+
+

कर्णालीमा दुई मन्त्रीले लिए शपथ, पुग्यो माओवादीका सबै सांसदको पालो

यज्ञ खत्री यज्ञ खत्री
२०७९ भदौ १३ गते १८:३०

१३ भदौ, सुर्खेत । कर्णाली प्रदेशका थपिएका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले सोमबार आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्री रातो कामीलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार नै अर्थमन्त्रीमा शाह र उर्जामन्त्रीमा कामीलाई नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयका नाम पठाएका थिए । गत शुक्रबार माओवादी केन्द्रले आफना दुई मन्त्री फिर्ता बोलाएपछि कर्णाली प्रदेश सरकारमा दुई मन्त्री थपिएका हुन् ।

माओवादीले सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो । र, शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।

मन्त्रिमण्डल समावेशी बनाउन कामी र शाहलाई नियुक्त गरिएको माओवादीले जनाएको छ । कामी र शाह मन्त्री भएसँगै कर्णाली प्रदेशका माओवादीका सबै सांसद आलोपालो गरेर मन्त्री बनेका छन् । त्यसैले माओवादीले पालो पुर्‍याएको भनेर आलोचना भएको छ ।

पाँच वर्षको अवधिमा हालसम्म कर्णाली सरकारमा दुई जना मुख्यमन्त्री सहित २२ जना मन्त्री बनेका छन् ।

११ जना सांसद रहेको माओवादीका एक जना मुख्यमन्त्री, एक जना उपसभामुख र १० जना (गैरसांसदसहित) मन्त्री बनेका छन् । माओवादीका दुई सांसद दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट एमालेमा प्रवेश गरेपछि सांसद पद गुमिसकेको छ ।

६ जना सांसद रहेको कांग्रेसका एक जना मुख्यमन्त्री र तीन जना मन्त्री भइसकेका छन् । जीवनबहादुर शाही मुख्यमन्त्री र दिनबन्धु श्रेष्ठ, यज्ञबहादुर विसी, हिमबहादुर शाही मन्त्रीको रुपमा सरकारमा सामेल छन् । कांग्रेसका सांसद अमृता शाही र झोवा विक मात्रै मन्त्री बन्न सकेनन् ।

प्रदेशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेका २० जना सांसद थिए । तत्कालीन नेकपा पार्टी विभाजनपछि १३ जनामा खुम्चिएको छ । प्रदेश सरकार गठन भएदेखि नै एमालेका राजबहादुर शाही सभामुख छन् । यसअघि माओवादीका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा प्रकाश ज्वाला, दल रावल, खड्क खत्री र नन्दसिंह बुढा मन्त्री बने ।

पछि फ्लोर क्रस गरेका ज्याला, नन्दबहादुर बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही पनि मन्त्री बने । फ्लोर क्रस गर्ने चारै जना अहिले नेकपा एकीकृत समाजवादीमा छन् । उनीहरुको सांसद पद पनि गुमिसकेको छ । एकीकृत समाजवादीबाट हाल प्रदेशसभामा ३ जना सांसद छन् । जसमा चन्द्रबहादुर शाही र पदमबहादुर रोकाय मन्त्री छन् । सांसद देवी ओली मात्रै मन्त्री बन्न बाँकी छन् ।

फ्लोर क्रस गरेका चार जना र माओवादीबाट एमालेमा प्रवेश गरेका दुई जनालाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ । ४० सदस्यि कर्णाली प्रदेश सभा हाल ३४ मा झरेको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?