+
+

अनिल कपुरको ‘नायक’ सम्झाउने बालेनको डोजर

विष्णु शर्मा विष्णु शर्मा
२०७९ भदौ ९ गते १६:३५

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । प्रशंसकले उनलाई नायकको संज्ञा दिइरहेका छन् भने स्वतन्त्र हुनुको फाइदा भएको बताइरहेका छन् ।

कतिपयले बालेनको सक्रियतालाई २२ वर्षअघि रिलिज भएको भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्यपात्र शिवाजी रावसँग तुलना गरिरहेका छन् । फिल्ममा उक्त चरित्र अनिल कपुरले निर्वाह गरेकाले बालेनलाई पनि नायक फिल्मकै अनिल कपुर भन्ने पनि छन् ।

 

बालेन मात्र होइन, आफू प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईले साँघुरा सडकलाई फराकिलो बनाउन होस् वा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी र पशुपति धर्मशालामा लिएको एक्सन । यी परिघटनामा फिल्म नायक ‘क्वाइन’ भयो ।

फिल्म समीक्षक मनोज पण्डित नेपाली समाजमा नायकको खोजी भइरहेको र नागरिकले बालेनमा त्यसको प्रतिविम्ब देखेको बताउँछन् ।

काठमाडौंको राजनीति होस् र सामाजिक उथलपुथल हुँदा पटकपटक चर्चामा आउने भारतीय फिल्म नायक खासमा के हो ? काठमाडौंको घटनाक्रमसँगको यसको सान्दर्भिकता के छ ? यसबारे जान्नु अर्थपूर्ण हुनसक्छ ।

पोलिटिकल ड्रामा जनराको उक्त फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । फिल्ममा अनिल कपुर, रानी मुखर्जी, अमरिस पुरी, परेश रावल र जोनी लिवरको प्रमुख भूमिका छ । सन् १९९९ को तमिल फिल्म मुधावनको रिमेकको रुपमा यसलाई लिइन्छ ।

यो फिल्मको केन्द्रीय चरित्रको रुपमा रहेका शिवाज रावको भूमिकामा अभिनेता कपुर छन् । टेलिभिजन क्यामेराम्यान र सञ्चालक हुँदै ऊ कसरी एक दिनको लागि मुख्यमन्त्री बन्छ र दिइएका चुनौतीलाई स्वीकार्दै प्रतिबद्धता पूरा गर्छ भन्ने चित्रण यसले गर्छ ।

राव पात्रले कलेज विद्यार्थी र बस ड्राइभरबीचको झडपको घटनालाई लिएर महाराष्ट्रका मुख्यमन्त्री बलराज चौहान (अमरिस पुरी) प्रहरीसँगको संवाद रेकर्ड गर्छ । उक्त रेकर्ड टीभीमा प्रसारण भएपछि चौहानले रावलाई मुख्मन्त्री बनेर काम गर्न चुनौती दिन्छ । चौहानको उक्त चुनौतीलाई शिवाजी रावले स्वीकार गर्छ ।

एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाएको शिवाजीले मुख्यमन्त्री हुँदाको दिनको सुरुवात जनताको दैनिकीबाट थाल्छ । उसले खाँचो परेकालाई उपयुक्त आवास र रोजगारीको प्रबन्ध पनि गर्छ । असक्षम र भ्रष्ट सरकारी कर्मचारीलाई निलम्बन गर्छ । दिनको अन्तिम कार्यको रुपमा उसले भ्रष्टाचारको मूल कारण बताउँदै चौहानलाई पक्राउ गर्छ ।

अनिल कपुरको यो फिल्मलाई समीक्षकले निकै रुचाएका थिए । अधिकांश समीक्षकले चाहिं फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका थिए । नेपाल र भारत मात्र होइन, अन्य मुलुकका राजनीतिक उथलपुथलमा समेत बलिउड फिल्म नायकको चर्चा उठ्ने गरेको छ ।

फिल्म समीक्षक मनोज पण्डित नेपाली समाजमा नायकको खोजी भइरहेको र नागरिकले बालेनमा त्यसको प्रतिविम्ब देखेको बताउँछन् । ‘नेपाली समाजमा नायक भन्न ठूलो काम गर्नु पर्दैन । जनताको मन जित्ने साना काम गरे मात्र पुग्छ । त्यो काम बालेनले गरेका छन्,’ उनी भन्छन् ।

‘अहिले देशलाई चाहिएको नायक हो । राजनीति मार्फत जनताले त्यो नायक नपाएपछि फिल्म मार्फत भए पनि पाएका छन् र त्यसमा उनीहरुले आफ्ना नेताको छवि खोज्नु स्वभाविकै हो,’ पण्डित भन्छन्, ‘देशले खोजिरहेको नायकको स्वरुप फिल्ममा हेर्नुलाई मैले स्वभाविक रुपमा लिएको छु ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?