+
+

सेयर धितोमा १२ करोडभन्दा बढी कर्जा दिए शतप्रतिशत प्रोभिजन

२५ लाखसम्मको मार्जिन कर्जा र ऋणपत्र धितो कर्जामा १०० प्रतिशत जोखिम भार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १५:३९

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार वर्गीकरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्‍याउने बताएको थियो । सोही अनुसार २०७९ असार मसान्तभित्र मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार कायम गरेपछि बैंकहरुले सोही अनुसार पूँजी कोषको व्यवस्था गरेका थिए ।

तर, चालु मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले २५ लाखसम्मको उक्त कर्जाको जोखिम भार पुन १०० प्रतिशत नै कायम गर्ने उल्लेख गर्‍यो । त्यसैलाई कार्यान्वयन गर्न बुधबार राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । अब २५ लाखसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै ऋणपत्र धितोमा पाइने कर्जा पनि जोखिम भार १०० प्रतिशत नै हुनेछ । तर, २५ लाख भन्दा बढीको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा भने १५० प्रतिशत नै जोखिम भार रहेको जनाएको छ ।

यता गत आबबाट मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कुनै एक व्यक्तिले एक बैकबाट ४ करोड र अधिकतम १२ करोडसम्म लिन सक्ने व्यवस्थामा पनि परिमार्जन गरेको छ । अब एक व्यक्तिले पाउने १२ करोडसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जा एउटै बैंकबाट लिन सक्ने भएको छ ।

उक्त कर्जा १२ करोडभन्दा बढी कुनै व्यक्ति लिएको अथवा अब नयाँ प्रवाह गर्दा उक्त सीमा भन्दा माथि भएमा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । यसले बैंकहरुले १२ करोडभन्दा बढीको सेयर धितो कर्जा लगानी गरेमा सोही बराबरको कर्जा नोक्सान नहुने गरी छुट्टै कोषमा निष्क्रिय रकम राख्नुपर्नेछ ।

‘यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) कायम गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?