+
+

पोखराका सडक बत्ती : आधा बल्दैनन्, बलेका पनि मधुरो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १५:४४

१० भदौ, पोखरा । पर्यटकीय हिसाबले हरदम व्यस्त रहने पोखरा लेकसाइडको पैदलमार्गमा प्रत्येक ५० मिटरको दूरीमा सडकबत्ती राखिएका छन् । तर, साँझकोबेला त्यहाँ कोही पर्यटक लेकसाइड फुटट्रयाक क्षेत्रमा टहलिन पुग्यो भने आफ्नै टर्चलाइट बाल्दै हिंड्नुपर्ने स्थिति छ ।

महानगरले ०७० सालदेखि त्यहाँ राख्न सुरु गरेको सोलारबत्ती अधिकांश बिग्रिएका कारण पोलमा मात्रै सीमित छन् । यो समस्या लेकसाइडमा मात्रै छैन, पोखराकै व्यस्त क्षेत्र मानिने चिप्लेढुंगा, न्युरोड, नयाँ बजारमा पनि उस्तै छ ।

पोखरा महानगरका इन्जिनियर ध्रुव भट्टराईका अनुसार महानगर क्षेत्रभित्र २ हजार सडक बत्ती छन् । तर, ६ सय भन्दा बत्ती मर्मतसम्भारको अभावमा बिग्रिसकेका छन्, बाँकी पनि पर्याप्त उज्यालो दिँदैनन् । उनले अहिले बिग्रिएका बत्तीहरुको तथ्यांक संकलन भइरहेको छ ।

पर्यटकीय सहरका रुपमा परिचित पोखराका मुख्य बजार क्षेत्रमै सडक बत्ती नहुँदा बेलाबेलामा विभिन्न झमेलासमेत पर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारी महानगरकै बजार क्षेत्रका सडकमा बत्ती नहुँदा प्रहरीले समेत हैरानी खेपिरहेको बताउँछन् ।

‘महानगर भनेपछि सडकका बत्ती बल्नुपर्ने हो । तर, यहाँ त्यस्तो छैन । लेकसाइडको फुटट्रयाकमा भएका बत्तीसमेत नबल्दा पर्यटक असुरक्षित छन्,’ डिएसपी तिवारी भन्छन्, ‘सडकमा बत्ती नहुँदा अपराध त हुन्छन् नै सडक दुर्घटना सबैभन्दा बढी भइरहेको छ ।’

बत्ती नहुँदा प्रहरी प्रशासनले राम्रोसँग चेकिङ गर्नै नपाइरहेको बाध्यता उनले सुनाए । ‘खासमा घटना घट्न सक्ने ठाउँमा चेकिङ हुनुपर्ने हो । तर, रातमा बत्तीकै अभावमा उज्यालो खोज्दै हिँड्नुपर्ने हाम्रो बाध्यता छ,’ उनले भने ।

सहरमा रातको समयमा हुने अपराध तथा दुर्घटनालाई न्युनीकरणमा गर्ने हो भने सडकको उज्यालोलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने डीएसपी तिवारीको सुझाव छ । उनले भने, ‘जहाँ मान्छे वा पर्यटकको एक्टिभिटिज ढिलोसम्म हुन्छ त्यहाँ उज्यालो आवश्यक नै हो । पाहुना बोलाएरमात्रै हुँदैन, उनीहरुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पनि महानगरको कर्तव्य नै हो ।’

महानगरका इन्जिनियर भट्टराईले ०७० सालदेखि पोखरामा सडक बत्ती राख्न सुरु गरेको जानकारी दिए । उनका अनुसार सुरुमा महानगरको न्युरोड क्षेत्रमा सडकबत्ती राखिएको थियो भने दोस्रो चरणमा लेकसाइडमा राखिएको थियो । ‘२०७३ सालसम्म पोखराका सडकमा महानगरले पटकपटक गरी बत्ती राख्दै आएको छ,’ उनले भने । महानगरले एक पटक आफैंले र एकपटक चिनियाँ सरकारको सहयोगमा सडकबत्ती राखेको थियो ।

पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरले पोखराका सडकमा बत्ती जडान गर्न नै ३० करोड रुपैयाँभन्दा बढी खर्चेको बताउँछन् । ‘ती सडक बत्तीको मर्मतसम्भार गर्न पनि उस्तै महंगो पर्ने भएकाले अधिकांश बिग्रिसकेका छन्,’ उनी भन्छन् । महानगरका अनुसार बिग्रिएका सडक बत्ती मर्मत गर्नै ५० लाखभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

तिहारअघि सडक झलमल्ल पारिने

जोडिएका सडकबत्ती पनि बिग्रिएकोे र भएकाले पनि पर्याप्त प्रकाश नदिएको गुनासो पछि पोखरा महानगरले हाइ-मास्ट लाइट प्रयोग गर्ने भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा ‘स्मार्ट लाइट’ राख्ने भएको हो ।

पोखरामा तिहारअघिसम्म १ हजार ५०४ वटा सडक बत्ती बाल्ने गरी शुक्रबार महानगर मेयर धनराज आचार्य र प्राधिकरणका पोखरा प्रमुख प्रमोद रिजालले जिरो किमी चोकमा शिलान्यास गरेका छन् । ‘उज्यालो पोखरा’ नाम दिइएको उक्त अभियानअन्तर्गत उच्च प्रविधियुक्त १६ मिटर अग्लो हाई–मास्ट लाइट २३ वटासमेत जडान गरिने उनले जानकारी दिए ।

शुभराम्भ कार्यक्रम ।

५०/५० प्रतिशत संयुक्त लगानीमा जडान हुन लागेको स्मार्ट लाइटको ठेक्का टप्सन इनर्जीले पाएको छ । महानगरका अनुसार लक्षित बत्ती जडान गर्न १२ करोड ७५ लाख रुपैयाँमा सम्झौता भएको छ । सडकमा फिलिप्स ब्रान्डको बत्ती प्रयोग गर्ने सम्झौता भएको छ ।

विद्युत प्राधिकरण पोखराका प्रवन्धक प्रमोद रिजालका अनुसार पोखरामा जडान गर्न लागिएको ‘स्मार्ट लाइट’ सुरुमा ललितपुर महानगरबाट सुरु गरिएको हो । उनले प्राधिकरणले नेपालमा जडान गर्दै आएको स्मार्ट लाइट भारतको जयपुर, दिल्ली लगायत सहरमा पनि सफल प्रयोगमा आइसकेका छन् ।

‘सडक उज्यालो बनाउन सुरुमा सोलारबत्ती जोडिएको थियो । तर, त्यसले लक्ष्यअनुसार काम गर्न सकेन । चाँडै बिग्रिने र मर्मतमा पनि उस्तै खर्च गर्नुपर्ने देखियो,’ रिजालले भने, ‘सडक उज्यालो पार्ने दीगो उपाय खोज्दै जाने क्रममा यो विधि फेला पारेका हौं ।

रिजालका अनुसार पोखरामा जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ । ‘सुर्यास्त पछि आफैैं बल्छ । त्यसपछि १० बजेसम्म बढी उज्यालो हुन्छ भने विस्तारै अटोमेटिक घट्दै जान्छ,’ उनले भने, ‘नबलेको, बिग्रिएको थाहा हुने भएकाले तत्काल मर्मत गर्न पनि सकिन्छ । यो साँच्चै स्मार्ट छ ।’ बत्तीमा प्रयोग गरिने फोरजी सिमले कति विद्युत खपत गर्छ भन्नेबारे पनि जानकारी राख्ने उनले सुनाए ।

रिजालले मुख्य सडक तथा चोकमा १ सय २० वटा र बाँकीमा ९० वाटको बत्ती प्रयोग गरिने जानकारी दिए । ‘अधिकांश पहिलेकै पोल प्रयोग गरिने भएकाले जम्मा ४ सय २४ वटामात्रै नयाँ पोल थपिनेछन्,’ उनले भने, ‘मापदण्डअनुसार प्रत्येक ३० मिटरमा बत्ती राख्नुपर्छ । तर, पोखरामा ५०, ६० मिटरको दूरीमा पोल भएकाले त्यसको बीचमा मात्रै थपिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?