+
+

‘राधा’ र ‘प्रकाश’ आजदेखि हलमा, बिहानी अकुपेन्सी ३० प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ११:१६

काठमाडौं । शुक्रबार दुई नेपाली फिल्म रिलिज भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ प्रदर्शनमा त आएका छन्, तर दुवै फिल्मलाई हलमा दर्शक तान्नुपर्ने चुनौती छ ।

दुवै फिल्मले प्रिमियरबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेका छन् । अब ‘वर्ड अफ माउथ’मा यी दुई फिल्मको विकडेजको भविष्य निर्भर हुनेछ । दुवै गम्भीर स्वादका फिल्म भएकाले दर्शकमाझ कसरी अपील सिर्जना गर्न सक्छन्, यो महत्वपूर्ण चासो हो ।

समीक्षकले यी दुवै फिल्मका सकारात्मक र नकारात्मक पाटा औंल्याएकाले यी फिल्मप्रति दर्शकीय रेस्पोन्स कस्तो रहन्छ, समग्र सप्ताहन्तको अकुपेन्सीले त्यसलाई पुष्टि गर्नेछ । यद्यपि, प्रिमियरमा हेरेका जति यसबाट निराश छैनन् ।

बिहानी अकुपेन्सी २० देखि ३० प्रतिशत

दुवै फिल्मको देशव्यापी बिहानी अकुपेन्सी २० र ३० को बीचमा छ । क्यूएफएक्समा मर्निङ अकुपेन्सी २५ प्रतिशत हाराहारीमा छ । बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले ‘राधा’ र ‘प्रकाश’ दुवैको अकुपेन्सी ३० र ३५ प्रतिशत हाराहारीमा रहेको बताए ।

‘विकडेजमा कसरी फिल्म अघि बढ्छन् भन्ने कुरा विकेन्डमा प्राप्त हुने ‘वर्ड अफ माउथमा निर्भर हुनेछ,’ अनलाइनखबरसँग शर्माले भने । उनका अनुसार बलिउड फिल्म ‘लाइगर’को बिहानी अकुपेन्सी ५० प्रतिशत छ ।

‘राधा’ र ‘प्रकाश’ कस्ता फिल्म हुन् ?

सृष्टि श्रेष्ठ, सौगात मल्ल र खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहेका फिल्म ‘राधा’ले हराएका पतिको खोजीमा निस्किएकी पत्नीको कथा पेश गर्छ । सुवर्ण थापा निर्देशित फिल्मलाई मल्टिप्लेक्ससहित एकल पर्दामा समेत रुचाउने अपेक्षा गर्न सकिन्छ ।

दिनेश राउतको फिल्म ‘प्रकाश’मा प्रदीप खड्का, रेणु योगी र दीया मास्केको प्रमुख भूमिका छ । आर्थिक र सामाजिक चुनौतीबीच जुम्लाको एक विपन्न युवकले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई फिल्म चित्रण गर्छ । यसले नेपाली शिक्षा व्यवस्थाको विकृत पाटोलाई प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?