
३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् ।
छलफलमा उनले धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकामा प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । बालेनले सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
बालेनको सचिवालय अनुसार मेयर साहले बञ्चरेडाँडामा जाने सडक तत्काल बनाउन प्रधामन्त्रीले पहल गरिदिनुपर्ने पनि बताएका थिए । ‘भेटमा मेयरले बाटो निर्माणको विषयलाई प्राथमिकता दिएर फोहोर व्यवस्थापनमा संघीय सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।
छलफलपछि प्रधामन्त्रीज्यूले सहयोग गर्न तयार रहेको जवाफ दिनुभएको छ, उहाँले सकरात्मक उर्जा सहित सबै खालको सहयोग गर्न तयार छु भन्नुभएको छ,’ बालेनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने ।
सत्तारुढ दलका स्थानीय कार्यकर्ता नै फोहोर व्यवस्थापनमा अवरोध गर्दै सडकमा आएपछि बालेनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
प्रतिक्रिया 4