
१८ साउन, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको हत्या पछि गरिएको बीमा दाबी भुक्तानीसँग सम्बन्धित सम्पूर्ण विवरण र बीमालेख ‘पोलेसी डकेट’ बीमा समितिलाई बुझाएको छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सोमबार समितिलाई उक्त विवरण बुझाएका हुन् ।
आइतबार बीमा समितिले रिलायन्स लाइफलाई सर्जन विकको बीमा पोलिसी जारी गर्दादेखि दाबी भुक्तानी गर्दासम्मको सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो ।
बीमकले कुनै पनि व्यक्तिको बीमा गर्दा बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात राखेको हुन्छ । सोही सम्पूर्ण कागजात राखिएको फाइललाई ‘पोलिसी डकेट’ पनि भनिन्छ । पोलिसी डेकट लगायत दाबी भुक्तानी प्रक्रियाको सम्पूर्ण विवरण केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको रोहबरमा रिलायन्स इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई बुझाएको हो ।
आइतबार साँझ सबै बीमा कम्पनीको सीईओहरुसँग छलफल गरेको समितिले रिलायन्स लाइफलाई बीमा समितिले बीमा लेखसँगसम्बन्धी बीमालेख, प्रस्ताव फारम, आम्दानीको स्रोत, करचुक्ता, स्वास्थ्यसम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमांकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने अधिकृतहरूको विवरण, दावी भुक्तानी सम्बन्धी दाबी फारम, मृत्यु दर्ता तथा नाता प्रमाणित लगायतका विवरण २४ घण्टा भित्र बुझाउन निर्देशन दिएको थियो ।
समितिको निर्देशनअनुसार आवश्यक सम्पूर्ण विवरण बीमा समितिलाई पेश गरेको कम्पनीले जनाएको छ । अब समितिले छानविन गर्ने र यसमा कोही पनि दोषी पाए कारबाही हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।
समितिले कम्पनीसँग उक्त पोलिसीको अन्डरराइटिङ गर्ने, बीमा कम्पनी, तत्कालीन सीईओ पनि छनविनको दायरामा रहने पौडेल बताउँछन् ।
आइतबार समितिले सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर बीमा कम्पनीको ‘जोखिमांकन’ (अन्डरराइटीङ) कमजोर भएको भन्दै त्यसमा ध्यान दिन निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4