+
+

एक वर्षमा २ खर्ब ३८ अर्ब वैदेशिक सहायता सम्झौता, ६० प्रतिशत ऋण

नेपालले एक वर्षको अवधिमा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गर्ने गरी दातृ–निकायसँग सम्झौता गरेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन २५ गते २०:०७

२५ साउन, काठमाडौं । नेपालले एक वर्षको अवधिमा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गर्ने गरी दातृ–निकायसँग सम्झौता गरेको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा अनुदान र ऋण गरी कुल २ खर्ब ३७ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ प्राप्त गर्ने सम्बन्धमा दातृ निकायसँग सम्झौता भएको छ ।

सामान्यतया यस्तो सम्झौता अनुसारको ऋण तथा अनुदानमा सञ्चालन हुने कार्यक्रमलाई नेपाल सरकारले बजेटमा राख्ने गर्छ । सोही अनुसार सोध भर्नाका रुपमा यो सहायता प्राप्त हुँदै जान्छ ।

मन्त्रालयका अनुसार सम्झौतामध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋण सहायता हो । जुन कुल रकमको ६०.७८ प्रतिशत हुन जान्छ । ९३ अर्ब ३० करोड रुपैयाँ भने अनुदान सम्झौता हो । जुन कुल सम्झौता भएको रकमको ३९.२२ प्रतिशत हुने तथ्यांकमा देखिएको छ ।

देशबाट अनुदान, संस्थाबाट ऋण

एक वर्षमा भएको सम्झौता अनुसार नेपालले द्विपक्षीय दाता (देश)हरुबाट बढी अनुदान प्राप्ति गर्ने भएको छ ।

बहुपक्षीय दाता (संस्था)हरुबाट भने ऋण प्राप्तिको सम्झौता भएको छ । नेपाललाई अनुदान दिन सम्झौता गर्ने मुलुकहरुमा स्वीट्जरल्याण्ड, जापान, कोरिया, अमेरिकालगायत छन् । युरोपेली युनियनबाट समेत नेपालले अनुदान पाउने गरी सम्झौता गरेको छ ।

ऋण प्राप्त गर्न भने एसियाली विकास बैंक र विश्व बैंक तथा ती संस्था मातहतका निकायसँग धेरै सम्झौता भएको छ । ग्रीन क्लाइमेन्ट फन्डबाट समेत नेपालले वातावरणको क्षेत्रमा काम गर्न ऋण लिएको छ ।

कुन क्षेत्रमा आइरहेको छ ऋण र अनुदान ?

एक वर्षको अवधिमा भएका सम्झौता अनुसार धेरैजसो रकम नेपालको शिक्षा, सरसफाइ तथा वातावरण र उर्जा क्षेत्रमा आउने गरी सम्झौता भएको छ ।

बजेटरी सहायताका रुपमा बहुवर्षीय आयोजनामा लगानी गर्ने गरी समेत नेपालले विभिन्न निकायबाट ऋण प्राप्त गर्ने सम्झौता भएको छ ।

स्वास्थ्य क्षेत्र र त्यसमा पनि कोभिड–१९ महामारी न्यूनीकरणका लागि समेत रकम आउने सम्झौता भएको छ । श्रम र कृषिमा समेत वैदेशिक सहायता आउने गरी सम्झौता भएको छ ।

कुन निकायबाट कति ?

वैदेशिक सहायतामा ऋणतर्फ सबैभन्दा धेरै रकम लिने गरी विश्व बैंक र यस मातहतको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नेपालले सम्झौता गरेको छ ।

विश्व बैंकले यस वर्ष बजेटरी सहायतामा १८ अर्ब, शिक्षामा १२ अर्ब ९२ करोड र स्वास्थ्यमा ८ अर्ब १ करोड रुपैयाँ उपलब्ध गराउने गरी सम्झौता गरेको छ । यूएसएडले बजेटरी सहायतामा ७९ अर्ब ७१ करोड रुपैयाँ दिने गरी नेपालसँग सम्झौता गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषसँग बजेटरी सहायताका लागि ४६ अर्ब ७० करोड रुपैयाँ प्राप्त हुने गरी सम्झौता भएको छ । एसियाली विकास बैंकले कोभिड–१९ का लागि खोप किन्ने प्रयोजनका लागि १९ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ ऋण दिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?