+
+

किन कमजोर देखियो कृषि विकास बैंकको वित्तीय विवरण ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते २०:४९

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा अधिकांश वाणिज्य बैंकहरुको नाफा वृद्धि हुँदा कृषि विकास बैंकले भने नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको औसत नाफा २३ प्रतिशत वृद्धि भएको छ । कृषि विकास बैंकको नाफा भने २३.७४ प्रतिशतले घटेको छ ।

कोभिड–१९ महामारीको प्रभावका बीच आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख ३७ हजार नाफा कमाएको थियो । तर, गत आर्थिक वर्ष २०७८/०७९ मा बैंकको नाफा २ अर्ब ६९ करोड ५८ हजारमा झरेको छ । विगतमा समस्या भएर राष्ट्र बैंकले नै व्यवस्थापन गर्नुपरेको सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको अवस्था सुधारिदै जाँदा कृषि विकास बैंकको वित्तीय विवरण भने खस्किन पुग्यो ।

गत आर्थिक वर्षमा कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी १० अर्ब ९८ करोड ९९ लाख ३० हजारबाट १३ अर्ब १८ करोड ७९ लाख १६ हजार पुर्‍याएको छ । एकातिर पूँजी वृद्धि र अर्कोतिर नाफामा संकुचन हुँदा बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ २८ पैसा रहेकोमा गत आर्थिक वर्षमा १७ रुपैयाँ ९३ पैसामा झरेको छ ।

बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब २ करोड ८० लाख १ हजार रहेको छ । यस्तै बैंकको सेयरधनी सञ्चित कोषमा ३ अर्ब ९० करोड ६९ लाख ९१ हजार रहेको छ ।

‘कृषि बण्ड’ले कर्जा विस्तारमा सहयोग

अन्य बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा लगानीयोग्य स्रोतको अभावमा व्यवसाय विस्तार गर्न सकस भएको थियो । तर, बैंकले भने १८ अर्ब रुपैयाँको सहुलियत ब्याजदरमा ‘कृषि बण्ड’ निष्कासन गर्दै स्रोत व्यवस्थापन गर्न पाएको थियो ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘कृषि बण्ड’को व्यवस्था गर्दै तोकेअनुसार कृषि क्षेत्रमा लगानी गर्न नसक्ने बैंकले उक्त ‘कृषि बण्ड’मा लगानी गर्नसक्ने व्यवस्था गरेको थियो ।

‘कृषि बण्ड’ जारी गरी कृषिमा लगानी गर्ने बैंकर्सहरुको सहमतिको आधारमा कृषि विकास बैंकले बण्ड जारी गरेर स्रोत संकलनको सहज माध्यम प्राप्त गरेको थियो । ४ प्रतिशत ब्याजदरमा जारी गरेको उक्त बण्डमार्फत बैंकले १८ अर्ब रुपैयाँ स्रोत संकलन गरेको प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेल बताउँछन् ।

सोही सहुलियत फण्डले गर्दा विगतमा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी आधार ब्याजदर (बेसरेट) हुने गरेको कृषि विकास बैंकको बेसरेट पछिल्लो समय वाणिज्य बैंकहरुमध्येकै कम रहेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र सरकारी लगानीको नेपाल बैंकपछिको कम बेसरेट कृषि विकास बैंकको रहेको छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ६२ अर्ब ८१ करोड ४९ लाख ३१ हजारबाट २.२६ प्रतिशतले वृद्धि भएर १ खर्ब ६६ अर्ब ४९ करोड ६९ लाख ६६ हजार पुगेको छ ।

तर, सोही अवधिमा बैंकको कर्जा लगानी भने १८.५४ प्रतिशतले वृद्धि भएको छ । २०७८ असार मसान्तमा १ खर्ब ५० अर्ब ५९ करोड ८३ लाख ५६ हजारबाट बढेर २०७९ असारमा १ खर्ब ७८ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ पुगेको हो । निक्षेप बढाउन नसक्दा पनि बैंकको कर्जा विस्तारमा कृषि बण्डले सहयोग गरेको छ ।

आम्दानीमै संकुचन

तुलनात्मक रुपमा कम रहेको बेस रेटको लाभ कृषि विकास बैंकले उठाउन सकेको भने देखिएन । त्यसैले उसले खुद ब्याज आम्दानी कर्जा विस्तारको अनुपातमा बढेको छैन । त्यस्तै खुद फि तथा कमिसन आम्दानीमा संकुचन आउँदा ‘खुद ट्रेडिङ आम्दानी’ नकारात्मक बनेको छ । सोही कारण बैंकको व्यवस्थापन खर्च नबढे पनि नाफामा भने उच्च गिरावट देखिएको हो ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब ८६ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

बैंकको स्प्रेड दर ४.३७ प्रतिशतमा स्थिर छ । निक्षेपको तुलनामा कर्जा वृद्धि हुँदा र निक्षेपको लागतमा हुने वृद्धि नियन्त्रण हुँदा पनि बैंकको खुद ब्याज आम्दानी सोही अनुपातमा बढ्न सकेन ।

बैंकका प्रवक्ता हिमलाल पौडेल अघिल्लो आर्थिक वर्षमा बैंकले सेयर कारोबारबाट ९९ करोड ४२ लाख ९७ हजार आम्दानी गरेकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा सेयर बजारमा गिरावटसँगै बैंकको सेयरमा भएको लगानी नकारात्मक हुँदा नाफा घटेको बताउँछन् ।

सेयर बजार घटेर त्यसमा गरेको लगानी घाटामा जाँदा खुद ट्रेडिङ आम्दानी नकारात्मक भएको उनले बताए । यसले गर्दा बैैंकको नाफा घटेको उनले बताए ।

अघिल्लो आर्थिक वर्षमा खुद ट्रेडिङ आम्दानी करिब १ अर्ब रहेकोमा गत आर्थिक वर्षमा बैंकको त्यस्तो आम्दानी २६ करोड २४ लाख ५१ हजार रुपैयाँले नकारात्मक भएको छ । बैंकको फि तथा कमिसन आम्दानी पनि अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ५६ करोड ६० लाख ६८ हजार रहेकामा गत आर्थिक वर्षमा घटेर १ अर्ब ३९ करोड २७ लाख ८८ हजारमा झरेको छ ।

यसरी खुद ब्याज आम्दानी बढेपनि बैंकको कुल सञ्चालन आम्दानी नै घटेको छ । गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी लगायत अन्य आम्दानी बढाएर पनि बैंकहरुले नाफा बढाउन सफल भएका थिए । तर, कृषि विकास बैंक भने त्यस्तो व्यवस्थापनमा असफल हुँदा बैकको कुल सञ्चालन आम्दानी नै घटेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ८७ करोड ८४ लाख ९५ हजार कुल सञ्चालन आम्दानी गरेकोमा गत आर्थिक वर्ष ०७८/०७९ मा घटेर ९ अर्ब १५ करोड १८ लाख ६३ हजार पुगेको छ ।

यस्तै बैंकको कर्जा विस्तार भएसँगै निष्कृय कर्जा अनुपात १.८८ प्रतिशतबाट १.६८ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जामा सुधार हुँदा पनि बैंकले सम्भावित कर्जा जोखिम वापत २९ करोड ५१ लाख ४८ हजार प्रोभिजन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंकले १२ अर्ब १४ करोड २५ लाख मात्रै प्रोभिजन गरेको थियो ।

बैंकको लेखा शाखामा कार्यरत कर्मचारी निर्दोष सिजापति गत आर्थिक वर्षमा २८ करोड कर्जा विस्तार हुँदा त्यसको १.३ प्रतिशत साधारण कर्जाको जोखिम प्रोभिजन गर्नुपर्ने व्यवस्था अनुसार बैंकको प्रोभिजन रकम बढेको बताउँछन् । साथै कर्जा नोक्सानी प्रोभिजन पनि कर्जाको भाखा नाघेको अवधि अनुसार प्रोभिजन प्रतिशत बढ्दै जाँदा पोभिजन रकम बढ्न गएको उनले बताए ।

आम्दानीमा भएको संकुचन प्रोभिजन वृद्धिले गर्दा बैंकको खुद सञ्चालन आम्दानी नै करिब ९० करोडले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ७५ करोड ७० लाख ७९ हजार खुद सञ्चालन आम्दानी गरेकोमा गत आवमा ८ अर्ब ८५ करोड ६७ लाख १४ हजारमा झरेको छ ।

सञ्चालन खर्च भने बढेन

गत आर्थिक वर्षमा बैंकको कर्मचारी खर्च ३ अर्ब ३१ करोडबाट सामान्य बढेर ३ अर्ब ३२ करोड पुग्दा अन्य सञ्चालन खर्च १ अर्ब १३ करोडबाट १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । तयस्तै ह्रासकट्टी करिब २८ करोडबाट ३२ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा करिब ५ अर्ब ४ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा १८.२५ प्रतिशतले घटेर करिब ४ अर्ब १२ करोडमा झरेको छ ।

बैंकले गत आर्थिक वर्षमा नयाँ शाखा खासै विस्तार गरेको छैन भने करिब २०० जना कर्मचारी नियुक्ति प्रक्रिया पनि टुंग्याएको छैन । जसले गर्दा बैंकको कर्मचारी तथा अन्य व्यवस्थापन खर्चमा भार नबढेको बैंकको प्रवक्ता पौडेलले बताए । हाल २८० शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकमा करिब दुई हजार २०० कर्मचारी कार्यरत छन् ।

सञ्चालन नाफा घटेपनि कर बढ्यो

गत आर्थिक वर्षमा सञ्चालन नाफा १८ प्रतिशतले घटेको बैंकले आयकर भने अघिल्लो आर्थिक वर्षमा भन्दा बढी तिरेको छ । ५ अर्ब ४ करोड सञ्चालन नाफा आर्जन गर्दा १ अर्ब ३४ करोड आयकर तिरेको बैंकले गत आर्थिक वर्षमा सञ्चालन नाफा ४ अर्ब १२ करोड मात्रै हुँदा पनि १ अर्ब ६४ करोड कर तिरेको छ । बैंकको लेखा शाखामा कार्यरत कर्मचारी निर्दोष सिजापति विगतको कर मिलान गर्दा गत आर्थिक वर्षमा धेरै कर दाखिला गर्नुपरेको बताउँछन् ।

नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको बैंकमा सरकारले नै वार्षिक ६ प्रतिशत मात्रै प्रतिफल पाउने गरी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँको अग्राधिकार सेयर पनि लगानी गरेको छ । नेपाल सरकारले बैंकको पूँजीकोष बलियो बनाउन सहुलित रुपमा उक्त लगानी गरेको हो ।

कृषि क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यले २०२४ मा सञ्चालनमा आएको बैंकलाई नेपाल राष्ट्र बैंकले २०६२ मा वाणिज्य बैंकको अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?