+
+
साफ यू-२० च्याम्पियनसिप :

बंगलादेशसँगको बराबरीले नेपालको फाइनल सम्भावना अत्यन्तै कठिन

फाइनल पुग्न माल्लिभ्सले भारतलाई हराउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १८:१५

१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत तीन रातो कार्ड देखाइएको खेलमा नेपाल बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलको दोस्रो हाफमा तनावग्रस्त र प्रतिस्पर्धात्मक बनेको थियो ।

बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे । दोस्रो हाफमा नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएपछि बेञ्चमा रहेका रोहितले पनि रातो कार्ड पाएका थिए ।

बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक छ ।

नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेलको नतिजा कुर्नुपर्नेछ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।

३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाएका थिए । दोस्रो हाफको सुरुवात देखि नै दुवै टोली गोल गर्ने लक्ष्यसहित आक्रामक बनेका थिए ।

तर दोस्रो हाफ सुरु भएको दुई मिनेटपछि नै खेल तनावग्रस्त बन्यो । नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्ड पाए । ४७औं मिनेटमा बंगलादेशका कप्तान तनविर हुसेनले नेपालका कृतिश रत्न छुन्जुलाई लडाएपछि लाइन्सम्यानले फल दिए । त्यसपछि हुसेन लाइन्सम्यानसँग प्रतिवाद गर्न गए ।

नेपालका कप्तान आयुष घलानले बंगलादेशी खेलाडीलाई धक्का दिए । त्यसपछि मैदानमा हात हालाहालको स्थिति बन्यो । त्यसपछि खेल तनावग्रस्त बन्यो । रेफ्रीले बंगलादेशका शहीदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाए । पहिल्यै पहेँलो कार्ड पाइसकेका शहीदुललाई दोस्रो पटक पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका थिए ।

यस्तै हाल हालाहालमा संलग्न भएका नेपालका बेन्चमा खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए । मैदानमा दुवै टिम १०-१० खेलाडीमा सिमित भयो । खेल झनै प्रतिस्पर्धात्मक बन्यो । ६३औ मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए । नेपाल बराबरी गोलको खोजीमा थियो । बंगलादेशको अग्रता लामो समय टिकेन ।

६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि दुवै टोली गोल थप्दै अग्रता बनाउने प्रयासमा थिए ।

तर दुवै टिमले गोल गर्न सकेनन् । ८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएका थिए । त्यसपछि लगत्तै बंगलादेशले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?