+
+
Shares

राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैन : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:४५
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौका घटनाहरूलाई सुनियोजित षडयन्त्र भएको दाबी गरेका छन् ।

नेपाल खेलकुद महासंघ केन्द्रीय समितिको पाँचौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले युवालाई भड्काएर षडयन्त्र पूर्वक सो घटना गराइएको बताए ।  ‘फेक एकाउन्टमार्फत समाजलाई भड्काएर २३ र २४ भदौको घटना गराइयो’, उनले भन्नुभयो ।

सो घटना छलकपट र छद्म तरिकाले गरिएको आक्रमण षडयन्त्रमै आधारित रहेको र जेनजी आन्दोलनको नाममा प्रयोग भएका फेसबुक एकाउन्टमध्ये ठूलो अंश नै फेक रहेकाले यो षडयन्त्र नै भएको उनले दाबी गरे ।

‘एआईको प्रयोग गरी तयार पारिएको सामग्रीबाट नेपाली युवालाई भड्काउने काम गरिएको रहेछ’, उनले भने ।

पोखरेलले २४ भदौको आगजनी सामान्य पेट्रोल प्रयोग मात्रबाट हुन नसक्ने र विशिष्ट रसायनको प्रयोग भएको अन्तर्राष्ट्रिय अनुसन्धान स्तरीय रिपोर्टले देखाएको उनको दाबी छ ।  जसले २४ भदौको घटनालाई २३ भदौको आक्रोशको स्वतः परिणाम भन्न नमिल्ने पुष्टि गरेको उनको धारणा छ ।

महासचिव पोखरेलले विदेशी शक्ति, राजावादी, माओवादी र रास्वपा जस्ता समूहहरूले सहकार्य गरी एमालेविरुद्ध सुनियोजित रूपमा आक्रमण गरेको आरोप लगाए ।

उनले भने, ‘हाम्रा विरुद्ध विदेशी शक्ति समेतको स‌ंलग्नतामा सुनियोजित रूपमा आक्रमण गरिएको छ ।’

उनले अहिलेको सरकार पनि षडयन्त्रकारीका मतियार भएको बताए ।

‘अहिलेको सरकारले खुलेआम रूपमा आगो लगाएर हिँड्नेहरूलाई खुला छाडिरहेको देखिन्छ, सरकारले देखिने मान्छेको छानबिन गर्नुको साटो गोप्य रूपमा षडयन्त्र गर्ने मानिसको छानबिन गर्नु आवश्यक छ’, उनले भने ।

यो सरकारले चुनाव गराउन नै नचाहेको उनको भनाइ छ । ‘राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैन, राजनीतिक दल र तिनका नेताहरूलाई चुनावमा भाग लिनै दिन चाहने सरकारले चुनाव गराउन सक्दैन’,उनले भने ।

त्यसकारण एमालेले संसद् पुनर्स्थापना, लोकतान्त्रिक प्रक्रिया र शान्ति स्थापनाका लागि सशक्त अभियान अघि बढाउने उनले जनकारी दिए । त्यसकै लागि एमालेले जनप्रदर्शनको कार्यक्रम राखेको उनले बताए ।

पोखरेलले पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई ऐतिहासिक जनसहभागिताको कार्यक्रममा परिणत गर्न पार्टीले व्यापक जनपरिचालन गर्ने योजना सुनाए । पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक हुने उनले दाबी गरे।

पोखरेलले २३ र २४ भदौको घटनाका वास्तविक दोषी पहिचान गरी दण्डित गर्न आग्रह गर्दै सम्पूर्ण सत्य-तथ्य सार्वजनिक गर्न र संसद् पुनर्स्थापना गरी मुलुकलाई पुनः लोकतन्त्र र शान्तिको मार्गमा लैजान सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?