+
+

दक्षिण एसियामै पहिलोपल्ट तेक्वान्दोको जी–टु वरीयता प्राप्त प्रतियोगिता पोखरामा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:०९
तस्वीर : सुदर्शन रञ्जित

७ भदौ, काठमाडौं। नेपाल तेक्वान्दो संघको आयोजनामा असोज ६ देखि ९ गतेसम्म पोखरामा हुन लागेको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपले जी–टू मान्यता पाएको छ । विश्व तेक्वान्दो महासंघले खेलाडीको वरीयता निर्धारण गर्न प्रतियोगिताको स्तर हेरेर आधिकारिकता प्रदान गर्ने गरेको छ ।

माउन्ट एभरेष्ट च्याम्पियनसिपले दक्षिण एसियामै पहिलोपल्ट जी–टू मान्यता पाएको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणाले जानकारी दिए । सन् २०१२ र २०१४ मा दुई संस्करण आयोजना भएको यो प्रतियोगिता ८ वर्षपछि तेस्रो संस्करण हुन लागेको हो ।

अमेरिकाको इन्टरनेसनल नेप्लिज तेक्वान्दो संघ (इन्टा)ले सहप्रायोजन गरेको यो प्रतियोगिता गण्डकी प्रदेश तेक्वान्दो संघले सञ्चालन गर्न लागेको छ ।

प्रतियोगितामा अहिलेसम्म ११ देशका ८११ खेलाडीले नाम दर्ता गरिसकेको र प्रतियोगितासम्म १ हजारभन्दा बढी खेलाडी सहभागी रहने अपेक्षा रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

प्रतियोगिताका लागि भदौ ९ गतेसम्म प्रारम्भिक दर्ता र भदौ २७ गतेसम्म नियमित नाम दर्ता गरिसक्नुपर्नेछ ।

वरीयताप्राप्त जी टू प्रतियोगिताका लागि विश्वभरका खेलाडीहरुले व्यक्तिगत रुपमा सहभागिता जनाउनेछन् । नेपालबाट पनि व्यक्तिगत रुपमै खेलाडीको सहभागिता रहने संघका अध्यक्ष राणाले बताए ।

वरीयताप्राप्त प्रतिस्पर्धाअन्तर्गत सिनियर पुरुषतर्फ ५४ केजीमूनि, ५८ केजीमूनि, ६३ केजीमूनि, ६८ केजीमूनि, ७४ केजीमूनि, ८० केजीमूनि, ८७ केजीमूनि र ८७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ४६ केजीमूनि, ४९ केजीमूनि, ५३ केजीमूनि, ५७ केजीमूनि, ६२ केजीमूनि, ६७ केजीमूनि, ७३ केजीमूनि र ७३ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

सिनियरतर्फको यो प्रतिस्पर्धा असोज ८ र ९ गते हुनेछ । त्यस्तै जुनियरतर्फ पुरुषमा ४५ केजीमूनि, ४८ केजीमूनि, ५१ केजीमूनि, ५५ केजीमूनि, ५९ केजीमूनि, ६३ केजीमूनि, ६८ केजीमूनि र ७३ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

जुनियर महिलातर्फ ४२ केजीमूनि, ४४ केजीमूनि, ४६ केजीमूनि, ४९ केजीमूनि, ५२ केजीमूनि, ५५ केजीमूनि, ५९ केजीमूनि र ६३ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । यही प्रतियोगिताका दौरान पहिलो संस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिप पनि हुनेछ ।

एकलतर्फ ९ देखि १२ वर्ष, १२ देखि १४ वर्ष, १४ देखि १८ वर्ष, १८ देखि ३० वर्ष, ३० देखि ४० वर्ष र ४० वर्षमाथि विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै युगल र टिमतर्फ पनि सोही उमेरसमूहकाबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?