
काठमाडौं । सानिमा बैंक लिमिटेडले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ ।
आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफइले सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने उनको भनाइ छ । नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुग्ने उनले बताए । आईएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहने उनले बताए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले एमएसएमई सेक्टरमा कर्जा प्रवाह गर्न केही सहजता हुने बताए ।
उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशिता तथा दीगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नेछ ।
प्रतिक्रिया 4