
८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण थाल्ने भएको छ । करिब १ महिनापछि काठमाडौंको लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय आसपासका क्षेत्रमा भूमिगतलाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो ।
‘केही उपकरण आइपुग्दैछन्, अब ती क्षत्रेमा भूमिगत लाइनबाटै घर–घरमा बिजुली जोड्छौं,’ प्रधानले भने, ‘तार भूमिगत गर्ने काम सकिएका फिडरहरुमा क्रमशः यो काम गर्दै जाने योजना हो ।’
उनका अनुसार अहिले वितरण ट्रान्सफर्मरहरु व्यवस्थापन गर्ने काम भइरहेको छ । प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रुपमा तार लैजाने छ । र, मिटरमा जोड्ने छ । भूमिगत लाइनबाट बिजुली जोडेपनि केही महिना पोल भने हटाउने छैन ।
‘परीक्षण सफल भएपछि ओभरहेड लाइन पनि क्रमैसँग हटाउँछौं’ उनले भने । आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइनहरु चार्ज गर्ने प्राधिकरणको योजना छ ।
उनका अनुसार हिउँदमा काठमाडौंमा लोड बढेर वितरणलाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।
महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब १ लाख घरमा स्मार्ट मिटर जोडेको छ । काठमाडौको वितरणलाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यका भर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।
काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ६ महिनापछि ओभरहेड वितरणलाइन हटाउने दाबी गरेको छ ।
यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया 4