ति छैन यहाँ । बच्चाको रुचि के छ ? सोही कुरामा उनीहरुलाई अनुकूल वातावरण मिलाइने गरिन्छ ।

नेपालमा जस्तो यहाँ शिक्षाको व्यापार छैन । ९० प्रतिशत त सरकारी विद्यालय नै छन् । बाँकी निजी विद्यालय छन्, यद्यपि त्यहाँ पनि अभिभावकले शुल्क तिर्नुपर्दैन । सरकारले नै विद्यार्थीको सम्पूर्ण शुल्कको भार बोकिदिन्छ । किनभने यहाँ मनपरी शुल्क निर्धारण गर्ने छुट छैन । एउटा निश्चित मापदण्डमा रहेर पढाइको शुल्क तय गरिन्छ ।

समग्रमा स्वीडेनको शिक्षा प्रणाली नेपालका लागि अनुकरणीय हुनसक्छ । शिक्षा फगत नतिजाका लागि होइन, व्यावहारिक जीवन र जगतका लागि हो भन्ने कुरा बुझ्न सकिन्छ ।

(मल्ल स्वीडेनको स्टकहोम विश्वविद्यालय र कार्लस्टाड विश्वविद्यालयमा प्राध्यापनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?