+
+

कांग्रेसका शीर्ष नेतालाई टिकट सुनिश्चित गर्ने विकल्पको खोजी

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन २६ गते २०:३८

२६ साउन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि चार नीतिगत आधार तय गरेको छ ।

जसमध्ये एक हो, प्रतिनिधिसभा निर्वाचन २०७४ को प्रत्यक्ष निर्वाचन । २०७४ मा प्रत्यक्षतर्फ गठबन्धनमा आवद्ध दल जहाँ जितेको छ, त्यो सिटमा स्वतः दाबी रहने कार्यदलमा रहेका नेताहरुले बताएका छन् ।

तर यो सहमति गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुले नै टिकट नपाउने अवस्था देखिन्छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए । श्रेष्ठ हाल सत्तारुढ गठबन्धनमा रहेको दल एकीकृत समाजवादीमा छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । अरु नेताहरुको पनि यस्तै अवस्था छ ।

यस्ता क्षेत्रहरुको कसरी बाँडफाँट गर्ने भनेर विकल्पबारे छलफल सुरु भएको कार्यदलका एक सदस्य बताउँछन् । ‘कांग्रेसका कतिपय नेताहरुलाई टिकट नदिई भएको छैन, तर उहाँको निर्वाचन क्षेत्रमा अघिल्लो पटक गठबन्धनकै अर्को दलका उम्मेदवार विजयी भएका छन्’, ती सदस्य भन्छन्, ‘माओवादीतर्फ पनि त्यस्ता निर्वाचन क्षेत्रहरु होलान् ।’

दलहरुको आफ्नो अप्ठ्यारो बुझ्न गठबन्धनमा आवद्ध दलहरुबीच द्विपक्षीय सम्वाद गर्ने सहमति भएको छ । ‘अघिल्लोपटक जितेका केही ठाउँमा त्यही दलका उम्मेदवार नहुन पनि सक्छन् । कांग्रेसमा धेरै आकांक्षी छन्’, कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने, ‘कांग्रेसका माथिल्लो तहका नेताहरुको व्यवस्थापनको चुनौती छ । तर, अरु दलले अघिल्लोपटक जितेको क्षेत्र संख्या घट्दैन ।’

बिहीबारको बैठकमा संसदमा रहेको दलहरुको संख्या, स्थानीय निर्वाचन २०७९ को जनमत र पार्टीको संवेदनशीलता लगायतलाई आधार बनाउने नीतिगत समझदारी भएको छ ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसले ३४.३ प्रतिशत मत पाएको छ भने माओवादीले १३, जसपाले ५, एकीकृत समाजवादीले ३.७ मत पाएको छ । हालको संसदमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५०, एकीकृत समाजवादीका २४, जसपाका १३ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रत्यक्षतर्फ माओवादीले ३६, एकीकृत समाजवादीले १२ (तत्कालीन समयमा एमालेबाट), जसपाले ८ र जनमोर्चाले १ सिट जितेको थियो । त्यसमा थप क्षेत्र बढाउने उनीहरुको बल हुनेछ । कांग्रेस नेताहरुले भने ९० देखि १०० सिट आफ्नो दलले पाउनुपर्ने कर्त गर्दै आएका छन् । यद्यपि कार्यदलमा यसरी छलफल भइसकेको छैन ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?