+
+
शिक्षा र करिअर :

किशोर मन बहकिन सक्छ, परिपक्व निर्णय गर्नुहोस्

नेहा केसी नेहा केसी
२०७९ साउन १८ गते १३:५७

कक्षा ११ त्यो प्रवेश बिन्दु हो, जहाँबाट तपाईंले आफ्नो करिअरको यात्रा थालनी गर्नुहुनेछ । किनभने यतिबेला तपाईंले छनोट गर्ने विषय नै भविष्यको आधारशीला बन्न सक्छ । करिअरको जग बन्न सक्छ । यदि सही विषय छनोट गर्न सकिएन भने तपाईं यसै अलमलिनुहुनेछ र लक्षित गन्त्व्यसम्म पुग्न सक्नु हुनेछैन ।

त्यसो भए तपाईंको लागि उत्तम विषय के हुनसक्छ ?

यसको निर्धारण तपाईंको बुवाआमाको ‘सपना’ले गर्दैन । न त तपाईंले एसईईमा प्राप्त गरेको ग्रेडले नै । किशोरवयको लहड, साथीभाइको लहलहैले पनि यो कुराको निक्र्यौल गर्दैन । किनकि तपाईंको रुचि, लगाव र क्षमताले नै यस कुराको टुंगो गर्छ ।

अब तपाईंलाई द्विविधा हुनसक्छ, खासमा मेरो रुचि के हो ? मेरो क्षमता के हो ? मलाई कुन कुरामा लगाव छ ?

यसबेला तपाईंलाई कति द्विविधा, भ्रम हुनसक्छ । त्यसैले यस्ता भ्रम चिर्न तपाईंले आमाबुवा, साथीभाइ, पुराना शिक्षकहरुको कुरा सुन्नुपर्छ । उनीहरुको सल्लाह लिनुपर्छ । यद्यपि यी सबै कुरालाई सुनेर, बुझेर आफ्नो लागि सही निर्णय गर्नुहोस् । र, यो निर्णय तपाईं आफैं गर्नुहोस् ।

किनभने किशोरवय अपरिपक्व उमेर हो । यस चरणमा मन धेरै बहकिन्छ । कुनै अस्पतालमा स्मार्ट चिकित्सक देखियो भने चिकित्सक बन्न मन लाग्छ । कुनै सिनेमामा आकर्षक हिरो देखियो भने हिरो बन्न मन लाग्छ । यस्तो अवस्थामा आफ्ना हितैषी, अभिभावक, परामर्शदातासँग छलफल गर्न सकिन्छ ।

यतिबेला तपाईंले ख्याल गर्नुपर्ने कुरा के भने अरुको देखासिकी वा करकापमा नपर्नुहोस् । सबैको सुझाव लिएर आफैं पनि मन्थन गर्नुहोस् । के उनीहरुले दिएको सुझाव तपाईंको लागि उचित छ ?

मलाई याद छ, राम्रो ग्रेड प्राप्त गरे पनि मैले व्यवस्थापन संकाय छनोट गरेकोमा आसपासका मान्छेहरुले ममाथि प्रश्न गरेका थिए । मेरो आमाबुवाको चाहना थियो, मैले चिकित्साशास्त्र अध्ययन गरोस् ।

म अंग्रेजीमा पोख्त थिएँ । बाल्यकालदेखि नै म जिज्ञासु स्वभावको थिएँ । तर म के बन्न चाहन्छु ? यो कुरा बताउने हिम्मत थिएन ।

मैले व्यवस्थापन नै पढ्ने निधो गरें । किनभने मेरो दिमागले विज्ञान विषय अलि गाह्रो हुन्छ भन्ने सोचेको थियो ।

मेरा बुवाआमा ‘कडा’ थिएनन् । त्यसैले उनीहरुले मेरो छनोटमा कुनै नाइँनास्ती गरेनन् । यद्यपि म एक आज्ञाकारी छोरी पनि भएको नाताले उहाँहरुको भावना विपरीत जान नहुने थियो । त्यसबेला म कुन क्षेत्रमा भविष्य बनाउँनेछु भन्ने कुरा मलाई थाहा पनि थिएन सायद । एक दिन मेरो छिमेकीले गर्मी बिदाको बेला मलाई एक प्रतिष्ठित विद्यालयमा स्वयंस्वेवक बन्न अफर गरे । मैले यो प्रस्ताव सहर्ष स्वीकार गरें । त्यो मेरो करिअरको प्रवेश बिन्दु थियो । त्यहाँ स्वयंसेवकको रुपमा खटिएपछि शिक्षण पेशा अपनाउने तय गरें ।

अब शिक्षक बन्नुअघिको केही कुरा साझेदार गर्छु ।

उच्च शिक्षाका लागि मलाई मेरो बुवाआमाले कलेज छनोट गरिदिनुभयो । तर त्यो कलेजमा म केही महिना पनि टिक्न सकिनँ । जबकि त्यहाँ भर्ना वा मासिक शुल्कका लागि अभिभावकले कति भुक्तानी गरेका थिए भन्ने कुरामा मलाई केही थाहा थिएन ।

जब म स्नातक जानुपर्ने समय आयो, सबैले मलाई एमबीए गर्न सुझाउँथे । त्यसताका हामीले निकै राम्रो बिजनेस कलेजको पनि भ्रमण गर्‍यौं । तर मेरो भित्री मनले यो विषय रुचाएको थिएन । त्यसैले मैले आफ्नै मनको मर्जी अनुसार एउटा विषय रोजें, साहित्य । खासगरी अंग्रेजी साहित्य पढ्न म उत्सुक थिएँ ।

यसका लागि मैले दुई सेमेस्टरमा करिब ३७ किताब पढ्नुपर्ने भयो । मलाई यत्तिका पुस्तक पढ्न कुनै गाह्रो थिएन, किनभने यो मेरो आफ्नो रुचिको विषय थियो । मलाई ती पुस्तकहरु पढ्दा आराम मिल्थ्यो र हरेक असाइनमेन्ट रोमाञ्चक लाग्थ्यो ।

मैले अंग्रेजी साहित्यमा ग्राजुएट गरें । त्यहीताका मेरी छोरीले आफ्नो प्रि–स्कुल सुरु गरिन् ।

ग्राजुएट पछि मैले शिक्षा संकाय रोजें । शिक्षामा एमफिलका लागि भर्ना भए । यी विषयहरु पढ्न कठिन पक्कै थियो, तर उत्तिकै रुचिकर पनि । मलाई हरेक कक्षा रमाइलो लाग्थ्यो । किनभने यो मेरो लक्ष्य अनुरुपको रोजाइ थियो ।

आज म खुसी छु र सन्तुष्ट पनि । किनभने मैले आफ्नै लगाव, इच्छा र रुचिको विषय छनोट गरें । सोही आधारमा आफ्नो करिअर निर्माण गरें । म आफूलाई भाग्यमानी सम्झन्छु, किनभने यसबीचमा मलाई बुवाआमाले कहिल्यै दबाब दिनुभएन । मेरो रोजाइलाई उहाँहरुले सदर गरिदिनुभयो ।

आफ्नो रुचिको विषय छनोट गरेकाले म आफ्नो सपना पत्ता लगाउन र पछ्याउन सफल भएँ । तर सबैको हकमा यस्तो नहुन सक्छ । अर्थात् कति बालबच्चा करकापमा वा लहलहैमा लाग्न सक्छन् ।

हामीले भर्खरै मात्र शैक्षिक विज्ञ, प्रिन्सिपल र शिक्षकहरु संलग्न गरेर विद्यार्थीका लागि करिअर काउन्सिलिङ गरेका थियौं । त्यसबाट हामी केही साझा निचोडमा पुग्यौं ।

तथ्यहरु जान्नुहोस्

तपाईंले यतिबेला जुन विषय छनोट गर्दै हुनुहुन्छ, त्यसले तपाईंलाई कहाँ पुर्‍याउँछ ? के यो तपाईंको लक्ष्य अनुरुप सही विषय हो ?

आज तपाईंले जुन विषय पढ्ने निधो गर्नुभयो त्यसले भोलिका दिनमा तपाईंका सपना पहिल्याउन मद्दत गर्नेछन् ? यी प्रश्नहरुको जवाफ खोज्नुहोस् । किनभने यतिबेला तपाईं बरालिनुभयो भने तपाईंलाई सही गन्तव्य पहिल्याउन कठिन हुनेछ । मेरो लक्ष्य के हो, मेरो रुचि के छ ? यसलाई मध्यनजर गरेर विषय छनोट गर्नुहोस् ।

सबैको कुरा सुन्नुहोस्, तर निर्णय आफू लिनुहोस्

यसबेला तपाईंलाई कति द्विविधा, भ्रम हुनसक्छ । त्यसैले यस्ता भ्रम चिर्न तपाईंले आमाबुवा, साथीभाइ, पुराना शिक्षकहरुको कुरा सुन्नुपर्छ । उनीहरुको सल्लाह लिनुपर्छ । यद्यपि यी सबै कुरालाई सुनेर, बुझेर आफ्नो लागि सही निर्णय गर्नुहोस् । र, यो निर्णय तपाईं आफैं गर्नुहोस् ।

सही विद्यालय छान्नुहोस्

झट्ट हेर्दा आकर्षक वा चलेका विद्यालय मात्र राम्रो हुन्छ भन्ने हुँदैन । सही विद्यालय छनोट गर्नका लागि तपाईंले त्यसको इतिहास केलाउनुहोस्, व्यवस्थापन समूहबारे जानकारी लिनुहोस्, शिक्षण विधिबारे बुझ्नुहोस्, शिक्षकहरु कस्ता छन् चासो राख्नुहोस् । विद्यालयको वातावरण कस्तो छ ? पठन सामग्री कति छन् ? पुस्तकालय कस्तो छ ? अन्य सेवा सुविधा कति छ ? याद गर्नुहोस् । लहडमा कुनै पनि विद्यालय छनोट नगर्नुहोस् ।

पुराना विद्यार्थीबाट तपाईंले यतिबेला सही सुझाव पाउन सक्नुहुन्छ । सकेसम्म राम्रो पठन विधि भएका, दिगो व्यवस्थापन भएका र राम्रो शैक्षिक इतिहास बनाएका विद्यालय छान्नुहोस् ।

यो तपाईंको लागि करिअरको एउटा सुनौलो खुड्किलो हो । यहाँ तपाईंले कसरी पाइला राख्नुहुन्छ, त्यसैले तपाईंको सुदूर भविष्य निर्धारण गर्छ । त्यसैले नयाँ जोश, ऊर्जा र उत्साहका साथ नयाँ यात्र सुरु गर्नुहोस् । शुभकामना ।

(केसी शिक्षक एवं विद्यालय परामर्शदाता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?