+
+

निर्माणमा गएनन् पीपीए गरेका १५ सय मेगावाटका आयोजना

लगानी नजुटाउनेमाथि सरकार कठोर बन्ने संकेत

सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि लगानी जुटाएर निर्माणमा नगाएका कम्पनीलाई छिटो निर्माणमा जान दबाव दिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १९:५५

१२ भदौ, काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि लगानी जुटाएर निर्माणमा नगाएका कम्पनीलाई छिटो निर्माणमा जान दबाव दिने भएको छ । पीपीए भएका परियोजना समयमै निर्माणमा नजाँदा देशले पाउनसक्ने सम्भाव्य लाभ गुमाइरहेको भन्दै सरकारले त्यसबारे खोजी गरिने बताएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आयतबार मन्त्रालयतमा आयोजित पत्रकार सम्मेलनमा नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) आयोजनाको पीपीएको कोटा सकिँदा ४ वर्षदेखि पीपीए हुन नसकिरहेका बेला पीपीए भएका आयोजना निर्मााण्मा नगएको कुरालाई गम्भीर रुपमा लिनुपर्ने बताइन् ।

‘राष्ट्रघात नै भन्ने भए त्यसलाई भनौं,’ उनले भनिन्, ‘पीपीए गर्ने तर निर्माणमा नजाने गर्दा राज्यलाई कति हानी भइहरेको छ हेक्का गरौं, अब हामी ती आयोजनाबारे खोजी गर्छौं ।’

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलन ।

मन्त्री भुसालका अनुसार करिब १५ सय मेगावाट बराबरका आयोजना अझै पीपीएमा गएका छैनन् । त्यस्ता परियोजनालाई मन्त्रालयले हेरिरहेको उनको भनाइ थियो ।

मन्त्री भुसालका अनुसार सरकारले नदी प्रवाह आधारित जलविद्युत् आयोजना (आरओआर) को विद्युत् खरिद सम्झौता (पीपीए) को सीमा (कोटा) बढाउने निर्णय गरिसकेको छ । अब एक हप्ताभित्रै प्राधिकरणले बोर्डबाट निर्याय भएर पीपीए खुला गरिने छ ।

मन्त्रिपरिषद्‍ले यसका लागि १५ हजार मेगावाटका लागि तोकिएको आरओआरको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै प्राधिकरणले थप १५ सय मेगावाटको आयोजनाको पीपीए गर्ने ढोका खुलेको थियो ।

यसअघि जलासययुक्त आयोजनाको लागि ३५ प्रतिशत पीपीए कोटा तोकिएको थियो । अब त्यसमा १० प्रतिशत घटेर २५ प्रतिशत अर्थात् ३७५० मेगावाट कामय भएको छ । पिकिङका लागि भने ३० प्रतिशत अर्थात् ४५ सय मेगावाटको कोटा यथावत रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

१० वर्षमा १५ हजार मेगावाट बराबरको आयोजना बनाउने लक्ष्य राखेको सरकारले अहिलेसम्म ३५ प्रतिशत हिस्सा (५२५० मेगावाट बराबर) रन अफ दि रिभर (आरओआर) प्रणालीको हुने गरी तोकेको थियो ।

सरकारले ऊर्जा समिश्रणको नीति पुनरावलोकन गर्न दुई पटक समिति बनाएर अध्ययन गरेको थियो । सोही समितिहरुले दिएको अध्ययन प्रतिवेदनका आधारमा ऊर्जा समिश्रणको नीति बदल्ने निष्कर्षमा मन्त्रालयहरु पुगेको थिए ।

त्यसअनुसार उत्पादित विद्युत् सरकारले किन्न नसके क्षतिपूर्ति दिनेगरी पीपीए गर्ने व्यवस्था छ । तर, प्राधिकरणले यो कोटा बराबरको पीपीए गरिसकेकाले प्राधिकरणले करिब ३ वर्षदेखि आरओआरका आयोजनासँग पीपीए गर्न सकेको थिएन ।

पछिल्ला वर्षमा जलविद्युतमा लगानी गर्न चाहने कम्पनीहरुको लाइन लामो छ, तर सरकारले विद्युत् खरिद सम्झौता (पीपीए)बारे ठोस निर्णय नलिँदा तीन वर्षयता प्रस्तावित दशौं अर्ब लगानीलाई ‘तगारो’ लागेको छ ।

पीपीए ठप्प हुँदा भविष्यमा विद्युतको माग, आपूर्ति र खपतदर बीचको सन्तुलन बिग्रने र सम्भाव्य अन्तर्राष्ट्रिय बजार गुम्न सक्ने जोखिम छ । भविष्यमा हुनसक्ने माग र सम्भावित बजारको अवस्थालाई हेरेर पीपीए गर्दै आयोजना बनाउने बाटो खोल्दै जानुपर्ने नेपाल विद्युत् प्राधिकरणले बताउँदै आएको छ ।

तर, सरकारले ठोस नीतिगत निर्णय नगर्दा सयौं आयोजनाले पीपीएका लागि दिएको निवेदन प्राधिकरणमा थन्किन पुगेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादनलाई प्रोत्साहित गर्न ‘टेक अर पे’ (लेउ वा तिर) अनुसार पीपीए गर्न तोकेको आरओआर आयोजनाको कोटा सकिएको छ । बजार सुनिश्चित नहुने भएकाले प्रबर्द्धकहरुले पनि ‘टेक एन्ड पे’ अनुरुप पीपीए गर्ने आँट गरेका छैनन् ।

अहिले अधिकांश आयोजना आरओआरमै बनाउन प्रस्ताव गरिएकाले प्राधिकरणले पीपीए गर्न सकेको छैन ।

अहिले १ हजार ८२५ मेगावाटका आयोजना पीपीए भएर निर्माणको चरणमा छन् भने २ हजार १४१ मेगावाट बराबरको आयोजना विद्युत् जडान सम्झौता भएर पीपीए कुरिरहेका छन् । त्यस्तै, ७२ सय मेगावाट बराबरको आयोजनाहरु विद्युत् जडानसहित पीपीएको लागि प्राधिकरणमा निवेदन दिएर कुरिरहेका छन् ।

प्राधिकरणले अहिलेसम्म सबैभन्दा पहिले निवेदन दिने (कोटाभित्र) आयोजनासँग तोकिएको दरमा पीपीए गर्दै आएको छ । अहिले प्राधिकरणले आरओआर प्रणालीका आयोजनाका प्रतियुनिट बिजुली न्यूनतम मूल्य ४ रुपैयाँ ८० पैसा र अधिकतम् मूल्य ८ रुपैयाँ ४० पैसामा किन्ने गरी पीपीए गर्छ ।

हालसम्म ६ हजार मेगावाटभन्दा बढीको बिजुली किन्ने गरी पीपीए गरिसकेको छ । सरकारी स्तरकासहित करिब साढे ९ हजार मेगावाट बराबरका योजना प्राधिकरणमा पीपीए कुरिरहेका छन् ।

आरओआर आयोजनाहरुमा समस्या भएपनि पिकिङ रन अफ दि रिभर (पीआरओआर) प्रणाली र जलासययुक्त (रिजर्भवायर) आयोजनाको कोटा भने सकिएको छैन ।

अब आरओआरको परियोजनामा थप पीपीए गर्ने र पीपीए गरेर कार्यान्वयनमा नगएका आयोजनालाई छिटो लगानी गर्न ताकेता गर्ने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?