+
+

प्रदीप गिरिको आश्रममा सन्नाटा

राजु विश्वकर्मा/रासस राजु विश्वकर्मा/रासस
२०७९ भदौ ६ गते ८:५९

६ भदौ, लहान ।  नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ ।

सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए । उनको निधनसँगै आश्रममा सन्नाटा छाएको छ । १२ बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरि आउने वित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे ।

आश्रममा विसं २०५२ देखि काम गर्दै आएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ ।

आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उनीहरु शोकमा डुबेका छन् भने शुभेच्छुक तथा नेता कार्यकर्ता नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन संघीय राजधानी पुगेपछि आश्रममा सन्नाटा छाएको दीप परियारले बताए । ‘प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो, तर उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति राजधानी गइसक्नुभयो’ उनले भने, ‘नेता गिरि आएको खबर पाउने बित्तिकै गाउँलेदेखि विभिन्न पार्टीका नेता भेट्न आश्रममा आउनुहुन्थ्यो, दिनहुँ यहाँ भीड लाग्ने गर्दथ्यो ।’

तर अब उनको निधन भइसकेपछि आश्रम सुनसान भएको  उनले बताए । ‘आश्रमको अभिभावकै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौं,’ आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, ‘पहिला मान्छेको भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि अहिलेसम्म आश्रममा प्रायः मान्छे आउनै छाडेको छ ।’

उनलाई भेट्न आउने कहिले आउनुहुन्छ ? भन्ने र फर्किने गरेको बताउँदै उनले  भने, ‘अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछ र मान्छे यहाँ ?’

सिरहाको लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्ख्यौली घर छाडेर नेता गिरिले गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । करिब छ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा नेता गिरिले थुप्रै दलित तथा सुकुम्बासीलाई जग्गा दिएर बसाएका छन् ।

भारतका नेता जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार नेता गिरिले २०४८/४९ सालमा बिरुवा रोपेर आश्रम स्थापना गरेका थिए । त्यसको १० वर्षपछि पुनःस्थापना गरेको आश्रममा स्वरोजगारमूलक बनाउन धेरै अध्ययन गरेर उनले पशुपालन सुरु गरेका थिए ।

आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब सर्वसाधारणका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् । इँटाको पर्खाल र जस्ताले छाएको आश्रम बनाएर बस्दै आउनुभएका नेता गिरि त्यहीँबाट राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका थिए । आश्रमभित्रै बैठक कक्षसमेत रहेको छ । अब आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलतासमेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?