+
+

कतार विश्वकप: मरुभूमिको मैदानलाई चिसो बनाउने सानदार प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १५:११

१४ भदौ, काठमाडौं । सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजना अधिकार कतारलाई दिइनु धेरै मानिसहरुका लागि अपाच्य थियो । ती मानिसहरुको चिन्ता के थियो भने जुन देशको तापक्रम ४० डिग्रीभन्दा धेरै हुन्छ त्यहाँ खेलाडी र दर्शकले कसरी आफूलाई अनुकुलित गर्न सक्लान् ?

जाडो मौसममा प्रतियोगिता आयोजना गरेर केही हदसम्म यो चिन्ताको निराकरण भएको छ । धनी देश कतारले परम्परागत तरिकालाई पछि छोड्दै अत्याधुनिक प्रविधिमा आफूलाई अगाडि बढाएको छ ।

संसारका सबैभन्दा धेरै गर्मी हुने देशमा पनि वर्षभरि नै खेल प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्ने प्रयास कतारले गरिरहेको छ । यद्यपी कतारकी फुटबलर खेलाडी अजा सालेहले गर्मी र उष्ण हावा यस क्षेत्रमा खेलाडीका लागि प्रमुख चुनौति रहेको बताएकी छन् ।

यहाँनेर के जिज्ञाशा उठ्छ भने पृथ्वीलाई नोक्सान नपुर्‍याई कतारले खेलाडी र दर्शकलाई आरामदायी सुविधा दिन कस्तो तयारी गरिरहेको छ ?

कतारमा गर्मी र उष्ण हावा सामान्य कुरा हो । यो सानो देशमा समुद्रबाट लगातार तातो हावा बहिरहन्छ । पहिलो चुनौति रंगशालाबाट तातो हावा बाहिर निकाल्नु हुनेछ । विश्वकप आयोजना हुनेमध्येको एक अल जैनव रंगशालाको छत तातो हावा बाहिर निस्कन मिल्ने तर भित्र छिर्न नसक्ने गरी डिजाइन गरिएको छ । यसको हल्का रंगले सूर्यबाट सिधा आउने तातो हावालाई रोक्नेछ ।

मैदान र रंगशालालाई चिसो राख्नका लागि अन्य केहि व्यवस्था पनि छ । खेलको दिन रंगशालाको प्यारापिटमा ४० हजारसम्म दर्शक हुनेछन् । उष्ण हावाको श्रोत उनीहरु आफैं पनि हुनेछन् ।

कतारको तापमान र आयोजनास्थलमा उत्पन्न गर्मी दुवैबाट राहत पाउन एक प्रभावशाली चिस्यान प्रणाली आवश्यक हुनेछ । प्यारापिटमा राखिएका हरेक सिटको मुनिबाट चिसो हावा प्रदान गरिनेछ । सिट वरपरि हुने सानो सानो छिद्रबाट दिइने चिसो सावरले गर्मी हावालाई दर्शकसम्म पुग्न दिँदैन । विमानमा सिट माथिबाट दिइने हावाजस्तै गरी प्रणाली विकास गरिएको छ ।

यसले दर्शकलाई गर्मीबाट ठूलो राहत दिनेछ । तर, मैदानमा खेलिरहेका खेलाडीका लागि के हुन्छ त ? एक जना खेलाडीले ९० मिनेटको खेलमा कम्तिमा १० किलोमिटर दौडिन्छन् । त्यसबीचमा उसको शरीरबाट करिव तीन लिटर पसिना निस्कन्छ । त्यसैले शरीरलाई चिसो बनाउन र शरीरमा पानीको मात्र कायम राख्न जरुरी हुनेछ ।

कतारको उष्ण वातावरणमा पसिना नआउने सम्भावना निकै कम हुनेछ । जसका कारण शरीरले लगातार गर्मीको सामना गर्नुपर्छ र थकान पनि ज्यादा हुनेछ । त्यसैले कतार विश्वकपमा मैदानमा ठूला ठूला पाइपबाट चिसो हावा प्रवाह हुनेछ । जसले मैदानमा चिसो हावाको एउटा तह कायम राख्नेछ ।

यो प्रणालीको विकास गर्ने एयर कन्डिसनिङ एक्स्पर्ट डा. सउद सुराख रंगशाला अनुकुलित पार्ने अभियानका एक व्यक्ति हुन् । उनीहरुले रंगशालामा जडान गरेको यो प्रविधि खेलाडीले तीव्र रुपमा महशुस गर्नेछैनन् । प्राकृतिक प्रणालीसँग सकेसम्म मिल्दोजुल्दो बनाउने प्रयास गरिएको छ ।

रंगशाला भित्र चिसो हावाको एक तह बन्नेछ । जुन मैदानबाट दुई मिटरसम्मको उचाइमा कायम रहनेछ । चिसो हावा विस्तारै तात्न थालेपछि त्यसलाई मिडिल टायर क्षेत्रमा रहेको पंखाद्वारा बाहिर निकालिनेछ । त्यसपछि चिसो हावा भर्नका लागि सोही प्रक्रिया लागू गरिनेछ ।

यसरी हावालाई चिसो बनाउँदा रंगशालामा चिसो पार्न सकिन्छ त ? रंगशालाको सबै कुनामा रहेको चिसो पानी भरिएको पाइपलाई हिट एक्स्चेन्जरको सहयोगमा चिस्यान बनाइनेछ । जब चिसो पानी तातो हुँदै जान्छ त्यसलाई ४० हजार लिटर क्षमताको ट्यांकी भरिनेछ । तीन किलोमिटर पर राखिएको पानीलाई पुनः चिसो बनाएर अर्को खेलका लागि प्रयोगमा ल्याइनेछ ।

यो सबै चिस्यान प्रणाली कतारको राजधानी दोहाबाट करिव ८० किलोमिटर पर हालै निर्मित एक उर्जा संयन्त्रबाट नियन्त्रित र सञ्चालित छ । यो सबै प्रणाल तयार गर्ने डाक्टर साउद अब्दुलले बीबीसीलाई बताएअनुसार कतार विरासतका रुपमा एउटा यस्तो व्यवस्था बनाउन चाहन्थ्यो जुन लामो समयसम्म प्रयोगमा ल्याइराख्न सकियोस् ।

वर्षौसम्मको अनेक अनुसन्धानपछि यो उच्चस्तरीय व्यवस्था बनाउन सफल भएको उनले बताए । सन् २०१९ मा कतारमा आयोजित विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना दौरान खेलाडीहरुसँग कुराकानीले पनि यसको डिजाइनलाई राम्रो बनाउन सहज भएको थियो ।

कतारको यो व्यवस्थाको बारेमा खेलाडीको दृष्टिकोण जान्नका लागि ११ वर्षको उमेरदेखि फुटबल खेलिरहेकी कतार राष्ट्रिय महिला फुटबल टिमकी डिफेण्डर अजा सालेहसँग बीबीसीले कुराकानी गरेको छ । उनी मुस्किल परिस्थितिमा शीर्षस्तरको खेल प्रतियोगिताका लागि आवश्यक कुराहरुबारे राम्ररी बुझ्छिन् । उनका अनुसार कतारको उष्ण हावा सबैभन्दा ठूलो चुनौति हुनेछ ।

अजा ती खेलाडीमध्येकी एक हुन् जो वातानुकुलित नयाँ दुई रंगशाला द खालिफा र द एजुकेशनल सिटी रंगशालामा खेल्ने अवसर पाएकी छन् । उनले कतारमा सबैभन्दा गर्मी हुने जुन महिनामा खेल्दा धेरै फरक महशुस पाएकी थिइन् ।

यो व्यवस्था दीर्घकालीन होला ?

कतारले विश्वकप आयोजनाका क्रममा रंगशाला चिसो पार्ने प्रणालीले अतिरिक्त ग्रिनहाउस ग्यास उत्सर्जन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । किनभने यसका लागि उनीहरुले विजुलीबाट उर्जा लिनेछन् । यद्यपी पूरा प्रतियोगिताका दौरान कार्वन उत्सर्जनलाई बढ्न नदिने प्रतिबद्धता एक अधिक महत्वाकांक्षी लक्ष्य हो ।

आयोजनास्थल भएको कार्वनको मात्रामा ९० प्रतिशत हिस्सा रंगशाला निर्माणका क्रममा भएको उत्सर्जित कार्वनको हुनेछ । जसलाई अवसशोषित कार्वन भनिन्छ । अनुमानअनुसार त्यस समय ८ लाख टन ग्रिनहाउस ग्यास उत्सर्जन भएको छ । अमेरिकी पर्यावरण संरक्षण एजेन्सीको उत्सर्जन क्यालकुलेटरको आकलनअनुसार एउटा कारले ८० हजारपल्ट पृथ्वीको चक्कर लगाउँदा त्यति मात्रामा कार्वन उत्सर्जित हुनेछ ।

रंगशालाका अलावा विश्वकपका क्रममा परिवहन पनि बढ्नेछ । संसारभरका समर्थक हवाइयात्रामार्फत त्यहाँ पुग्नेछन् । फिफाका अनुसार सीमित क्षेत्रमा प्रतियोगिता आयोजना हुँदा र एक स्थानबाट अर्को स्थानसम्म पुग्ने दूरी कम हुँदा चार वर्षअघि रुसमा भएको विश्वकपको तुलनामा एक तिहाई मात्र कार्वन उत्सर्जन हुनेछ ।

रंगशाला निर्माणका लागि कतारमा ३० हजार आप्रवासी मजदुरले काम गरेका थिए । यीमध्ये ठूलो संख्यामा मजदुरको मृत्यु भएको वा गम्भीर रुपमा घाइते भएका छन् । यसका लागि कतार सरकारको बारम्बार आलोचना हुने गरेको छ । यस दौरान मजदुरलाई बलपूर्वक काममा लगाइएको, कठिन परिस्थिति, खराव आवास, अवैतनिक मजदुरी र पासपोर्ट कब्जा गरिएको आरोपसम्म लागेको छ ।

यद्यपी कतार सरकारले यी सबै आरोपको खण्डन गरेको छ । कतार सरकारका अनुसार आप्रवासी मजदुरलाई राम्रो सुविधा दिने प्रावधान सन् २०१७ को सुरुदेखि नै गरिएको थियो ।

– बीबीसी हिन्दीबाट अनुवादित

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?