+
+
महिला साफ च्याम्पियनसिप :

नेपालको तयारी भारतलाई हराउनेमा केन्द्रित

नेपालको लागि निकै बलियो पक्ष हो घरेलु मैदान । जम्मा ६ हप्ताको तयारी लिएर ठूलो प्रतिस्पर्धामा उत्रिन लागेको नेपालका लागि घरेलु दर्शकको साथ तथा घरेलु मैदान नै हुनेछ ।

नमिता दाहाल नमिता दाहाल
२०७९ साउन २२ गते १७:४७

२२ साउन, काठमाडौं । दक्षिण एसियाली उपमहाद्विपमा हुने सबै खेलकुद प्रतियोगितामा भारतको प्रभुत्व अरु देशको सफलतामा बाधक बन्दै आइरहेको छ ।

पछिल्लो समयमा खेलकुदलाई भारतले दिएको प्राथमिकताको नतिजा मैदानमा देखिन थालेको छ । दक्षिण एसियाली क्षेत्रका अरु टिमका लागि भारतलाई हराउनु नै सबैभन्दा ठूलो सफलताका रुपमा मापन गर्न थालिएको छ ।

अबको एक महिनापछि साफ महिला च्याम्पियनसिपको छैठौं संस्करण काठमाडौंमा सुरु हुनेछ । साफका लागि नेपाल टिम प्रशिक्षणको जिम्मा कुमार थापाले पाएका छन् । यो पदमा उनको यो दोस्रो कार्यकाल हो ।

सन् २०१६ मा आयोजित चौथो संस्करणमा कुमार थापा प्रशिक्षित नेपाल टिमले सेमिफाइनलमा भारतसँगै हारेको थियो । सन् २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपका अन्य चार संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित भएको छ ।

‘भारतलाई हराउने ब्रह्मास्त्र छैन’

आसन्न प्रतियोगितामा नेपालको प्रमुख लक्ष्य नै भारतविरुद्ध राम्रो नतिजा ल्याउनु हुनेछ । भारतको भूत हटाउने जादू त प्रशिक्षक थापासँग छैन तर, खेलाडीको अनुभव, प्रशिक्षण टिमको मिहिनेत र घरेलु मैदानको फाइदाले भारतलाई माथ दिनसक्ने अपेक्षा उनले गरेका छन् ।

नेपालले साफलक्षित तयारी सुरु गरेको दुई साता भयो । त्योभन्दा अगाडि यही टिमले एसियाली खेलकुदका लागि डेढ महिना विशेष प्रशिक्षण गरेको थियो । प्रशिक्षक थापाका अनुसार यसपल्ट टिममा सकारात्मक परिवर्तन र स्तरोन्नति देखिएको अनुभव सुनाउँछन् ।

‘सन् २०१३–२०१४ मा डेब्यू गरेका खेलाडी टिममा छन् । उनीहरु अनुभवी भइसकेका छन् । खेल्ने तरिका र खेलका बारेमा सोच्ने तरिका पनि फरक छ,’ अनलाइनखबरसँगको कुराकानीमा थापाले भने, ‘त्यो मात्रै होइन, नेपाली खेलाडीलाई सधैं भारतसँग हारेको पीडा पनि छ । त्यो इखले पनि यस पटकको खेलमा केही परिर्वतन हुनेछ ।’

एउटै टिमसँगको लगातार हारबाट खेलाडीमा नकारात्मक सोच बढ्न नदिन मनोवैज्ञानिक प्रशिक्षणलाई पनि ध्यानमा राखिएको थापाले बताएका छन् । ‘मनोविदलाई बोलाएर खेलाडीको क्लास लिनेबारे सोचिरहेका छौं,’ उनले थपे ।

खेलको स्तर भनेको लगानीमा भर पर्ने कुरा हो । पछिल्लो पटक भुटान श्रीलंका तथा बंगलादेश र भारतले महिला फुटबलमा गर्ने लगानी निकै नै राम्रो छ ।

‘यस प्रतियोगितामा भारत मात्रै नभएर हरेक टोली नै हाम्रो लागि उत्तिकै बलियो प्रतिस्पर्धीे हुन् । खेल अगाडि यस्तो गर्ने, त्यस्तो गर्ने भनेर जतिसुकै भने पनि खेल्ने खेलाडीले मैदानमा हो । त्यसैले खेलअघि यो कमजोर भनेर सजिलै आँक्ने अवस्था छैन,’ प्रशिक्षक थापाले भने ।

पाँच वर्ष नेपालको राष्ट्रिय टिमबाट खेलेका मिडफिल्डर थापालाई पनि प्रशिक्षकका रुपमा आफूलाई प्रमाणित गर्ने यो दोस्रो अवसर हो । एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्ष पूरा गरेका उनले भने, ‘यो मेरो लागि दोस्रो जीवन हो । एकपटक नराम्रो नतिजा आएपछि फेरि आफूलाई सावित गर्ने अवसर पाएको छु । यसमा म र मेरो टोलीले राम्रो नतिजा ल्याउन योजनावद्ध रुपमा काम गरिरहेको छ ।’

२०१० देखि उपाधि नजितेको पीडा कम गर्ने अवसर नेपाली टोलीको पाएको छ । यसपल्ट खेलाडीमै उपाधिको अठोट पाएको थापाले महशुस गरेका छन् ।

नेपाली महिला टोली चैतमा लिग खेलेर बसेको हो । भरतपुरमा भएको लिगपछि २ महिनाको अन्तरालमा एसियाडको लागि भनेर जेठ २४ गते सुरुवाती चरणमा ४० खेलाडी बोलाएर प्रशिक्षणमा राखियो । एसियाड सरेपछि एक महिनामै उनीहरुको प्रशिक्षण बन्द गरियो ।

कुमार थापा ।

भदौको २१ गतेबाट असोज ३ गतेसम्म आयोजना हुन लागेको साफका लागि सुरुमा ५८ जना छानिएको थियो । त्यो प्रारम्भिक टोलीबाट २३ खेलाडी घटाएर ३५ जनाले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षक थापाले भने, ‘खेलाडीहरु लिग सकेर बसेका थिए । लिग सकेको केही महिनामा एसियाडको तयारीमा १ महिना बसे त्यसपछि साफको तयारीमा जुट्दा उनीहरु लयमा छन् ।’

यो संस्करणमा प्रतिस्पर्धीका रुपमा दक्षिण एसियाका ७ वटा राष्ट्र छन् । जसमा नेपाल रहेको समुह ‘बी’ मा श्रीलंका र भुटान छन् । समुह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

नेपाल तुलनात्मक रुपमा सहज समूहमा भए पनि सेमिफाइनलअघि पर्याप्त म्याच अनुभव नहुनुलाई प्रशिक्षकले घाटाका रुपमा हेरेका छन् । ‘हामीले समूहचरणमा एक खेल जित्नेवित्तिकै सेमिफाइनल पुग्छौं तर, सेमिफाइनल र फाइनलमा बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्दा नेपाललाई प्रतिस्पर्धात्मक हिसाबले गाह्रो भने पक्कै हुनेछ ।’

नेपालको बलियो पक्ष घरेलु मैदान

नेपालको लागि निकै बलियो पक्ष हो घरेलु मैदान । जम्मा ६ हप्ताको तयारी लिएर ठूलो प्रतिस्पर्धामा उत्रिन लागेको नेपालका लागि घरेलु दर्शकको साथ तथा घरेलु मैदान नै हुनेछ । ‘नेपालको सबैभन्दा बलियो पक्ष नै घरेलु मैदान हो । हामीलाई वातारण राम्रो छ’, थापा भन्छन्, ‘नेपाली दर्शकको माया हुनेछ । खेलिरहेको मैदान र वातावरण हुनेछ । यो हाम्रो सबैभन्दा बलियो पक्ष हो ।’

नेपाली दर्शकको अगाडि खेल्दा खेलाडीले आफ्नो छाप र महिला फुटबलको छाप देशव्यापी रुपमा कस्तो छोड्ने भन्ने कुरा पनि भर पर्ने थापाले बताए । ‘नेपाली मैदानमा नेपाली दर्शकलाई खुसी बनाउने प्रयास रहनेछ । खेलाडीका लागि पनि यो एक राम्रो मौका हो । पहिचान बनाउने, हामी खेल जितेर नेपाली दर्शकलाई खुसी बनाउने छौं ।’

कमजोर संरचना र अन्तर्राष्ट्रिय एक्सपोजरको अभाव

दक्षिण एसियाली महारथी भारतजस्तो स्तरीय टिमलाई हराएर साफ महिलाको उपाधि जित्नु नेपालका लागि सबैभन्दा कठिन लक्ष्य हो । घरेलु फुटबलको संरचना र महिला फुटबलमाथिको लगानी नै नेपालको स्तर माथि उठ्न नसक्नुको प्रमुख कारण भएको थापाको बुझाइ छ ।

नेपालमा उमेरसमूहको नियमित प्रतियोगिता छैन । राष्ट्रिय लिग आयोजना पनि छोटो र अनियमित छ । नयाँ खेलाडी उत्पादन न्यून छ । विभागीय टिम पनि नहुने हो भने महिला फुटबलको अस्तित्व नै संकटमा पर्ने थापा बताउँछन् ।

नेपाली महिला फुटबल पछाडि परेको प्रमुख कारण नै संरचनात्मक विकासको अभाव हो । उमेर समुहको खेल छैन, खेलाडी जर्गेनामा ३ विभागीय टोलीमै निर्भर रहनुपरेको छ,’ प्रशिक्षक थापाले भने, ‘अहिले पनि नेपालमा ४० जना महिला खेलाडी निकाल्न पनि बडो मुस्किल पर्छ । प्रतियोगिता नै नभएपछि खेलाडीको पहिचान कसरी हुन्छ र ?’

प्रमुख प्रशिक्षक थापा विभागीय क्लब एपीएफको पुरुष टोलीका प्रशिक्षक हुन् । एपीएफमा रहेर महिला फुटबललाई नजिकबाट देखेका उनले प्रतियोगिताअघि खेलाडी छानेर प्रतिस्पर्धात्मक टिम बनाउन नसकिने बताउँछन् । ‘नेपालमा ठूला प्रतियोगिताको मुखमा आएर खेलाडी छान्नु नै गलत हो । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आएका खेलाडीको अनुभवले नै राष्ट्रिय टोलीलाई बलियो बनाउने हो तर नेपालमा यस्तो छैन,’ उनले गुनासो गरे ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?