११ मंसिर, काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताएका छन् ।
८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल टे«ड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षा: वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताए । त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने पोखरेलको भनाइ छ ।
‘हाम्रो समाजमा जुन प्रकारको असन्तोष छ । त्यो असन्तोष पछाडिको कारण भनेको सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम पनि होला भन्ने म ठान्दछु । समाजमा जुन प्रकाराको अराजकता, एक प्रकारको असहिष्णुता पछिल्लो समय अझ भन्ने हो भने देश, राष्ट्रप्रतिको लगाव नै कमजोर भएर जाने, आफ्ना सांस्कृतिक मूल्य, मान्यताहरुप्रति नै अनास्था र अविश्वास प्रकट गर्ने जुन प्रकारको प्रवृत्ति देखापरेको छ, त्यो प्रवृत्तिलाई सुधार गर्ने एउटा सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्छ,’ उनले भने ।
एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएपनि क्रमश: सूचना र प्रविधिको तिव्रताका कारण विघटनतर्फ गइरहेको उनको भनाइ छ ।
‘एशियाली समाज सामाजिक सम्बन्धमा आधारित समाज हो । पारिवारिक सम्बन्धमा आधारित समाज हो । क्रमश: सूचना प्रविधिको विकाससँगै पारिवारिक, सामाजिक सम्बन्ध, मूल्यहरु विघटनको प्रक्रियामा तिब्रताका साथ अघि बढिरहेका छन्,’ पोखरेलको भनाइ छ, ‘भविष्यप्रतिको असुरक्षाको भावनाले धेरै हदसम्म काम गरेको छ । भविष्यप्रतिको सुरक्षाबोध नागरिकमा पैदा गर्ने हो भने अहिले जुन प्रकारको सोसल इनार्किजमको तहमा समाज प्रवेश गरेको छ, त्यसलाई फेरि हाम्रै सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउनसक्छौँ ।’
प्रतिक्रिया 4