२० मंसिर, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरू सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत उनले बताए ।
‘लोकतान्त्रिक अभ्यासमा जान्छौ भन्नका लागि पार्टीले सधैं अनुमति दिन्छ । तर आज मुलुकको जुन परिस्थिति छ । जुन प्रकारका चुनौतिहरू छन । यो परिस्थितिमा म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता कमरेडहरूलाई भन्न चाहन्छु– यतिबेला प्रतिष्पर्धा होइन, पार्टीमा एकताको खाँचो छ,’ पोखरेलले भने, ‘सबैलाई एकतावद्ध भएर कमरेड केपी ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्न पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्ने अभियानमा हामी सबै जुट्नेछौँ । यही अनुरोध गर्न चाहन्छु ।’
राष्ट्रिय राजनीतिको चुनौतिलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुन: पार्टी अध्यक्ष बनाउनुपर्ने उनको तर्क थियो ।
महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औल्याउँदै एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्ने समेत उनले बताए ।
‘हाम्रा पुर्खाहरूले कहिल्यै कसैसँग उपनिवेष नभएको मुलुकको रुपमा नेपाल स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितलाई जसरी उचो राखेका छन । त्यसको रक्षा गर्ने एक मात्र पार्टीको रुपमा नेकपा एमाले छ । त्यसको विशेष नेतृत्वमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यस अर्थमा यो अधिवेशनले केपी शर्मा ओलीलाई स्थापित गर्ने होइन, उहाँ राष्ट्रिय राजनीतिमा त्यसै स्थापित नेता हो । आज राष्ट्रिय राजनीतिक एक प्रकारले भन्ने हो भने नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको वरिपरि नै घुमिराखेको छ । चाहे सत्तामा रहेको बखत हो, चासो प्रतिपक्षमा रहेको बखतमा होस् । या सडकमा रहेको बखत होस् । या सिंहदरवारमा रहेको बखत होस्,’ पोखरेलले भने ।
प्रतिक्रिया 4