+
+

मनसुनको बेला हावाहुरी र चट्याङसहित किन भयो वर्षा ?

मौसमविद भन्छन्– यस्तो हुनु सामान्य होइन

विनोद घिमिरे विनोद घिमिरे
२०७९ साउन २५ गते ११:०७

२५ साउन, काठमाडौं । मनसुन उत्तरार्धतिर ढल्किंदै गर्दा काठमाडौं उपत्यकामा गएराति हावाहुरी, मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । वर्षापछि काठमाडौं उपत्यकाका नदी तथा खोलामा आएको बाढीले किनारका बस्ती डुबानमा परे ।

मनसुनका बेलामा राति प्रायः मेघगर्जन र चट्याङविनै वर्षा हुने गरेको मौसमविदहरु बताउँछन् । तर गएराति प्रि-मनसुनको बेला जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परेको थियो ।

मनसुनको बेला यसरी पानी पर्नुलाई सामान्य मान्न नसकिने जल तथा मौसम विज्ञान विभागका मौसमविद हिरा भट्टराई बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘मनसुनको बेला हिजो ठूलो चट्याङ/गड्याङगुडुङ काठमाडौंमा भ्यालीमा जुन देखियो, त्यो सामान्य चाहिं होइन ।’

उनी थप्छन्, ‘यस्तो हुनु भनेको धेरै कम चान्स हो । त्यसलाई नर्मल चाहिं हामी पनि मान्दैनौं ।’ तर यस्तो हुँदै हुँदैन भनेर भन्न पनि नसकिने उनी बताउँछन् ।

मनसुनको बेला मेघ गर्जन र चट्याङसहित गएराति पानी परेको घटना नयाँ भने होइन । गत वर्ष भदौ महिनाको २० गते राति पनि मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको थियो । त्यतिबेला पनि काठमाडौं उपत्यकाका खोला तथा नदीहरुमा आएको बाढी तटीय क्षेत्रका वस्तीमा पसेपछि मानिसहरुलाई उद्धार गर्नुपरेको थियो ।

यस्तो किन हुन्छ ?

मौसमविदहरुका अनुसार अहिले मनसुनको बेला भए पनि प्रि–मनसुनको बेला जस्तो गतिविधि देखिएको छ । गएरातिको मेघगर्जन, हावाहुरीसहितको वर्षा त्यसैको कारण भएको उनीहरुको ठम्याइ छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता बिभूति पोखरेलले पनि समान्यतया मनसुनको बेला मेघगर्जन, हावाहुरीसहित वर्षा नहुने बताइन् । पोखरेलका अनुसार न्यूनचापीय रेखा अहिले दक्षिण (भारततिर) छ । न्यूनचापीय रेखा जहाँ छ, त्यही क्षेत्रमा बढी पानी पर्छ । त्यसैले अहिले नेपालमा मनसुनी प्रणाली कमजोर छ । तर त्यसको जलवाष्पयुक्त हावा भने नेपालसम्म आएको छ । यस्तो वायु बागमती प्रदेश र त्यस वरपर केन्द्रित भएको थियो ।  त्यससँग नेपालको स्थानीयस्तरमा विकसित प्रणाली मिसिएपछि मेघगर्जनसहित वर्षा भयो ।

काठमाडौं उपत्यका, नुवाकोट, रसुवा लगायतका जिल्लामा बाढी पहिरो आउँदा भौतिक क्षति पनि पुगेको छ । सडक र पुल भत्किएका छन् भने धानखेत पनि लेदोमाटो र गेग्रान बहावले पुरेको छ ।

अर्का मौसमविद हिरा भट्टराइले पनि नेपालमा अहिले मनसुनका लागि नयाँ प्रणाली नभित्रिएको तर स्थानीय प्रणालीको प्रभावका कारण हावाहुरी र मेघगर्जनसहित गएराति पानी परेको बताए । ‘अहिले न्यूनचापीय रेखा भारततिर भए पनि कहिलेकाहिं मोइस्चर माथितिर (नेपालतिर) आउन सक्छ । अहिले नेपालमा त्यस्तै भएको छ,’ उनले भने, ‘गएरातिको मेघगर्जन, चट्याङ, हावाहुरी सहितको वर्षा त्यसैको कारण हो ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे अध्यावधिक गरेको विवरण अनुसार गत २४ घण्टामा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको रेकर्डमा ७५.१ मिलिमिटर पानी परेको देखिन्छ । अन्य स्टेसनको तुलनामा यो नै सबैभन्दा बढी वर्षाको रेकर्ड हो । वीरेन्द्रनगरमा ११ र पोखरामा ९ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौंको अधिकतम तापक्रम पनि ३१.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २०.६ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?