+
+

किर्ते गरेर नागरिकता लिएको भन्दै डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते २१:३५

१९ साउन, जनकपुरधाम । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको र उपप्रमुखमा समेत निर्वाचित भएको भन्दै  जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।

मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ ।

मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर-३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको उजुरीमा भनिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

नेपाली नागरिकताको प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्ध गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ । तर उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।

उजुरी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । ‘उजुरी आएको छ, हामी आवश्यक छानबिन गरेर निष्कर्षमा पुग्छौं’ गौतमले भने । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी मीरा ६ हजार १९७ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

मीरा कुमारीले आफूविरुद्ध झुटो आरोप लगाएकाे दाबी गरेकी छिन् । उनले भनिन्, ‘मेरो घर यहीँ डाक्नेश्वरीमा हो । हनुमाननगर कंकालिनीको मधवापुरमा माइती हो, भारतीय नागरिकता भएको उजुरी कसरी गरे मलाई थाहा छैन ।’

चुनाव जितेदेखि नै विपक्षीहरूले आफूलाई खेद्न थालेको र त्यही क्रममा यो उजुरी आएको हुन सक्ने उनको भनाइ छ । सत्य कुरा छानबिन पछि बाहिर आउने भन्दै उनले छानबिनमा आफूले पनि सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?