+
+

‘कोल्ड ड्रिंक’ वास्तवमै पिउन योग्य हुन्न ?

अंगद सिंह अंगद सिंह
२०७९ भदौ १० गते १४:४४

काठमाडौं । जब हरर तिर्खा लाग्छ, चिसो पेय घटघट पिउन मन लाग्छ । र, यस्तो पेयमा धेरैले कोकाकोला, पेप्सी, फेन्टा, मिरिन्डा रोज्ने गर्छन् । दैनिक नेपालीले कति कोल्ड डिंक पिउँछन् ? यसको छुटै हिसाबकिताब होला । यद्यपि हरपल कोल्ड ड्रिंकको खपत भइरहेकै हुन्छ ।

बजारमा वर्चस्व जमाउँदै यी पेयले हाम्रो भान्सामा प्रवेश गरिसकेको छ । त्यसैले बालबच्चाहरु खाना-नास्तासँग पनि ‘कोल्ड डिंक’ माग गर्न थालेका छन् । त्यसो त पारिवारिक जमघट, भोज, कार्जे आदिमा नेपाली समाजले यी पेय अत्यधिक मात्रामा खपत गर्न थालेका छन् ।

तर चिकित्सकहरु सुझाउँछन्, ‘यी कोल्ड ड्रिंक पिउन योग्य छैनन् ।’

पोषणविद्हरु ठोकुवा गर्छन्, ‘यी कोल्ड ड्रिंकमा अत्यधिक चिनी र अन्य हानिकारक रसायन मिश्रण हुन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भन्छ, ‘हामीले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा जाँच गरेर मात्र बजारमा पठाउँछौं । यो पिउन अयोग्य छैन ।’

कसलाई पत्याउने ? उपभोक्तामा द्विविधा छ । विश्वभर पिउने पेय कसरी हानिकारक होला ? यसमा त्यस्तो के तत्व हुन्छ जसले शरीरलाई नोक्सान गर्छ ? यदि जनस्वास्थ्यमा असर गर्ने हुँदो हो त सम्बन्धित निकायले किन यसलाई बजारमा पठाउँथे ?

यद्यपि यस्ता कोल्ड ड्रिंकले मानव स्वास्थ्यलाई कसरी असर गरिरहेको छ भन्ने कुरामा कुनै अध्ययन भने भएको छैन ।

के हुन्छ कोल्ड डिंमा ?

कोल्ड ड्रिंकमा मिश्रण गरिएको चिनीको मात्रा अत्यधिक हुन्छ । कोकाकोलाको वेबसाइटमा उल्लेख छ, एक लिटर कोकाकोलामा एक सय ग्राम चिनी हुन्छ । अर्थात् एक लिटर कोकाकोलामा हामीले सामान्य प्रयोग गर्ने चिया कपको आधा कप जति चिनी मिश्रण हुन्छ ।

सामान्यत हाम्रो शरीरलाई दैनिक रुपमा ३६ ग्राम भन्दा बढी चिनी जरुरत हुँदैन । तर कोल्ड ड्रिंकमा बानी परेकाहरुले जुन हिसाबले यो पेय पिउने गर्छन्, उनीहरुले आवश्यकता भन्दा बढी नै चिनी उपभोग गर्न पुग्छन् ।

शरीरलाई आवश्यक चिनी फलफूल लगायत प्राकृतिक खानाबाट नै प्राप्त हुने पोषणविद् बताउँछन् । पोषणविद् अतुल उपाध्यायका अनुसार अतिरिक्त चिनी स्वास्थ्यका लागि राम्रो मानिंदैन ।

चिकित्सकहरुका अनुसार कोकाकोला जस्ता कोल्ड ड्रिंकमा त्यस्ता तत्वहरु हुन्छन्, जो स्वास्थ्यका लागि फाइदाजनक छैन । कोकाकोलालाई गाढा खैरो रंगको बनाउन मिथाइलिमिडाजोल भन्ने रसायन प्रयोग गरिन्छ । यो रसायनमा क्यान्सरको कारक तत्व हुने अमेरिकन हार्ट एसोसिएसनले उल्लेख गरेको छ ।

यद्यपि क्यान्सर डट ओआरजी डटएयूको वेबसाइटमा भने उक्त रसायन क्यान्सरका लागि कारक भनिए पनि अहिलेसम्म त्यो प्रमाणित नभएको बताइएको छ ।

अक्सर कोल्ड ड्रिंकमा अत्यधिक मात्रामा सोडा, कार्बोनेट वाटार, क्याफिन जस्ता तत्व मिश्रण गरिएको हुन्छ । चिकित्सकका अनुसार यी तत्वहरुले मधुमेह, हाडजोर्नी दुख्ने, उच्च रक्तचाप, मोटोपन, अनिद्रा जस्ता समस्या देखिन्छ ।

‘कोल्ड ड्रिंकलाई विष हो भन्न मात्रै नसकिएको हो । यसले स्वास्थ्यलाई फाइदा होइन, नोक्सान गरिरहेको हुन्छ,’ पोषणविद् उपाध्याय भन्छन्, ‘यसले तत्काल कुनै समस्या नदेखाए पनि दीर्घकालमा समस्या निम्त्याउँछ ।’

यद्यपि यस्ता कोल्ड ड्रिंकले मानव स्वास्थ्यलाई कसरी असर गरिरहेको छ भन्ने कुरामा कुनै अध्ययन भने भएको छैन । ‘खासमा जनस्वास्थ्यसँग सोझै जोडिएको यो संवेदनशील विषय हो,’ पोषणविद् उपाध्याय भन्छन्, ‘यस्ता कुरामा सरकारले नै चासो र सरोकार राख्नुपर्ने हो ।’

सामान्य खानामा प्रोटिन, फाइबर, फ्याट, भिटामिन, क्याल्सियम, सोडियम जस्ता पोषकतत्व पाइन्छन् । तर बजारमा छ्यापछ्याप्ती यी कोल्ड ड्रिंकमा त्यस्ता कुनै पनि पोषकतत्व नहुने उपाध्यायको तर्क छ ।

बजारमा कोकाकोला, फेन्टा, मिरिन्डा, पेप्सी, स्प्राइट, ड्यु जस्ता चिसो पेयको वर्चस्व छ । खासगरी बालबच्चा र किशोरपुस्ता यस्ता पेयमा बढी लोभिएका छन् ।

यस्ता खानेकुरा खानयोग्य छ वा छैन, यसले जनस्वास्थ्यमा कुनै असर गर्छ वा गर्दैन भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जाँच तथा अनुगमन गर्छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनको दाबी अनुसार यी पेयमा त्यस्ता हानिकारक तत्व छैन ।

उनी भन्छन्, ‘हामीसँग अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला छ । त्यही जाँच गरेर मात्र कुनै पनि खानेकुरा बजारमा पठाइन्छ ।’ उनका अनुसार गुणस्तरहीन खानेकुरा र पेयलाई बजारमा पठाउने गरिएको छैन ।

‘हामीले जनस्वास्थ्यलाई मध्यनजर गरेर मापदण्डभित्र रही उत्पादन गरिएका खानेकुरा मात्र बजारमा पठाउने गरेका छौं,’ प्रवक्ता महर्जन भन्छन् ।

यता पोषणविद् अनुश्री आचार्य भने कोल्ड ड्रिंक स्वस्थ्यवर्द्धक पेय नभएको जिकिर गर्छिन् । ‘अहिले त कोल्ड ड्रिंक नपिउने कोही हुन्न । फेसन जस्तै भएको छ,’ उनी भन्छिन्, ‘तर यसले शरीरलाई कुनै पोषण दिंदैन ।’ मुटु, मिर्गौला जस्ता अंगलाई बचाउने हो भने कोल्ड डिंक नपिउन उनको सुझाव छ ।

‘कोल्ड ड्रिंकलाई पानीको रुपमा खाए न तिर्खा मेटाउँछ, न खानाका रुपमा खाए भोक । यसले शरीरलाई फाइदा गर्नुको साटो झन् नोक्सानी दिइरहेको छ । यसको असर प्रभावबारे अनुसन्धान र दैनिक रुपमा बजार अनुगमन गर्नुपर्छ,’ पोषणविद् आचार्य भन्छिन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखा प्रमुख होमनाथ भट्टाई विभागको काम गुणस्तर परीक्षण गर्ने नभएर त्यसको मूल्य, ब्रान्ड, उत्पादन मिति र म्याद सकिने मिति, लट नम्बर परीक्षण गर्नु रहेको बताउँछन् ।

विभागले कोल्ड ड्रिंकका लागि भनेर मात्रै बजार अनुगमन नगरेको स्वीकार गरेको छ । ‘कोल्ड ड्रिंकका लागि छुट्टै योजना बनाएर बजार अनुगमन नगरेको भए पनि अनुगमनका बेला विभागले हरेक कुराको निरीक्षण गर्छ,’ भट्टाईले भने, ‘हाम्रो काम बजार मूल्य, उत्पादक, उत्पादन र म्याद गुज्रिने मिति, लट नम्बर तथा भ्याटनम्बर हेर्ने हो ।’

खाद्यान्नको गुणस्तर हेर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भएकाले गुणस्तर हेर्ने काम उसैको रहेको उनी बताउँछन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?