+
+
कथा :

चुम्बन

म आमाको छेउमा गएँ । आफूले लाखौं पीडा लुकाएर भए पनि मलाई हाँस्न प्रेरणा दिने आमाका चुम्बनहरूलाई सम्झें । अनि मैले पनि आमालाई अन्तिम पटक चुम्बन गरें- आमाको आत्माको चिरशान्तिको लागि, अनि आमाको जोसिलो र कर्मठ जीवनको अन्त्यका लागि ।

केशवप्रसाद भट्टराई केशवप्रसाद भट्टराई
२०७९ साउन २८ गते १९:१८

“कान्छा पानी…..”

आमाले सकी-नसकी सुस्त आवाजमा बोलाउँदा म हत्तपत्त उठेर पानीको गिलाससँगै खाटमा पुगें । अक्सिजन मास्कले जेलिएको आमाको मुखबाट मास्कको अलिकति भाग उघारेर एक चम्चा पानी हालिदिएँ ।

मुख सुक्यो कान्छा, मुख सुक्यो …. आमा विस्तारै बोल्नुभो … के भएको होला मलाई … -दिग्दार लाग्दो आवाजमा बोल्दै अर्कोपट्टि फर्किनुभो ।

बाबा …. (अर्को खाटबाट छोरीले बोलाउन थाली) ।

फेरि चट्याङसहितको पानीका कारण आज आफैंलाई पनि केही असहज महसुस भएको थियो ।
छोरीलाई थुम्थुम्याउन म अर्को खाटतिर लागें ।

सुत कान्छो सुत … (उसलाई भित्तापट्टि फर्काएर ढाडमा धाप मार्दै सुताउन खोजें) ।

उसले मेरो देब्रेहात तानेर छातीमा टाँसेर सुती । सायद म छोडेर जान्छु भनेर होला ।

तर शरीर छोरीसँगै भए पनि आँखा आमातिर नै केन्दि्रत थिए । मास्क मुखबाट निस्कनु भनेको आमाका लागि अति नै चुनौतीपूर्ण थियो । निद्रामा घरी-घरी मास्क निकाल्नुहुने भएकाले म जागै हुन अभ्यस्त नै थिएँ ।

आमालाई हेर्न छोरीबाट हात फुस्काउनु थियो । त्यसैले विस्तारै हात तान्ने कोसिस गरें । उसले कस्सेर हात समाएकी थिई । तर निदाइसकेकी हुनाले विस्तारै हात निकालें । तर एक्कासी हात तानी अनि हत्केलामा चुम्बन गरी र अर्कोपट्ट िफर्केर आफैं सुती ।

रातको सन्नाटामा निरन्तरको पानीका कारण बाहिरको वातावरण ठीक थिएन । उता आमालाई अक्सिजनको सहारामा कृतिमतामा बचाउनुपर्ने थियो । छोरी निदाएकी छ कि छैन भनेर मोबाइलको मन्द उज्यालोमा विस्तारै हेरें । मस्त निद्रामै थिई । तर पनि उसको चुम्बनले फरक महसुस गरें ।

हुन त उसका लागि संसारभरिको सबैभन्दा ठूलो सहारा भनेकै म नै त थिएँ । छोरीको मप्रतिको विश्वासको कुनै सीमा पनि त छैन । उसले सोच्ली बाबा-आमा भएपछि एटम बमको विस्फोटबाट पनि हामीलाई जोगाउन सक्नुहुन्छ । आजका लागि मेरा हातहरू उसका लागि सर्वशक्तिमान अस्त्रबाट जोगाउने प्रतिरक्षाका साधन थिए ।

ख्वाक्क ! ख्वाक्क ! ख्वाक्क !

आमाको खोकी सुनेर फेरि आमातिर लम्कें । मास्क त ठीकठाक नै थियो । अक्सिजन लेभल कम भयो होला सायद । लेभल बढाएँ ।

आफूले लाखौं पीडा लुकाएर भए पनि मलाई हाँस्न प्रेरणा दिने आमाका चुम्बनहरूलाई सम्झें । अनि मैले पनि आमालाई अन्तिम पटक चुम्बन गरें- आमाको आत्माको चिरशान्तिको लागि, अनि आमाको जोसिलो र कर्मठ जीवनको अन्त्यका लागि

फेरि छोरीका छेउमा पल्टिएर सोच्न थालें । यो सानी बच्ची । मैले हजारौं पटक चुम्बन गरें होला । एक महिना.. दुई महिना गर्दै जति जति उसको उमेरको चक्र बढ्दै जान्थ्यो त्यति नै उसको अनुहारमा आएको चमकले हामीलाई चुम्बन नगरिकन स्थिर हुन दिंदैनथ्यो ।

हाम्रा चुम्बनहरू उसका लागि मायाका, हर्षका अनि खुसीका सूचक थिए । तर आज यो अन्जान बाल मनस्थितिले मलाई चुम्बन गर्न लगायो । किन किन उसको चुम्बन मेरा लागि प्रेरणाको चुम्बन जस्तो लाग्यो । मैले मृत्युसँग लडिरहनुभएको मेरी आमालाई हेरें । आमाले पनि त मेरा नटखट बाल-लीलाहरूलाई हेरेर चुम्बनका वर्षाहरूलाई रोक्न सक्नुभएको थिएन होला । तर आफ्नै जीवनकालमा चाहिं कति चुम्बनहरू पाउनुभयो ?

ती चुम्बनहरू जसभित्र माया, उत्साह तथा प्रेरणाहरू जोडिएका हुन्छन् । मैले आमाको वयोवृद्ध अनुहार हेरें । अस्ति आमालाई हेर्न आउनुभएको माइजूलाई सम्झें ।

“बाबु, आमा र म त सानैका साथी पो त ! मेरो ६ वर्षमा बिहे भएको, आमाको एक वर्षपछि ७ वर्षमा ।”

हाहाहा …. माइजू उन्मुक्त हाँसो हाँस्नुभयो । आमाले पनि मुस्कुराएर मौन समर्थन जनाउनुभयो ।
ती बृद्ध आमाहरू आफ्नो विगत सम्झेर आज हाँसे । तर ६/७ वर्षका उमेरमा घर गरिखान माइती घर छोडेका यी आमाहरूले आफ्नो जीवन कतिको हाँसेर बिताए ? मैले मेरो सहारामा सुतेकी ६ वर्षकी छोरीको अनुसार हेरेें । उसको गालामा मन्द चुम्बन गर्न मन लाग्यो । ऊ त मेरो ओतमा मस्त निद्रामा छे तर मेरी आमा ६ वर्षको उमेरमा सायद बुहार्तन सम्हाल्ने तालिम लिंदै हुनुहुन्थ्यो । कलिला हातहरूलाई समाएर कखरा सिकाउने बेलामा आमा सासूका खुट्टामा तेल लगाउने कुराको अभ्यास गर्दै हुनुहुन्थ्यो । सायद बाल्यावस्थामा आमाले अग्रजबाट प्राप्त हुने चुम्बनले दिने ऊर्जाको महसुस गर्न पाउनुभएन ।

त्यसो त बा-आमाका चुम्बनहरू उमेरको वृद्धिसँगै हराउँदै जान्छन् । मैले अर्को कोठामा सुतेकी छोरीलाई सम्झें । काखमा राखेर ब्ल्याङ्केटले गुटुमुटु पारेर सुताएको हिजो जस्तो लाग्छ, आज ऊ उत्तर-बाल्यावस्थामा पुगिसकी । अब क्रमिक रूपमा उसले पाउने चुम्बनहरूमा प्रेरणा र मायाको मात्र मिश्रण नभएको हुन सक्छ । त्यसो त मेरै वयस्क जीवनले पूर्णतया निस्वार्थ, प्रेरणादायी अनि निष्कपट चुम्बन त कहाँ भेट्यो र ? उमेरसँगै चुम्बनका प्रकार र उद्देश्य पनि फेरिंदै जाँदा रहेछन् । चुम्बन फगत यौनिकताको परिचायक मात्र बन्न पुग्दारहेछन् ।

मैले आमाको चाउरी परेको अनुहारलाई नजिकबाट नियालें । अनुहारमा परेका प्रत्येक रेसाहरूले संघर्ष, हैरानी, अपमान तथा करुणाका कथाहरू बोकिरहेका थिए । हुन पनि आमाभित्र धेरै कथा थिए । बुवाको जागिरे जीवनका कारण आमाको वयस्क जीवन प्रायः एक्लै बित्यो । छोराछोरी सम्हाल्दै दैनिक काममा जुध्नुपर्ने संघर्षका कथा त छँदैथिए आमाको सरलताको फाइदा उठाएर दिएका मानसिक पीडाका कथाहरू झन् विकराल खालका थिए ।

कोदोमा तोरी मिसाइदिएर आमामाथि आरोप लगाइदिएको मानसिक दबावको पीडा खम्प नसकी बेंसीको गोठमा रात कटाएको कथा, सुत्केरीको प्रसव पीडामा घरमा एक्लै हुँदाको पीडा अनि भदौरे झरीमा एक्लै माइत जाँदा बाटोमा बाघसँग जम्काभेट भएको कथा आमाका जीवनका अविस्मरणीय कथा थिए जुन हामीसँग बारम्बार सुनाउने गर्नुहुन्थ्यो । बुवाबाट प्राप्त गर्नुपर्ने प्रेमिल भाव आमाले कहिले प्राप्त गर्नुभयो होला र ? परिवारबाट प्राप्त गर्ने सहानुभूतिको त आमालाई जहिल्यै खडेरी परिरहृयो ।

फेरि हामी पाँच सन्तानलाई हुर्काउँदा हुर्काउँदै आमाले सायद आफ्ना लागि आवश्यक माया तथा प्रेरणारूपी चुम्बनहरूको रसस्वादन नै गर्न पाउनुभएन ।

“कान्छा ….”

आमाको बोली सुन्ने वित्तिकै म फेरि अर्को खाटतर्फ गएँ ।

“जाडो भयो, सिरक ओढाइदेन ।”

मैले हत्तपत्त सिरक ओढाइदिएँ ।

“खरो भयो । पानी हालिदेन”, टाउकोतिर संकेत गर्दै आमाले भन्नुभयो ।

मैले चिसो पानीले टाउको भिजाइदिएँ ।

विगत केही दिनदेखि आमाको स्वास्थ्य अस्थिर बन्दै गइरेहको थियो ।

चट्याङसहितको पानीले रातलाई अझ विरक्त बनाएको थियो । म पुनः छोरीसँग आएँ । किन किन आज निद्रा पनि लागिरहेको थिएन । हुन त निदाउनु मेरा लागि प्रत्युत्पादक हुन सक्थ्यो, कारण आमालाई दुई दिन भए पनि बढी बचाउनु थियो ।

फेरि छोरीको चुम्बनलाई सम्झें । उसको बालसुलभ मनमा के खेलिरहेको होला ? मलाई चुम्बन गरेर उसले के अभिव्यक्त गर्न खोजेकी होली । वास्तवमा हाम्रो जीवन नै स्पर्शमा आधारित छ । मायालु स्पर्शहरू जीवनका अचूक औषधि हुन् भने स्वार्थपूर्ण स्पर्श मन्द विष । छोरीको त्यो निर्दोष स्पर्श पनि मेरा लागि मायाको उपहार थियो- सायद मेरो सहारामा ऊ खुशी थिई ।

तर म फेरि किंकर्तव्यविमूढ भएँ । के यी आमा जसले हामीलाई सहारा दिनुभयो । म आमाको छेउमा गएर बोलाएँ :

आमा ! आमा !

आमा बोल्नुभएन । अक्सिजन मास्क मुखमै भए पनि श्वासप्रश्वासको चाल शून्यप्रायः थियो । म अलि आत्तिएँ । मनमा चिसो पस्यो ।

हैन आमालाई के भयो ? मनमनै डराएँ ।

सबै आफन्तलाई बोलाएँ । राति नै आमालाई हस्पिटल लैजाने कुरा भयो ।

इमर्जेन्सी वार्डमा पुर्‍याउँदा नपुर्‍याउँदै डाक्टरले आमालाई मृत घोषणा गरे ।

मैले आमाको अन्तिम पटक दर्शन गरें । सायद अब म आमाबाट मात्र होइन “आमा” भन्ने शब्दबाट पनि विमुख थिएँ । आमालाई टोलाएर हेरें । ती अव्यक्त हन्डर र ठक्करहरूलाई सम्झें जुन आमाले आफ्नो यौवनकालमा भोग्नुभएको थियो । कल्पना गरें अहिले सधैं हाँस्न र बोल्न खोजिरहने आमाले यौवनकालमा कति पटक दिल खोलेर हाँस्न पाउनुभयो होला ! आमाका आँखाबाट हर्षका आँसु बढी निस्किए होला कि पीडाका ?

म आमाको छेउमा गएँ । आफूले लाखौं पीडा लुकाएर भए पनि मलाई हाँस्न प्रेरणा दिने आमाका चुम्बनहरूलाई सम्झें । अनि मैले पनि आमालाई अन्तिम पटक चुम्बन गरें- आमाको आत्माको चिरशान्तिको लागि, अनि आमाको जोसिलो र कर्मठ जीवनको अन्त्यका लागि ।

(दिवंगत आमाको सम्झनामा लेखिएको कथा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?