+
+

अर्जुन साउद : मुम्बईदेखि राष्ट्रिय टिमसम्म

नमिता दाहाल नमिता दाहाल
२०७९ साउन २८ गते १८:३४

२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए । क्रिकेट प्रशिक्षण गरी रहेका बेला उनलाई भाइहरुले फोन गरेर राष्ट्रिय टिममा परेको खबर सुनाए ।

‘सुरुमा त पत्यार नि लागेन तर मिडियाबाट पनि फोन आएपछि भने विश्वास भयो’, सन्दीप लामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोलीमा परेका एक मात्र नयाँ अनुहार अर्जुन साउदले भने ।

नेपालले पछिल्ला अन्तर्राष्ट्रिय शृंखला खेल्दा नयाँ नयाँ खेलाडीले डेब्युको अवसर पाइरहेका छन् । केन्या भ्रमणका लागि पनि अर्जुनको रुपमा नयाँ अनुहार राष्ट्रिय टिममा छन् । राष्ट्रिय टिममा समावेश भएको थाहा पाएपछि उनी भोलिपल्टै काठमाडौं आइपुगे ।

मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोलीबाट पहिलो खेल खेल्ने लक्ष्यसहित केन्या जाँदैछन् । भदौ १९ देखि २० गतेसम्म नेपालले केन्यासँग पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ ।

घरेलु प्रतियोगितामा सिनियर र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै प्रभाव छाड्न सफल अर्जुनले केन्या भ्रमणलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने  प्लेटफर्मका रुपमा हेरेका छन् ।

तर उनले यति छिटै राष्ट्रिय टिममा पर्छ भनेर सोचेका थिएनन् । उनी भन्छन्,‘सिनियर टोलीमा परेको कुरा थाहा पाउँदा निकै खुसी भएँ । आफूले गरेको प्रदर्शन र मेहनतले एकदिन राष्ट्रिय टोलीमा पर्छु भन्ने आश त थियो तर यहि सिरिजमा पर्छु भन्ने सोचेको थिइन् ।’ अर्जुनले अनलाइनखबरसँग भने, ‘कसलाई रहर हुँदैन र राष्ट्रिय टोलीमा आफ्नो जर्सी लगाएर खेल्ने त्यसैका लागि यति मेहनत गरी रहेको थिएँ ।’

भारतमै जन्म र क्रिकेट सिकाइ  

सन् २००३ मा भारतको मुम्बइमा जन्मिएका अर्जुनले १० वर्षको उमेरबाट क्रिकेट खेल्न थालेका थिए । उनको परिवार भारतमै छन् । उनले मुम्बईबाट नै क्रिकेट सुरु गरे । जहाँ नाम चलेका खेलाडीहरुले खेल्छन् । उनको घरमा पारिवारिक अवस्था राम्रो थिएन ।

क्रिकेट किट किन्दिन सक्ने वातावरण पनि थिएन । तर उनलाई मैदानमा अर्काले क्रिकेट खेलेको देख्दा क्रिकेट खेलौखेलौ लाग्थ्यो । अर्काको क्रिकेट किट मागेर क्रिकेट सिक्थे । भने, ‘परिवारको अवस्था राम्रो थिएन । खान पनि समस्या थियो । त्यस्तो अवस्थामा क्रिकेट किट मागेर मेरो क्रिकेटलाई अगाडी बढाएँ ।’

त्यसपछि छिमेकी दाइहरुको सहयोगमा अर्जुन दिगम्बर पार्दलेको प्रशिक्षणमा पुगे । ‘सरबाट नै कसरी क्रिजमा बस्नदेखि लामो समयसम्म टिकेर खेललाई कसरी अघि बढाउने भनेर सिकेँ । भारतको प्रशिक्षणको अनुभव नै मैले आजसम्म उपयोग गरी रहेको छु’, भारतको प्रशिक्षण र अनुभवले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो ।

दिगम्बारका ‘अर्जुन’

अर्जुनका प्रशिक्षणक दिगम्बर ।

उनै प्रशिक्षक दिगम्बर पार्दले नै अर्जुनको लागि क्रिकेटका दौणचार्य हुन् । उनले अर्जुनजस्ता सयौंलाई क्रिकेट सिकाउँथे । १० वर्षअघि ६ देखि ७ सय विद्यार्थीलाई क्रिकेट सिकाउँथे । ती मध्ये एक थिए अर्जुन । अर्जुनको क्रिकेट पाठशालामा दिगम्बर ‘दौर्णचार्य’ बने । त्यहि भारतीय गुरुका उत्पादन अर्जुन अहिले नेपाली क्रिकेटका आशलाग्दा खेलाडी बनेका छन् ।

‘हामी बिहान पाँच बजेबाट प्रशिक्षण गर्थ्यौं । हामीसँग पिच थिएन मैदानमा भएका ढुंगालाई जम्मा पारेर विकेट बनाउँथ्यौं त्यसरी नै सुरुसुरुमा क्रिकेट सिकियो ।’ अहिले पनि उनका प्रशिक्षक दिगम्बर उनको प्रशिक्षणका लागि धनगढी आएका थिए । ‘म अहिले पनि उहाँसँग नै प्रशिक्षण गरिरहेको थिएँ । मलाई क्रिकेट सिकाउन उहाँ भारतबाट नेपाल आउनु भएको थियो ।’ दिगम्बरले सिकाएको ज्ञानलाई नै अहिले अर्जुनले नेपालका लागि प्रयोग गर्दै आइरहेका छन् ।

उनी भारतमा पनि घरेलु प्रतियोगिताहरु खेल्थे, तर उनलाई नेपालको राष्ट्रिय टोलीबाट खेल्ने सपना थियो । ‘आफ्नो देशको जर्सी लगाएर खेल्ने सपनाले म तीन वर्ष अघि नेपाल फर्किएको हुँ ।’ अर्जुनले भने । ‘आज मसँग हातमा सिपमा छ । त्यति बेला केही थिएन । मेरो क्रिकेट यात्रा तल भन्दा माथि माथि गइ रह्यो जसका कारण मलाई आत्मसन्तुष्टि भइ रहेको छ ।’ उनको खेल करिअर अगाडी बढेको देख्दा उनको प्रशिक्षक दिगम्बर पनि निकै खुसी छन् ।

घरेलु प्रतियोगिताबाट राष्ट्रिय टोलीसम्मको यात्रा

भारतबाट धनगढी प्रिमियर लिग खेल्न तीन वर्षअघि नेपाल आएका अर्जुनले लगातार राम्रो गर्दै गए । डीपीएल आयोजक सुबास शाहीले उनलाई नेपाल बोलाएका थिए । राम्रो प्रदर्शन पश्चात उनको नेपालमा क्रिकेट करिअर अगाडि बढ्यो । तीन वर्ष अगाडि कसैले नचिन्ने अर्जुनले विस्तारै क्रिकेटमा आफ्नो पहिचान बनाउँदै गए ।

घरेलु प्रतियोगितामा अर्जुन विष्फोटक ब्याटिङ र राम्रो विकेटकिपरको रुपमा चिनिन्छन् । सुदूरपश्चिमका अर्जुन साउदले गत डिसेम्बरमा नेपालको यू–१९ टोलीबाट एसिया कपमा शारजाहमा श्रीलंका यू–१९ विरुद्ध ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रन बनाएका थिए ।

त्यसअघि, काठमाडौंमा भएको यू–१९ राष्ट्रिय प्रतियोगिताको ७ खेलमा १ शतक र १ अर्धशतकसहित २ सय ४१ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा थिए । उनले सुदूरपश्चिमबाट मधेश प्रदेशविरुद्ध ८५ बलमा १४ चौका र ५ छक्कासहित १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले । प्रदर्शनमात्र होइन उनको विकेटकिपर शैली पनि त्यति नै राम्रो छ ।

अझ भन्दा उनी अलराउण्डर पनि हुन् । उनी ब्याटिङ र विकेट किपिङसँगै मौकामा आइपरे अफस्पिन बलिङ पनि गर्छन् ।

मधयक्रममा ब्याटिङ गर्ने अर्जुन खेलको परिस्थिति अनुसार खेल्न सिक्नुपर्ने बताउँछन् । ‘कुन खेलमा कस्तो परिस्थिति हुन्छ त्यहि अनुसार मैले खेल्न सिकिरहेको छु । भारतमा पनि गुरुले त्यहि अनुसार नै सिकाउनु भएको छ ।’

उनलाई मध्यक्रमको ब्याटिङ र विकेटकिपिङ गर्न सहज लाग्छ । त्यसमा पनि विकेटकिपङ उनको फेभरेट हो । यस अघि उनले यू–१९ एसियन कपमा पनि दुवै भूमिकामा अब्बल निस्किएका थिए । ‘टोलीलाई फरक परिस्थितिमा फरकफरक क्षमता चाहिन्छ । विकेटकिपिङ खेलको मेरुदण्ड हो । खेल बुझ्न सजिलो हुन्छ ।’ भारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीबाट प्रभावित अर्जुनले भने । जस्तोसुकै परिस्थितीमा पनि सम्हालिएर खेल्नु र टोलीका लागि शतप्रतिशत दिन उनले यी दुई जनाबाट सिकेका छन् । ‘मेरो आइडल रोहित शर्मा हुन्, तर पछिल्लो समय विराट कोहलीले लयमा नहुँदा भोगेको आलोचना र त्यस परिस्थितीमा पनि उनको धैर्यताले मलाई ठूलो प्रेरणा दिन्छ ।’

भारत र नेपालमा लिएका प्रशिक्षणमा उनले केही कुराहरुमा फरक पाएका छन् । भारतीय प्रशिक्षणमा खेलाडीको स्किलमा धेरै काम हुने र नेपालमा बलिङ र ब्याटिङलाई धेरै प्राथमिकतामा राखेर प्रशिक्षण गरिएको उनले अनुभव गरे । ‘सबैभन्दा ठूलो फरक भनेको नेपालमा स्किलमा भन्दा बढी बलर भए बलिङ र ब्याटर भए ब्याटिङमा मात्र प्रशिक्षण गर्छन्, स्किलमा कम ध्यान दिइन्छ ।’

नेपाली टोलीको अवसर र चुनौती

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा यू-१९ टिमका खेलाडीहरुले इन्ट्री मार्ने क्रम जारी छ । यू १९ का कप्तान देव खनालसहित आदिल बलम र बसिर अहमद पछिल्लो पटक स्कटल्याण्ड भ्रमणमा टिममा थिए । विवेक यादले पनि कमब्याक गरेका छन् ।

अहिले विकेटकिपर ब्याटर अर्जुनको इन्ट्री भएको छ । पछिल्लो समय नेपाली टिममा नयाँ खेलाडीको आगमनले टिममा प्रतिस्पर्धा पनि बढाइरहेको छ ।

अर्जुनले पनि यसलाई बुझेका छन् । उनले केन्यासँगको सिरिजलाई आफ्नो परिक्षाका रुपमा लिएका छन् । ‘मैले सिरिजका बारेमा हालसम्म केही सोचेको छैन । मनोवैज्ञानिक रुपले तयार छु,’ अर्जुनले भने ।‘ मलाई थाहा छ मेरो जिम्मेवारी, क्षमता के हो भनेर मैले त्यहाँ गएर खेल्ने अवसर पाउँला नपाउँला त्यो आफ्नो ठाउँमा छ । पाएको अवस्थामा मैले आफूलाई प्रमाणित गर्नु छ ।’

उनले खेलाडी शारीरिक रुपमा फिट हुनुका साथै मानसिक रुपले पनि बलियो हुनु बुझेका छन् । ‘खेलाडीमा जुनसुकै देशको विरुद्ध खेले पनि हाम्रा टोली राम्रो र हामी सक्षम छौं भनेर खेल्नुपर्छ ।’

पछिल्लो समय नेपाली टिमको ब्याटिङ एकरुमको छैन । उतारचढाव आइरहेको छ । त्यसैले अर्जुनले बफ्नो लागि अबको याधत्रा अवसर र चुनौती दुवै भएको बताए । ‘मेरो लागि आफूलाई ब्याटिङ र विकेटकिपिङमा प्रमाणित गर्नु नै मेरो चुनौती तथा गर्न सकेमा अवसर पनि हो ।’ अर्जुनले भने । ‘राष्ट्रिय टोलीमा मौका पाउनु अवसर हो भने पोजिसनमा खरो उत्रिन सक्नु मेरो चुनौती हो ।’

नेपाली टिममा हाल आसिफ शेर्ख नम्बर वान विकेटकिपरको रुपमा छन् । विकेटकिपरको विकल्प र मध्यक्रमका ब्याटरको रुपमा अर्जुनले भविष्यका लागि राम्रो सम्भावना देखाएका छन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?