+
+

ग्रासरुटबाटै खेलकुद विकासका लागि विद्यालयमा खेलकुद प्रशिक्षण

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ साउन ३० गते १८:१२

३० साउन, काठमाडौं । ग्रासरुटबाट खेलकुद विकासका लागि सरकारी कार्यक्रमहरु प्रभावकारी बन्न नसकिरहेको समयमा काठमाडौं जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलाडी उत्पादन कार्यक्रम सुरुवात गरेको छ ।

विद्यालय खेलकुद विकासको उद्देश्यले २०७४ मा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएको राष्ट्रिय विद्यालय खेलकुद संघ अहिले लगभग निष्कृय छ । संघको तदर्थ समितिले निर्वाचनसमेत गराउन सकेको छैन ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा आएपछि गणेशलाल कक्षपतिले विद्यालयसँगको सहकार्यमा खेलकुद प्रशिक्षण र विकास कार्यक्रमको योजना ल्याएका हुन् । यो योजनाअन्तर्गत जिल्लाभर कम्तिमा १ सय विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । अघिल्लो साता डिल्लीबजारस्थित पद्मकन्या विद्यालयबाट यसको सुरुवात गरिएको छ ।

‘हामीले जिल्ला खेलकुद विकास समिति मातहत रहेका प्रशिक्षकहरु खटाएर प्रशिक्षणको व्यवस्था गरेका छौं,’ अध्यक्ष कक्षपतिले अनलाइनखबरसँग भने, ‘सम्बन्धित विद्यालयले नै रोजेको खेलकुदको प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने तयारी गरेका छौं ।’ पद्मकन्यामा तेक्वान्दो खेलको प्रशिक्षण हुनेछ । विद्यालयको खेलकुद शिक्षकसँगै तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक नोर्वु लामाले विद्यार्थीलाई आधारभूत ज्ञान दिनेछन् ।

पद्मकन्यामा खेलकुद प्रशिक्षण सुरुवात कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्यले विद्यार्थीले खेलकुदबाट पाउने प्रेरणाबारे दिएको प्रवचन खेलाडीहरुले चाख दिएर सुनेका थिए । आयशाले साना बालबालिकामा खेलकुद संस्कृतिको विकास गर्न काडमाडौं जिल्ला खेलकुदले सन्चालन गरेको यो कार्यक्रमको सराहना गरिन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिअन्तर्गत ५० जना प्रशिक्षक छन् । तीमध्ये धेरैजसो मार्शलआर्टका छन् । अध्यक्ष कक्षपतिले विद्यालयहरुले चाहेको खेलकुद प्रशिक्षणका लागि प्रशिक्षक अपुग भएको अवस्थामा प्रदेश खेलकुद परिषदसँग समन्वय गरेर भए पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

विद्यालयमै क्लब स्थापना गर्ने अवधारणा

वागमती प्रदेश खेलकुद ऐनअनुसार जिल्ला संघ दर्ता गर्नका लागि जिल्लाभित्रका कम्तिमा २ स्थानीय तहमा सो खेलको कमिटी हुनुपर्ने र जिल्लाभर कम्तिमा ३ क्लब हुनुपर्ने उल्लेख छ ।

प्रदेश ऐनलाई सहयोगी हुने गरी काठमाडौं जिल्ला खेलकुदले विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने अवधारणा ल्याएको छ । तत्कालका लागि मूलतः सबै खेल समावेश भएको क्लब हुने भए पनि भविष्यमा खेललाई वर्गीकरण गरी अन्य क्लब स्थापनाका लागि सहज हुनेछ ।

विद्यालयमा खेलकुद क्लब स्थापनाबाट काठमाडौं जिल्ला खेलकुदले दुईवटा फाइदा देखेको छ ।

पहिलो– विद्यालयमै क्लब स्थापना हुँदा विद्यालय व्यवस्थापनलाई अपनत्व लिन सहज हुने ।

दोस्रो–क्लबमार्फत प्रतियोगितामा सहभागी हुँदा प्रतिस्पर्धाको स्तर माथि आउने ।

‘क्लब स्थापना गरी विद्यालय व्यवस्थापन र प्रधानाध्यापकलाई नै जिम्मेवार बनाउने र त्यसको अनुगमन जिल्ला खेलकुदले गर्दा प्रभावकारी हुने हाम्रो निष्कर्ष छ,’ अध्यक्ष कक्षपतिले भने, ‘पहिचान भएका प्रतिभालाई विशेष प्रशिक्षणसहित राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउँदा विद्यालयले गर्व गर्ने स्थिति हुन्छ ।’

लक्ष्यअनुसार विद्यालयमा प्रशिक्षण कार्यक्रम सन्चालन भएपछि विद्यालयबीच प्रतियोगिताको आयोजना गर्ने योजना छ । प्रतिस्पर्धाबाट उत्कृष्ट बनेका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्स्पोजर दिने लक्ष्य पूरा गर्न प्रदेश खेलकुद र राखेपसँग सहकार्य गर्ने अध्यक्ष कक्षपतिले बताए ।

वागमती प्रदेशको स्कुल टू ओलम्पिक कार्यक्रमलाई सहयोगी

वागमती प्रदेश खेलकुद परिषदले यो वर्ष बजेटमै उल्लेख गरी स्कुल टू ओलम्पिक कार्यक्रम घोषणा गरेको छ । तर, काठमाडौं जिल्ला खेलकुद विकास समितिको यो कार्यक्रम प्रदेशको योजनाभित्र पर्दैन ।

‘काठमाडौं जिल्लाले आफ्नै सृजनशीलतामा यो कार्यक्रम सन्चालन गरेकोमा म धेरै खुसी छु,’ वागमती खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले अनलाइनखबरसँग भने, ‘यी कार्यक्रमसँग मिल्दोजुल्दो योजना हामी योवर्षदेखि कार्यान्वयन गर्दैछौं ।’

वागमती प्रदेशले मातहतका १३ जिल्लामा ओलम्पियन तथा सफल खेलाडीलाई प्रयोग गरेर विद्यालय तहदेखि खेलकुद संस्कृतिको जागरण गर्ने योजना स्कुल टू ओलम्पिकको अवधारणा हो । यसका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘सुरुमा हामीले खेलप्रति जागरण पैदा गर्ने र संस्कृतिको रुपमा विकास गर्नुपर्छ । त्यसपछि विद्यालयका खेलकुद शिक्षकलाई आधारभूत प्रशिक्षक प्रशिक्षण दिनेछौं,’ सदस्यसचिव भण्डारीले भने, ‘प्रतिभा पहिचान भएपछि उनीहरुका लागि विशेष प्रशिक्षणका लागि प्रदेशका स्वयमसेवक प्रशिक्षक परिचालन गर्नेछौं ।’

प्रदेशका लोकप्रिय र परम्परागत खेललाई विस्तार र संरक्षण गर्नेदेखि रापष्ट्रय÷अन्तर्राष्ट्रियस्तरमा सम्भावना बोकेका खेललाई प्राथमिकता दिनेसम्मको कार्यक्रम प्रदेश खेलकुदले ल्याएको छ । देशमा ग्रासरुट खेलकुद कार्यक्रम प्रभावकारी बनाउन सबै जिल्ला र प्रदेशले यस्तो कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने वागमतीका सदस्यसचिव भण्डारीले बताए ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?