२० मंसिर, गोरखा । निर्माण कम्पनीले अलपत्र छाडेको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला मोटरेबल पुलको काम अघि बढेको छ । एक महिनाअघिबाट काम पुन: सुचारु भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
बेनिघाट–आरुघाट–लार्के सडकखण्डमा पर्ने उक्त पुलको काम करिव डेढ बर्षदेखि ठप्प थियो ।
‘गत बर्ष एक प्रतिशत पनि काम भएन,’ कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले भने, ‘यो बर्षपनि छठ पछाडी मात्र काम सुरु भएको हो ।’ उनका अनुसार हाल स्ल्याप ढलानका लागि फर्मा र डण्डीको काम भइरहेको छ । डाइभर्सन बाटो बनाएर माटो फिलिङ गर्ने काम सम्पन्न भइसकेको छ ।
ठेक्का सम्झौता अनुसार पुलको काम गत बर्ष नै सम्पन्न भइसक्नुपर्ने थियो । तर निर्माण कम्पनीको लापरवाहीका कारण हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सूर्याेदय कन्स्ट्रक्सन र कार्यालयबीच ठेक्का सम्झौता भएको छ ।
तोकिएको समयमा काम सम्पन्न नभएपछि कार्यालयले आउँदो असारमसान्त सम्मका लागि म्याद थप गरेको छ । पुल निर्माणका लागि गत बर्ष दुई करोड रकम विनियोजन भएको थियो । तर ठेकेदारले काम नगरेपछि रकम फिर्ता गएको कार्यालयका इन्जिनियर श्रेष्ठले बताए ।
यो वर्ष पनि दुई करोड रकम रहेको उनले जानकारी दिए । उनले भने, ‘अब निरन्तर काम भयो भने असार अगावै पुल बन्छ ।’ गाडी हिंड्ने वैकल्पिक बाटोको अभाव र बर्खाको बेला खोला बढेर काम गर्न सम्भव नहुँदा पनि काममा केही ढिलाइ भएको उनको भनाइ छ ।
४ करोड ३५ लाखमा निर्माण हुन लागेको उक्त पुलको कूल लम्बाई ३५ र चौडाई ८.४० मिटर रहने छ । प्रिस्ट्रेस प्रविधिको उक्त पुल बनेसँगै माछाखोलासम्म बाहै्र महिना मोटर संचालनमा कुनै समस्या नहुने स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4