+
+

४ मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १४:३१
फाइल तस्वीर

१९ साउन, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विद्युतीय मतदान यन्त्र (ईभीएम) प्रयोग नहुने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मंसिर ४ मा निर्वाचन गर्ने निर्णय गरेको छ । तर निर्वाचनमा ईभीएम प्रयोगबारे कुनै निर्णय भएन । यससँगै यसपालि पनि परम्परागत शैलीमा मतदान हुने निश्चित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

निर्वाचन आयोगले १६ असार २०७९ मा सरकारलाई पत्र लेख्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन आग्रह गरेको थियो । त्यतिबेला आयोगले महानगरपालिका रहेका जिल्ला र काठमाडौं उपत्यकामा विद्युतीय मतदान गर्न सकिने बताएको थियो ।

सरकारले निर्णय नदिएपछि आयोगले उपत्यकामा मात्रै भएपनि विद्युतीय मतदान यन्त्रको प्रयोग गर्न ध्यानाकर्षण गराएको थियो । उपत्यकामा करिव ३७५ मतदानस्थल छन् ।

एउटा मतदानस्थलमा एकभन्दा बढी केन्द्र छन् । हरेक केन्द्रमा दुई तहको दुई प्रणालीका लागि गरी कम्तीमा चारवटा मेसिन राख्नुपर्ने भएकाले उपत्यकामा कम्तीमा १६०० ईभीएम चाहिने देखिएको थियो ।

आयोगले त्यतिबेला दुईवटा विकल्प दिएको थियो । स्वदेशमा निर्मित यन्त्रको प्रयोग गर्ने भए प्रमाणिकरण गरिदिन भनेको थियो । किनकी नेपालमा राम–लक्ष्मण रिमालले विद्युतीय मतदान यन्त्र तयार पारेका छन्, तर यसको प्रमाणीकरण भएको छैन । नेपालको मेसिन प्रमाणिकरण नगर्ने हो भने अन्य मुलुकमा उत्पादित मेसिन किनेर हस्तान्तरण गर्न आयोगले आग्रह गरेको थियो ।

आयोगले आगामी निर्वाचनमा विद्युतिय मतदान यन्त्रको प्रयोग हुने हो भने साउन मसान्तभित्र आफूले मेसिन पाउनुपर्ने माग गरेको थियो । मेसिन खरिद भएपछि कर्मचारीहरुलाई तालिम दिन, मतदातामाझ सचेतना जगाउन समय लाग्ने भन्दै आयोगले करिव ३ महिना समय चाहिने बताएको थियो ।

तर सरकारले न नेपालमा बनेको मेसिन प्रमाणिकरण गर्‍यो, न अन्य मुलुकमा उत्पादित मेसिन खरिद ।

२०६४ सालको संविधानसभा र उपचुनावमा केही निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको प्रयोग भएको थियो । त्यसयता हरेक निर्वाचनमा बहस हुने तर, प्रयोग चाहिँ नहुने हुँदै आएको छ ।

स्थानीय तह निर्वाचनअघि निर्वाचन आयोगले गठन गरेको ८ सदस्यिय टोलीले विद्युतिय मतदान यन्त्रमै मतदान गरेको चिह्न समेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको थियो ।

तर कतै विद्युतीय मतदान यन्त्र प्रयोग भएन । मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि टेबुलमा मतपत्र राखेर छाप हान्ने, बाकसमा भोट खसाल्ने परम्परागत शैली अपनाइने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन्, ‘यसपलि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मशान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?