+
+
व्यङ्ग्य :

महान चाड कि ऋणको पहाड ?

पहिले जस्तो दरमा खीर, पुरी, तरकारी, अचार चल्दैन । आजकलका दरमा पिज्जा, वर्गर, मःम, बियर र वाइन चल्छ । तीजको रौनक नै अलग छ । पहिले छोरीबेटीले माइतमा गएर आफ्ना पीडा–व्यथा सुनाउने चलन थियो । आज तीजले फेशन शोको रूप लिइसक्यो ।

राजेन्द्र पुडासैनी राजेन्द्र पुडासैनी
२०७९ भदौ १२ गते २०:५२

मन्दिरै मन्दिरको शहर हो काठमाडौं । यहाँ घरभन्दा धेरै मन्दिर छन् । बेलाबेलामा हुने प्राकृृतिक प्रकोपले हाम्रो मन्दिर टुट्ने र मूर्ति फुट्ने समेत गरेका छन् । प्रकृतिसँग कसैको केही लाग्दैन तर कहिलेकाहीं चाहिं अद्भुत आश्चर्य नै देखापर्छ ।

मन्दिर जहाँको तहीं हुन्छ, तर मूर्ति भने गायव ! अनि हराएका ती प्राचीन मूर्तिहरू युरोप र अमेरिकामा फेला पर्छन् । कुन जादुगरले यस्तो छुमन्तर गर्छ जसले हाम्रा मूर्तिहरू अनायासै गायव हुन्छन् ।

हुन त प्राचीन मन्दिर र मूर्तिहरू ‘स्टोन क्यान्सर’ बाट पीडित हुन्छन् । अम्लीय वर्षाका कारण प्राचीन मन्दिर, मूर्ति विकृत हुँदै जानु ‘स्टोन क्यान्सर’ हो । यस्ता मूर्तिहरूको उपचार भन्नु नै नयाँ–नयाँ मूर्ति स्थापित गर्दै जानु हो । नत्र हाम्रा मूर्तिकारहरू बेकामे पनि हुन्छन् । झन् आजकल त मन्दिर स्थापना गर्ने होडबाजी नै चलेको छ । यस्ता मन्दिर बनाउन आजकल भागवत र पुराण लगाउनेको तँछाडमछाड नै चल्छ ।

पहिले पहिले धेरै मन्दिर राजाहरूले बनाउँथे । अहिले राजतन्त्रको स्थान गणतन्त्रले लिएको छ । पहिले पो बलि राजा र दानवीर कर्णको कुरा आउँथ्यो । अहिले उहिलेका कुरा खुइलिसके । अस्पताल बनाउन, कलेज बनाउन, मन्दिर बनाउन ठूल्ठूला दानवीरहरू जन्मिसकेका छन् । कर्मचारीहरूले कर बचाउन नागरिक लगानी कोष कटाएझैं यस्ता पुण्यकार्यमा खर्च गरेर ठूला व्यापारी भलो गर्न खोज्छन् । कालो धनलाई सेतो बनाउन ईश्वरको आशीर्वाद पनि त चाहिन्छ कतिलाई ।

नेपाली हिन्दु नारीहरूको महान् चाड तीज आउँदैछ । कोही–कोही यो महान चाड होइन ऋणको पहाड हो पनि भन्छन् । तीजको अघिल्लो दिन दर खाने गरिन्छ । आजकल महिना दिन अगावै दर खाइन्छ, खुवाइन्छ । आजकलका दर घरमा हैन पार्टी प्यालेस र रेस्टुरेन्टमा हुनेगर्छ । समयसँगै दरको स्वरूप पनि परिवर्तन भएका छन् ।

पहिले जस्तो दरमा खीर, पुरी, तरकारी, अचार चल्दैन । आजकलका दरमा पिज्जा, वर्गर, मःम, बियर र वाइन चल्छ । तीजको रौनक नै अलग छ । पहिले छोरीबेटीले माइतमा गएर आफ्ना पीडा–व्यथा सुनाउने चलन थियो । आज तीजले फेशन शोको रूप लिइसक्यो । माता पार्वतीले पति पाउन एकान्तमा पूजाआजा गरी व्रत बस्नुभएको थियो रे ! आजकल तीजको व्रत यसरी गुपचुप हुँदैन । शिवालयको मन्दिर वरिपरि र बाटा–बाटामा कम्मर लच्काउँदै, मादल घन्काउँदै, ताली पड्काउँदै व्रत बस्ने चलन छ ।

कोही व्रतालुहरू निराहार बस्छन्, कोही दुई–चार किलो फलफूल आहार गर्छन् भने अरू कोही भने एक केजी सावुदानाको खीर खाएर प्राणसम्म बचाउँछन् । कोही श्रीमान्को आयु लामो होस् भनेर ब्रत बस्छन् । कोही भने कसका श्रीमान्ले श्रीमतीको आयु लामो होस् भनेर व्रत बसेका छन् भनेर प्रतिप्रश्न गर्छन् ? व्रत बस्दैमा श्रीमान्को आयु लामो हुने र कसैले व्रत नबस्दैमा कसैको आयु छोटो हुने हँुदैन । श्रीमान्को आयु श्रीमान्ले नै ल्याएका हुन्छन् ।

तीजकै दिन कतिपय श्रीमान्ले सधैंका लागि आफ्नी श्रीमतीलाई ‘वाई वाई’ गरेका छैनन् र ? दर पनि राजनैतिक पार्टीहरू पिच्छे खुवाउने चलन छ । देश संघीयतामा गएको छ । प्रदेश पिच्छे, स्थानीय निकाय पिच्छे छुट्टाछुट्टै राजनैतिक पार्टीका छुट्टाछुट्टै दर खाने/खुवाउने कार्यक्रम हुन्छ ।

नेपाल स्वर्गको बगैंचा हो । स्वर्गको कुनै टुक्रा उछिट्टिएर खसेको छ भने त्यो भूभाग नेपाल नै हो । आराध्यदेव भगवान पशुपतिनाथ यहीं हुनुहुन्छ । तर सँगै बगेकी वागमतीलाई सबले दुर्गन्धमती जस्तो बनाएका छन् । वागमतीमा गएर गंगास्नान गर्नेहरू कोही छन् त ? त्यहाँ भएका अनेकथरी विकृतिहरूलाई पशुपति विकास कोषले नदेखेकै हो त ?

स्वर्गको बगैंचा चहार्दाचहार्दै म यस्तो ठाउँमा पुगें जहाँ सडक सडकमा यत्रतत्र फोहोरका डङ्गुर थिए । यो फोहोर हटाउने जिम्मेवारी कसको हो ? शीर्षकमा ठूलै वादविवाद चल्दैरहेछ । कोही महानगरपालिकाको, कोही स्थानीय निकायको भन्दै आफ्नो मत जाहेर गर्दै रहेछन् । फोहोर फाल्न जाने र फोहोर फाल्न नदिनेबीच जुहारी चल्दै रहेछ ।

यो फोहोरी राजनीति हो कि फोहोरमाथिको राजनीति हो ठम्याउनै हम्मे हम्मे थियो । डेङ्गु, मलेरिया, हैजा सबै यसमा लुकामारी खेल्दै रहेछन् । म कवि मात्र थिएँ आजबाट मैले आफूलाई स्वघोषित ‘आशुकवि’ भन्न थाले । मेरो कविता फुरिहाल्यो ।

डेङ्गु, मलेरिया, हैजा यहीं
धुवाँ, धुलो र नाली यहीं ।
कति सुन्दर रहेछ नगरी
स्वर्गकै बगैंचा सरी ।।

राजनैतिक पार्टीका युवा नेताहरू देश अब युवा वर्गको नेतृत्वमा चल्नुपर्छ भन्छन् । उनीहरू किन ‘वल्र्ड इज गोल्ड’ भन्ने कुरा बिर्सन्छन् ? युवाकै कुरा गर्दा कतिपय युवाहरू आज गाँजा, चरेस, हेरोइनको नशामा लट्ठ परेका छन् । नयाँ जोश–जाँगर हुनुपर्ने यिनीहरू सुधारगृहमा सुधारिन पुगिरहेका छैनन् र ? पहिले महादेव भाङ, धतुरो जस्ता कच्चा पदार्थ मात्र प्रयोग गर्नुहुन्थ्यो आजकलका युवाहरू त झन् ‘प्युरिफाइड’ सेवनमा नै व्यस्त छन् ।

सरकार छ, सरकार छैन । सरकार बुद्धको मूर्ति जस्तो छ । महँगी बढेको छ, सरकार बेखबर छ । कारबाही छैन । कोही सिटामोल पाउँदैनन्, कसैलाई रुघा लागेपछि अमेरिकाको भ्रमणको निम्तो आउँछ । विदेश सयर आफूमात्र गरेर भएन, श्रीमती, छोराछोरी, आफन्त, आसेपासे पनि त छुट्नुभएन । जनतासँग पैसा छैन, राष्ट्रको ढुकुटी रित्तो छैन । जनता सडकमा भोको पेट बजार्दैछन्, सांसदहरू सदनमा टेबुल थचार्दैछन् ।

नागरिकता विधेयकको अहिले चर्चा छ । वंशज नागरिकता, अंगीकृत नागरिकता कसलाई दिने कसलाई दिन नमिल्ने भन्ने रडाको छ । यस्ता राष्ट्रिय मुद्दामा छलफल, बहस गरी टुङ्गोमा किन नपुग्ने ? किन सत्तापक्ष र प्रतिपक्ष विभाजित भइराख्ने ! यो राष्ट्रहितमा छ कि छैन, निष्कर्ष निकाल्न के गाह्रो भो ! यसमा धेरै खिचडी पकाइराख्नुपर्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?