
७ भदौ, काठमाडौं । नेपाल बास्केटबल संघले इतिहासमै पहिलोपल्ट राष्ट्रिय टिमका लागि किट प्रायोजक पाएको छ ।
संघले बास्केटबलसहित खेल सामाग्री उत्पादन कम्पनी लिनिङको नेपालमा आधिकारिक विक्रेता चाइना ट्रेड लिंक प्रालीसँग मंगलबार सम्झौता गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष भीम गुरुङ र चाइना ट्रेड लिंकका प्रवन्ध निर्देशक राजेन महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता दुई वर्षका लागि हुनेछ ।
सिनियर राष्ट्रिय टिम, उमेरसमूह र थ्री बाई थ्री टिमले अबको दुई वर्षसम्म लिनिङको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् । ‘दुई वर्षभित्र नेपाल बास्केटबलको प्रतिनिधित्व गरेर जाने सबै टिमले लिनिङको उत्पादन प्रयोग गर्नेछन्,’ पत्रकार सम्मेलनमा संघका महासचिव नरेन्द्र थापाले भने ।
लिनिङ नेपालले यसअघि फुटबल क्लबहरुलाई प्रायोजन गर्दै आएको छ । ए डिभिजन लिग क्लब संकटा र जावलाखेल युथ तथा नेपाल सुपर लिग क्लब चितवन सिटी एफसीले लिनिङकै उत्पादन प्रयोग गर्दै आएका छन् ।
बास्केटबल संघका अध्यक्ष गुरुङले लामो समयदेखिको गृहकार्यले मूर्तरुप लिएकोमा खुसी व्यक्त गरे । चाइना ट्रेड लिंकका प्रवन्ध निर्देशक महर्जनले वास्केटबलका लागि लिनिङले विशेष उत्पादन गर्ने भएकाले बास्केटबल टिमको उन्नतिका लागि सक्दो सहयोग गर्न तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4