+
+

राजनीतिमा ‘जोगी सर’, मोरङ ५ बाट चुनाव लड्ने

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन २८ गते १०:०७

२८ साउन,विराटनगर । जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल राजनीतिमा आएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका मण्डल राजनीतिमा आएका हुन् ।

नेकपा एमालेसँग जोडिएका उनले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि मोरङको क्षेत्र नम्बर ५ रोजेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल दाबेदार छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट शिवकुमार मण्डल निर्वाचित भएका थिए । क्षेत्र नम्बर ५ मा पछिल्लो समय सत्तागठबन्धनमा रहेको जसपाले पनि दाबी गरिरहेको छ ।

क्षेत्र नम्बर ५ मा एमालेबाट शीर्ष नेता दाबेदार नभएका कारण मण्डलले टिकट पाउने पक्का जस्तै छ । पार्टी नेतृत्वले टिकट दिने बचन दिएपछि चुनावी तयारी सुरु गरेको उनी बताउँछन् ।

२०५४ सालमा मण्डलले जीवन विकास समाज सुरु गरेका थिए । संस्था सुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा नि:शुल्क ट्युसन पढाए । तत्कालीन अमाहीवरियाती गाबिस (हाल धनपालथान गाउँपालिका २) मा २०५२देखि २०५४ सालसम्म नि:शुल्क ट्यसन पढाएका कारण ‘जोगी सर’को नाम पनि पाएका थिए । २५ वर्ष लघुवित्त क्षेत्रमा बिताएका उनले राजनीतिमा आउनुपर्ने कारण यसरी सुनाए –

देशको दुरदराजमा रहेका नागरिकको जीवनस्तर उकास्नका लागि सहयोग गरौं भन्ने उदेश्यले जीवन विकास समाज सुरु गरियो । यो संस्थामार्फत काम गर्न थालेको २५ वर्ष भयो । हामीले लघुवित्तसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गरिरहेका छौं ।

दुई वर्षभित्र तीन सय बेडको सर्वसुलभ अस्पताल सञ्चालन गर्दैछौं । जसका लागि भवन निर्माण भइरहेकेा छ । हामीले जीवन विकास समाजको कार्यालयमा चार वर्षयता पोलिक्लिनिक सञ्चालन गरिरहेका छौं । जसको पूर्जा शुल्क कोसी अस्पतालकेा भन्दा सस्तो छ । अन्य सेवा शुल्क कोसी अस्पतालको बराबर छ ।

हाम्रो देशमा जसलाई राम्रो शिक्षा चाहिएको छ,उसले पाएको छैन, जसलाई सर्वसुलभ स्वास्थ्य सेवा चाहिएको छ उसले पाएको छैन । खासगरी विपन्न नागरिकले सेवा पाएका छैनन् । त्यही भएर यी क्षेत्रमा हामीले काम गरिरहेका छौं ।

जीवन विकास मार्फत काम गर्दा हामीले केही क्षेत्रमा मात्रै परिवर्तन ल्याउन सक्छौं भन्ने बुझें । यो दौरानमा देशको परिवर्तनका लागि हामी जस्ता मानिसहरू राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो ।
काम गर्ने क्रममा समस्या र सम्भावनाहरु देखेको छु । समस्या सुधार गर्दै सम्भावनालाई पछ्याउँदा नीति चाहिन्छ, नीति राजनीतिले बनाउँछ । अब म नीति निर्माण गर्ने ठाउँमा पुगेर विपन्न नागरिकको क्षेत्रमा काम गर्ने योजनामा छु ।

हाम्रो शिक्षा, स्वास्थ्य विग्रनुको कारण नीति हो । भ्रष्टाचार मौलाएको नीति कै कारण हो ।

हामी कहाँ खाद्यान्य सामाग्रीदेखि लत्ताकपडा र लक्जरियर्स विदेशबाट सामान आयात हुन्छ । त्यसका लागि सहज छ । तर मल आयात हुदैन् । यसमा ठूलो राजनीति हुन्छ । मल आएन भने उत्पादन कम हुन्छ, उत्पादन कम हुँदा बाहिरबाट आयात गर्नुपर्छ । खाद्यान्यमा परनिर्भर बनाउन मलको राजनीति भइरहेको छ । अहिलको राजनीतिक नेतृत्वले यस्ता विषयमा ध्यान दिएन् ।

परिवर्तनका लागि कसै न कसैले त सुरुवात गर्नपर्छ । अहिलेसम्म जति परिवर्तन भएका छन्, ती परिवर्तनको सरुवात गर्ने त एक जना नै छन् । परिवर्तन एक जनाले सरुवात गर्न सक्छ । मैले परिवर्तनको सुरुवात गर्न सक्छु जस्तो लाग्छ ।

पछिल्लो समय राजनीतिमा युवाहरुको आर्कषण बढेको छ । यो धेरै राम्रो विषय हो । म युवाहरुको आवाज बोलेर अघि बढ्छु । युवाहरु हरेक नागरिकले सर्वसुलभ शिक्षा र स्वास्थ्यको पर्छमा छन् । म पनि छु । तर त्यो नीजिमा मात्रै छन् । सरकारी संस्थामा छैन । राम्रो शिक्षाको सेन्टर सरकारी स्कुल छैन । निजीमा पढाउदा इन्जिनियर पढाउन लाग्ने भन्दा बढी खर्च लाग्छ । सरकारी स्कुललाई सुधार गरे खर्च जोगाउन सकिन्छ । जुन कुरा नीति निर्माणमा ध्यन दिए सम्भव छ ।

राम्रो काम गर्नका लागि पब्लिक फिगर हुनुपर्छ, भन्ने पनि छैन । म आफ्नो क्षेत्रमा काम गरेर निखारिएको छु । काम गर्न सक्ने क्षमता छ । म किसानको पक्षमा काम गर्छु । गाउँ गाउँमा रोजगारीको अवसर सृजना गर्ने पक्षमा छु । धेरैलाई रोजगारीको अवसर सिर्जना गरिरहेका छौं । अमेरिकामा किसान प्राडो गाडी चड्छन् । त्यहाँ कृषिलाई सम्मानित पेसाको रुपमा हेरिन्छ । जुन नीतिका कारण सम्भव भएको हो । नेपालमा पनि सम्भव छ ।

लक्ष्य द्रहो लिनुपर्छ, विचमा अवरोधहरु आउँछन् । विचलित नभइ लागे सफल बनिन्छ । जुनकुरा जीवन विकास समाजमार्फत मैले सिकेको छु । सुरुमा हामीसँग अफिसमा २ जना मान्छे आउदा बस्ने कुर्सी थिएन् । त्यसबेला सोच्थे एक दिन जीवन विकास समाजको अफिस आउदा मान्छेलाई जुत्ता बाहिरै खोलौ खोलौं लागोस् । आज सपना पुरा भएको छ । जीवन विकास समाजले हजारौंलाई रोजगारीको अवसर सृजना गरेको छ । आफ्नो भवन पनि राम्रो बनाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?