+
+

काठमाडौं क्षेत्र नम्बर ७ मा पौडेलको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १०:२६
दक्ष पौडेल

९ भदौ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट नेपाली कांग्रेसका दक्ष पौडेलले दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ बनस्थली घर भएका पौडेलले यसपटकको प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार बन्ने बताए । उनले भने, ‘विगतमा मैले अरु नेता र उम्मेदवारहरुलाई सघाएँ, अब मलाई सघाउनुस् भनेर मैले भनेको छु ।’

१४ औं महाधिवेशनमा काठमाडौं क्षेत्रनम्बर ७ बाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए । १३ औं महाधिवेशनमा उनी सोही क्षेत्रबाट महासमिति सदस्य बनेका थिए ।

‘म बस्ने वडामा कांग्रेसको सबैभन्दा बढी भोट छ, सानोभर्याङ, राधाकृष्ण टोल, रानीबन, टाउन प्लानिङ लगायतका क्षेत्रमा पनि मेरो राम्रो छाप छ, त्यसैले मैले टिकट पाउनुपर्छ भन्ने मेरो दाबी हो,’ उनले भने । आफू प्रजातान्त्रिक आन्दोलनको शहीद परिवारको सदस्य भएको, अघिल्ला कांग्रेसमा निरन्तर क्रियाशील रहेको र अघिल्ला चुनावमा पार्टीका अन्य नेताका लागि छाडिदिएकाले यसपटक आफूले दाबी गरेको उनको भनाइ थियो । २०२८ सालमा उनका बुवा भीमनाथ शर्मा बागलुङमा मारिएका थिए ।

पौडेल सहकारी अभियन्तासमेत हुन् । सहकारी विकास बोर्डको सन्चालक र पछि सहअध्यक्षसमेत बनेका पौडेल हाल हब कोअपरेटिभको अध्यक्ष छन् ।

काठमाडौं ७ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहको घर भएको क्षेत्र हो । तर पौडेल तनहुँबाट र सिंह काठमाडौं १ बाट चुनाव लड्दै आएका छन् । यो क्षेत्रबाट कांग्रेसबाट आकांक्षा राख्नेहरुमा प्रमोदहरी गुरागाईं, विनोद पन्त, प्रमिला सिंह डंगोल, सुशील भट्ट, विजय बहादुर माली लगायत पनि छन् ।

काठमाडौं ६ मा कांग्रेसका नेताहरु भिमसेनदास प्रधान, कृष्ण सबुज बानियाँ र हरिप्रभा खड्गीबीच हानथाप हुँदा अन्तिममा एक जनालाई ७ मा सार्न सकिने विकल्पबारे पनि छलफल हुँदै आएको एक नेताले जानकारी दिए ।

क्षेत्र नम्बर ६ र ७ आपसमा जोडिएका निर्वाचन क्षेत्र हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता भिमसेनदास प्रधान विजयी भएका थिए । क्षेत्रनम्बर ७ मा भने नेपाली कांग्रेसले राप्रपाका उम्मेदवार विक्रमबहादुर थापालाई सघाएको थियो । तर तत्कालीन नेकपा (हाल नेकपा एमाले) उम्मेदवार रामवीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए । कांग्रेसको समेत समर्थन प्राप्त राप्रपाका थापा १० हजार ७९ मतसहित दोस्रो भए । २०७० को निर्वाचनमा भने क्षेत्र नम्बर ७ बाट कांग्रेसकी प्रमिला सिंह विजयी भएकी थिइन् ।

यसपटक तत्कालीन नेकपाबाट एमाले र माओवादीको एकता भंग भएर दुबै दल पूर्ववत अवस्थामा फर्किएको, एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको र कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन बनेकाले गठबन्धनका नेताहरुको मनोबल बढेको छ ।

स्थानीय निर्वाचनको मत

स्थानीय तह निर्वाचनमा मतका हिसाबले गठबन्धनमा कांग्रेस अघि छ । काठमाडौं ७ मा पनि स्थानीय तहको निर्वाचनको मतमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२, एकीकृत समाजवादीले ३ हजार ८३९, राप्रपाले २ हजार २७, माओवादीले ५७६, जसपाले १६२ मत पाएका छन् ।

काठमाडौं ७ सत्ता गठबन्धनका अन्य दलहरुका नेताहरु पनि आकांक्षी छन् । काठमाडौं ७ मा जनता समाजवादी पार्टीका काठमाडौं जिल्ला इन्चार्ज बसन्त मानन्धर र जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ पनि अकांक्षी छन् । यसैगरी नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेका डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ । नेसपाबाट भट्टराईकी छोरी मानुषी यमी भट्टराई आकांक्षी छिन् ।

काठमाडौं ७ सत्ता गठबन्धनका दलहरुमध्ये कसको भागमा पर्छ अझै टुंगो लागेको छैन । तर नेताहरुले दाबी गर्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?