
काठमाडौं । दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘फूलबारी’ निर्माणको औपचारिक घोषणा भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्म छायांकनको तयारीबारे जानकारी दिइयो ।
‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म अभिभावक र सन्तानबीचको सम्बन्धमा कथामा बन्न लागेको हो । फ्यामिली ड्रामा जनरामा बन्न लागेको फिल्ममा विपिन र अरुणा कार्की मुख्य भूमिकामा छन् ।
यी दुई जना कलाकारले ५८ वर्षे दम्पतीको चरित्र चित्रण गर्दैछन् । फिल्ममा मिरुना मगर, सिर्जना सुब्बा, प्रियंका कार्की, लोकेन्द्र लेखकको समेत अभिनय हुनेछ । विपिनले पहिलोपटक निर्देशक गुरुङसँग सहकार्य गर्न लागेका हुन् भने दयाहाङ र मिरुनाको ‘कबड्डी ४’ पछिको सहकार्य हो ।
भदौदेखि छायांकन सुरु हुने फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई मनिष ढकालले निर्माण गर्नेछन् ।अमेरिकी प्राविधिक जोस हेरमले फिल्म छायांकन गर्नेछन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ । यशोधा फिल्मसको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4