+
+

संसदमा उठ्यो खेलाडीलाई पेन्सन दिनु पर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १३:५४
दुर्गाकुमारी गुरुङ ।

२३ साउन, काठमाडौं । राष्ट्रिय सभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरु पनि बनेका छन । यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ । एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्व ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ ।’

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याइन् । ‘विज्ञान र प्रविधिले आश्चर्यजनक ढंगले विकास गरिरहेको छ । कम्प्युटर, इन्टरनेट तथा मोबाइलको प्रयोग बढिरहेको छ । यी साधनहरु युवा अत्यन्तै नजिकका साथी बनिरहेका छन । तर यी साधनहरुको प्रयोगले हाम्रो देशका युवाहरुको हिस्सा बर्बाद पनि हुँदै गइरहेको छ । यसबाट मुक्त गर्न युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गर्ने नीति हुनुपर्दछ,’ उनले भनिन् ।

सांसद गुरुङले युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भए पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?