+
+

दरको डर

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ १३ गते १३:३९

काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, माघे संक्रान्तिमा कन्दमूल, असार १५ मा दही-चिउरा भनेजस्तै तीजको विशेष खान्की हो, दर । खासगरी दूग्धजन्य परिकार बनाएर दरको रुपमा खाने प्रचलन छ । खीर, ढकनेसँगै अरु मीठोमसिनो परिकार बनाएर छोरीचेलीलाई खुवाउने गरिन्छ ।

अहिले भने तीजको शैली फेरिएसँगै दरको व्यञ्जन पनि फेरिएको छ । दरको रुपमा अनेकथरी परिकार बनाउने र खाने गरिएको छ । पारिवारिक जमघटमा नाचगान गर्दै मध्यरातसम्म बसेर दर खाने प्रवृत्ति छ ।

तीजको दिन भने उपवास एवं व्रत बस्ने गरिन्छ । व्रतमा कतिपयले पानी समेत पिउँदैनन् भने कतिपयले फलफूल खाने गर्छन् । अन्न खाँदैनन् । तर मध्यरातसम्म दर खाएर बस्ने र अर्को दिन निराहार व्रत बस्ने प्रवृत्ति शारीरिक स्वास्थ्यका लागि भने लाभदायक नहुने पोषणविद् रतिका तामाङ बताउँछिन् ।

‘अघिल्लो रात टन्न खाएर भोलिपल्ट व्रत बस्नु एकदमै हानिकारक छ,’ पोषणविद् तामाङ भन्छिन्, ‘यसो गर्दा न शरीरलाई पोषण मिल्छ, न पाचन प्रक्रिया नै सहज हुन्छ ।’

हामी दैनिक जति मात्रामा खाना खान्छौं, हाम्रो पेटको खाना पचाउने क्षमता पनि त्यही अनुसार बनेको हुन्छ । तर दर खाने दिनमा एकैचोटि धेरै खाना खाँदा हाम्रो पेटले त्यसलाई सहजै पचाउन सक्दैन । तामाङ भन्छिन्, ‘त्यसको लागि पेटले धेरै एसिड उत्पादन गर्छ जसले गर्दा मुखमा अमिलो पानी आउने पेट फुल्ने जस्तो समस्या देखिन सक्छ ।’

दरखाने दिनमा बाहिर बनेको मिठाइ, धेरै चिल्लो खानेकुरा तथा बासी खानाको सेवन गर्दा भने फुड पोइजनिङको समस्या देखिन सक्ने पारिवारिक चिकित्सक डा. विश्वराज दवाडी बताउँछन् ।

व्रतको दिन पानी पनि नपिई बस्दा डिहाइड्रेसन हुन्छ । जसले गर्दा निद्रा लाग्ने, रिङ्गटा लाग्ने, बेहोस नै सम्म पनि हुने हुन्छ । त्यसैले पानी पनि नखाई व्रत बस्नु भन्दा पानी खाएर व्रत बस्नु नै उचित हुने तामाङ सुझाउँछिन् ।

दरको खाने दिन मासुको परिकार, चिल्लो मसालेदार खाना, कोक फ्यान्टा मिठाइ जस्ता गुलियो खानेकुरा खाँदा पेटमा बढी एसिड बन्छ । जसले गर्दा मुखमा अमिलो पानी आउने, छाती पोल्ने, रगतमा सुगरको लेबल बढ्ने जस्ता समस्या समेत देखिन सक्ने उनले बताइन् ।

दीर्घरोगका बिरामी जस्तै मधुमेह, प्रेसरको बिरामीहरूले त दिनभरि पानी पनि नखाई व्रत बस्दा रिंगटा लाग्ने, शरीरमा पानीको कमी हुने समस्या देखिन्छ, त्यसैले यस्ता रोगका बिरामीहरूले त व्रत नबस्दा नै राम्रो हुन्छ । बस्न मन छ भने पनि समय–समयमा पानी र फलफूलको सेवन गरेर व्रत बस्नु पर्ने दवाडीले बताए ।

फुड पोइजनिङ हुन सक्छ

तीजले खाइने दरमा खीर, मासुका परिकार, मिठाइ लगायत सधैं खाइने परिकारभन्दा चिल्ला खानेकुरा बढी समावेश गरिएको हुन्छ, जसले अपच तथा ग्यास्ट्रिकको समस्या आउन सक्ने दवाडी बताउँछन् ।

‘अघिल्लो दिन घरमै बनाएको ताजा तथा सुपाच्य खाना खाएर भोलिपल्ट व्रत बस्दा त केही पनि समस्या हुँदैन,’ उनी भन्छन्, ‘तर बाहिरबाट किनेर ल्याएको मिठाइ, धेरै चिल्लो प्रयोग भएको खानेकुरा खाँदा भने पाचन प्रक्रियामा असर गरेर झाडा बान्ता हुन सक्छ ।’

दरखाने दिन बिहानै पकाएको खाना फ्रिजमा पनि नराखी आठ घण्टा भन्दा बढी राति अबेलासम्म खायो भने त्यो खानेकुरामा विभिन्न कीटाणु उत्पन्न भएर फुड पोइजनिङ हुन सक्ने दवाडी बताउँछन् ।

‘आवश्यकताभन्दा बढी कोची कोची खाँदा शरीरले पचाउन सक्ने क्षमतामा समस्या आउँछ, जसका कारण पनि फुड पोइजनिङ हुने गर्छ,’ उनी भन्छन्, ‘फुड पोइजनिङलाई सामान्य रूपमा लिनुहुँदैन । बोटुलिज्म भन्ने ब्याक्टेरियाले हुने फुड पोइजनिङमा बान्ता हुने, दिसा लाग्ने भएर शरीरमा पानीको मात्रा कम भएर मृत्यु समेत हुन सक्छ ।’

तीजको बेला बाहिरको खानेकुरा सकभर नखाएकै राम्रो मानिन्छ । बाहिरको खानेकुरा कम हाइजेनिक हुने गर्छ । साथै, त्यसलाई स्वादिलो बनाउनका लागि विभिन्न कृत्रिम सामग्री मिलाइएको हुन्छ । त्यसैले यस्ता खानाले शरीरलाई लामो समयसम्म असर गर्ने दवाडी बताउँछन्  ।

‘दरखाने दिन सागपात, फलफूल तथा फाइबरयुक्त खानेकुराको सेवन गर्नुपर्छ । मिठाइ र माछामासु बढी खानु राम्रो मानिंदैन,’ दवाडी भन्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?