+
+
ब्लग :

हर्क दाइ अमेरिका पुग्लान् ?

रूकुमका हर्क दाइ यस्ता उदाहरण हुन्, जो समाज बदल्ने भन्दै युद्धमा होमिए, आफ्नै अघि मृत्यु देखे । तर अहिले उनी दलाललाई ४० लाख बुझाएर अवैधरुपमा अमेरिका छिर्ने सपना पछ्याइरहेका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन २३ गते ७:००

राजधानी बस्न थालेपछि कोठाबाट तरकारी किन्न जाँदा पनि स्कुटर चढ्ने बानी परेछ । घर पछाडि नै जानुछ भने पनि सकेसम्म पैदल हिँड्नु नपरोस् भने जस्तो लाग्दो रैछ । घरतिर (झापा) जाँदा पनि प्रायः हवाइ यात्रा नै गर्ने भएपछि सार्वजनिक यातायात चढ्ने बानी पनि लगभग हराइसकेछ ।

शनिबार नियमित विदाको दिन । प्रायःजसो काठमाडौं आसपास ‘विकेन्ड’ मनाउन गइन्थ्यो । यसपालि चाहिँ पोखरातिर जाने झोक चल्यो । दुईसाता अघि यसैगरी पोखरा जान खोज्दा मौसमका कारण दिनभर उडान भएन । विमानस्थलबाटै फर्किनु परेको थियो । यसपालि चाहिँ शुक्रबार राति नै पोखराको सम्भावित मौसमी अवस्थाबारे जानकारी लिएर पोखरा जाने सोच बनाएको थिएँ ।

पोखरातिर पानी पर्ने संकेत नपाएपछि बिहान ७ः५० कै टिकट गरेर काठमाडौंबाट उडेँ । दिनभर पोखराको बेगनास, लेकसाइड लगायततिर घुमियो, साँझ साथीभाइहरूसँग भेटघाट थियो । चाँडै निस्किने भन्दाभन्दै साढे १० भइहाल्यो । आइतबार नियमित समयमा कार्यालय पुग्नुपर्ने थियो ।

फोन गरेरै विदा मागेको भए नमिल्ने अवस्था त होइन । तर सकभर ‘फस्टआवर’मै पुग्न पाए हुन्थ्यो भन्ने थियो । हिजोआज कलेज पनि भएकाले सकभर पुग्न पाए हुन्थ्यो भन्ने थियो । त्यसैले सोचेँ, ‘राति भए पनि गाडी पाइयो भने फर्किन्छु, नभए भोलि बिहानै फर्किउँला ।’

तर पश्चिमतिरबाट आएर काठमाडौं जाने गाडीहरू राति १२/१ बजेसम्मै पाइँदा रहेछन् । राति एउटा गाडी पाइएपछि त्यसैमा चढेर फर्किने निधो गरेँ । गाडीको यात्रा त्यति सहज लागि रहेको थिएन । तर चढिसकेकाले असहजै भए पनि अरु विकल्प थिएन ।

०००

गाडी चढेको झण्डै एकघन्टा पछि छेवैको सिटमा रहेका दाइ ब्युँझिए । आफू निदाउन नसकेका बेला उनी ब्युँझिएको देखेपछि सोधिहालेँ, ‘दाइ कताबाट आउनु भएको ?’ मलाई गाडी कताबाट आएको भन्ने थाहा थिएन ।
उनले जवाफ फर्काइहाले, ‘पूर्वी रुकुमबाट ।’

बिहान ८ बजेतिर रुकुमकोटबाट हिँडेका उनी राति साढे ११ तिर पोखरा आइपुगेका रहेछन् ।

गफ लम्ब्याउन खोज्दै अर्को प्रश्न तेर्स्याइहालेँ, ‘जनार्दन शर्माकोे गाउँतिर हो कि क्या हो ?’

उनी जोसिंदै बोल्न थालिहाले, ‘पहिले त एउटै जिल्ला थ्यो, पूर्वी र पश्चिम रुकुम भएपछि अहिले मेरो सिमानातिर पर्छ… ।’ उनी आफ्नो घरतिरको ठेगाना बताउँदै गएँ । (गोपनियताका कारण विस्तृत उल्लेख गर्न उपयुक्त ठानिनँ ।)
‘गाउँतिर प्रायः माओवादी नै होलान् नि ?’ मेरो अर्को जिज्ञासा थियो ।

‘काँ हुनु ! अब रुकुम हिजो जस्तो छैन’ उनी बोल्दै गए, ‘माओवादी जति अब एमाले र कांग्रेसले खान थालिसके ।’ यस्तै हो भने पाँच/दश वर्षपछि माओवादीलाई कुनै बेलाको आफ्नै गढमा खोज्नु गर्ने स्थिति आउने उनले सुनाए । भने, ‘अस्तिको चुनावमा जनार्दनकै गाउँमा त माओवादीले जितेन, के कुरा गर्नु ?’

त्यसपछि उनी द्वन्द्वकालीन समयतिर फर्किन थाले । ‘कुनै बेला माओवादी भनेपछि देश बनाउने नै यसैले हो जस्तो लाग्थ्यो’ उनले भने, ‘सारा सामन्ती र पुँजीवादी वर्गलाई सिध्याउन यही माओवादी नै आउनुपर्छ भन्ने लाग्थ्यो ।’ त्यही कारण स्कुल पढ्दापढ्दै माओवादीले बन्दुक बोक्न लगाएपछि उनी खुरुखुरु हिँडेका थिए ।

‘त्यतिबेला धेरे कुरा त बुझेको थिइनँ तर बन्दुक बोकेपछि गाउँमा सबै कुरा फेरिन्छ भन्ने लाग्थ्यो’ निरास सुनिँदै उनी बोले, ‘मालिक र दास कोही हुँदैन, सबै मालिक भन्ने लाग्थ्यो ।’ बन्दुक बोकेर झण्डै डेढ वर्ष जति हर्क दाइ (परिवर्तित नाम) माओवादी लडाकु बनेर हिँडे ।

‘तीन ठाउँमा ठूलो आक्रमणमा पनि परेँ, कसो ज्यान चाहिँ जोगिएछ । अहिले सम्झिँदा जिरिङ्ग हुन्छ’ उनले सम्झिए, ‘शान्ति प्रक्रियाको पनि कुरा चलिरहेको थियो, एउटा ठूलो आक्रमणमा परेपछि चाहिँ म भागेर भारततिर गएको थिएँ ।’

शान्ति सम्झौता भएपछि उनी फर्किएर गाउँ गए । उनलाई लागेको थियो, अब गाउँका दिनहरू फिर्नेछन्, सुखका दिनहरू आउने छन् । तर गाउँका दुःख घटेका छैनन्, गरिबी, अशिक्षा लगायतका दुःख उस्तै छन् । ‘केहीलाई फाइदा नभएको पनि होइन’ उनी भन्छन् ।

उत्साह बोकेर फर्किएका उनले गाउँमा आफ्ना लागि कुनै काम देखेनन् । ‘खेतीबाट पनि खासै फाइदा हुन्थेन,’ पोखरा–काठमाडौं गन्तव्यका सहयात्री हर्क दाइले सुनाए । त्यसपछि देशै फेर्ने भन्दै तत्कालीन विद्रोही माओवादी सत्तारोपण गरिरहँदा हर्क दाइ चाहिँ विदेशिने निष्कर्षमा पुगे ।

‘साउदी गएर चार/पाँच वर्ष काम गरेँ’ उनले भने, ‘ऋण तिरियो, घर बनाइयो । थप केही गर्न सकिएन ।’ दुई चार वर्ष गाउँ बसे पनि उनले जीवनको अगाडिको यात्रा भने सहज देखेका थिएनन् ।

०००

हर्क दाइको गाउँका १२/१५ जना अमेरिकामा थिए, फेसबुकमार्फत कुराकानी भइराख्थ्यो । पछिल्लो समय गाउँका थप केही अमेरिका जाने तरखरमा रहेको उनले सुनेका थिए ।

‘गाउँमा के गर्ने ? केही भविष्य देखेको थिइनँ’ हर्क दाइले भने, ‘त्यही बेला मलाई पनि साथीहरूले अमेरिका जाउँ भन्न थाले, मलाई पनि जोश चल्यो ।’

गाउँका केहीले अमेरिकामा पीआर पाइसकेको पनि उनले सुनेका थिए । ‘अमेरिका मात्र छिर्न पाए ती साथीभाइले सहयोग गरिहाल्छन्’ उनले सुनाए, ‘त्यसपछि मैले पनि अमेरिका जाने प्रक्रिया थालेँ ।’ उनका अनुसार गाउँमा त्यसरी जानेहरू ‘इलिगल भिसा’मा अमेरिका जाने भन्छन् ।

उनका अनुसार गाउँका एकजना दाइले उनलाई अमेरिका छिराइदिने एजेन्टसँग भेट गराइदिएका हुन् । जम्मा ४० लाख रूपैयाँमा अमेरिका पुर्‍याइदिने उनले आश्वसन दिएका छन् । तर त्यति तिर्दा पनि अमेरिका प्रवेश पाउने सतप्रतिशत टुंगो छैन भन्ने उनलाई पनि थाहा छ । भन्छन्, ‘हेर्नुस् अमेरिका भनेको भाग्य पनि हो, क्या !’

तर अमेरिकामा पक्राउ पर्नुअघि नै फर्किनुपर्ने अवस्था भए त्यही पैसामा फेरि एजेन्टले पठाइदिने भन्दै उनी विश्वस्त सुनिए । ‘एजेन्टको जिम्मा नै अमेरिकाको जेलसम्म पुर्‍याउने हो, त्यहाँ पक्राउ परेपछि मुद्दा मामिला गरेर त्यतै बस्ने हो’ हर्क दाइले योजना सुनाउँदै भने, ‘अरु साथीभाइले पनि त्यसै गरेका छन् ।’ त्यही आश र एजेन्टको विश्वासमा उनले अहिलेसम्म कमाएको पैसा बुझाइरहेका थिए ।

‘अहिले ७ लाख रूपैयाँ मात्र दिने हो, उडेपछि जहाँसम्म पुगिन्छ त्यही अनुसार पैसा थप्दै जाने हो’ हर्क दाइले थपे, ‘जेल पुगुञ्जेलसम्ममा ४० लाख रूपैयाँ दिने कुरा भएको छ, अरु पैसा ऋण खोजखाज गरेर दिने तयारी गरेको छु ।’

उनका अनुसार गाउँमा उनी जस्ता थुप्रै युवा अमेरिका पुगेर राम्रो कमाइ गरिरहेका छन् ।

त्यसो त अमेरिका यात्रा जोखिममुक्त छैन भन्नेमा पनि उनी राम्रोसँग जानकार छन् । गएराति उनी आफैं भनिरहेका थिए, ‘गाउँका छ जना जति अहिले मेक्सिकोको जंगलमा अलपत्र छन् ।’

तर रुकुमबाट काठमाडौं आउँदै गरेका हर्क दाइ ज्यानै जोखिममा राखेर भए पनि अमेरिका सपना पूरा गरिछाड्ने कुरामा दृढ देखिन्छन् ।

०००

बिहान ३ः५५ तिर ब्युझिँदा हर्क दाइ मेरो छेउको सिटमा थिएनन् । पछाडिबाट आवाज सुनेर थाहा भयो, उनी आफू जस्तै अमेरिका सपना पछ्याउँदै हिँडेका अरु ७ जना युवालाई छिटो झर्न भन्दै थिए । गाडी कलंकी आइसकेको थियो ।

म पनि ‘रुकुममा घर खेत बेचेर, ऋण काढेर काठमाडौं आएका हर्क दाइसहित उनका साथीहरू अमेरिका पुग्लान् कि नपुग्लान् ?’ भन्ने सोच्दै ओर्लिएँ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?