+
+

दशैंअघि काठमाडौंका सडकमा ओभर-ले भइसक्छ : सडक विभाग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते २१:१२

६ भदौ, काठमाडौं । सडक विभागले दशैंसम्ममा काठमाडौंका सडकको कालोपत्रे मर्मत (ओभर-ले) गरिसक्ने  योजना बनाएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा एकीकृत विकासका लागि हरेक महिनाको पहिलो सोमबार बस्ने पूर्वाधार विकास समन्वय समिति बैठकमा सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर डा. विजय जैसीले दशैंअघिसम्म काठमाडौंका अधिकांश खण्डमा आवधिक मर्मत गरिसक्ने बताए ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले वर्षाले सडकमा पुग्ने क्षति घटाउन काम भइरहेको जानकारी दिए । अहिले  रणनीतिक सडकको मर्मत सम्भार र  पुराना सडक संकेत पुर्नस्थापनामा काम भइरहेको उनको भनाइ थियो ।

प्रहरी नायव महानिरीक्षक एवम् उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीले भूमिगत पार्किङका लागि अभियान थालिएको बताउँदै सडकमा भएका सवारी जमिन तलाको पार्किङ्मा लगेपछि सडक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईञ्जिनियर मिलनकुमार शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रवन्धक रविन्द्र पोखरेल, आयोजना उपनिर्देशक चन्द्रकुमार श्रेष्ठसहित अधिकारीले प्रणाली विस्तारका लागि खनिएका सडकका खाल्डा पुर्ने तथा कालोपत्रे गर्ने काम थालिएको जानकारी दिए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले खानेपानीको दिगो उपयोग र नदी प्रणालीको संरक्षणका लागि अहिलेबाट नै काम थाल्नुपर्ने धारणा राखे ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले गएको बर्ष विष्णुमती नदी किनारामा विभिन्न ५ ठाउँमा अन्डरपास खोलिएको जानकारी दिए ।

‘काठमाडौैंका बागमती नदी प्रणालीसँग काठमाडौं महानगरका १६ वटा भक्तपुरका २ वटा र ललितपुरका २ वटा वडा जोडिन्छन् । यस ठाउँका अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्न सकिएन भने सुधार सार्थक हुँदैन,’ अर्यालले भने ।

उनीहरुले महानगरको एकीकृत र दिगो विकासका लागि काठमाडौं महानगरपालिकाले गुरुयोजना बनाएर नेतृत्व गर्नुपर्ने सुझाव दिए ।

छलफलमा दिगो सहरी यातायात, फोहोरमैला व्यवस्थापन, अनधिकृत पार्किङ, पुराना र स्वामित्व नजनिने सवारी साधनको व्यवस्थापन, ई-रिक्साको व्यवस्थापन, तरल फोहोर व्यवस्थापन, ढल निकास, सेफ्टी ट्याङ्क निर्माणलगायतका विषय उठेका थिए ।

बैठकमा नेपाल विद्युत प्राधिकरणका वीरेन्द्रकुमार सिंहले काठमाडौं आउँदो १ महिनाभित्र लैनचौरदेखि महाराजगञ्जसम्म, धोवीखोला करिडोरलगायत क्षेत्रमा भूमिगत गरिएको विद्युत प्रणाली चार्ज गरिसक्ने जानकारी दिए ।

बैठकमा मेयर शाहले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका कार्यक्रम तथा बजेट अन्य साझेदार कार्यालयका कार्यक्रमसँग नदोहोरिएको दाबी गरे ।

भित्री सहरी क्षेत्रमा पर्वलक्षित सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधि सुरु भइसकेकोले त्यस क्षेत्रमा गर्नु पर्ने पूर्वाधार सुधारका कामलाई प्राथमिकतामा राख्न प्रमुख शाहको आग्रह थियो ।

बैठकमा उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयलाई पाइप लाइनको परीक्षण कहिले पूरा हुन्छ भन्ने प्रश्न सोधेका थिए ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका अधिकारीलाई ‘भूमिगत तारको सञ्जाल कति दिगो छ? यो प्रविधिका विषयमा प्रश्न आएका छन्, तपाई के भन्नुहुन्छ?’ भन्ने प्रश्न गरेका थिए ।

उनले सडकका खाल्डाखुल्डी पुर्ने, नदी किनाराको करिडोर निर्माण गर्ने, अण्डरपास सञ्चालन गर्ने, चक्रपथको सुधारलगायत विषयमा अधिकारीहरुसँग प्रगति मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?